नेपाली कांग्रेस भक्तपुरले सरकारलाई १० बुँदे ज्ञापनपत्र बुझायो

0
25

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ ।
कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेमार्फत सरकारलाई उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझिलिई प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयसम्म पु¥याइदिने वचन दिइन् ।
नेपाली कांग्रेसले केन्द्रदेखि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा मंगलबार एकैपटक सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । सोहीअनुसार भक्तपुरमा बुझाइएको ज्ञापनपत्रमा सरकारले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट उत्पन्न हुनसक्ने परिस्थिति र यसको समाधान गर्न चाल्नुपर्ने तत्कालीन र दीर्घकालीन योजनाका सम्बन्धमा सरकारबाट खासै कुनै कदम नचालिएको उल्लेख गरिएको छ ।
त्यस्तै उसले सरकारको अकर्मण्यताको कारण कोरोना भाइरस संक्रमणबाट हालसम्म १९ जना नेपालीले ज्यान गुमाउनुपरेको बताएको छ । जनताले अभाव, चरम आर्थिक मन्दीलाई सहेर भोकै घरभित्र बसेर सरकारको लकडाउनको पालना गरिरहेको तर त्यहीं लकडाउन सरकारलाई राजनैतिक, आर्थिक तथा आम मानवताविरोधी गतिविधि गर्ने कवच बन्न पुगेको भक्तपुर कांग्रेसले औंल्याएको छ ।
कांग्रेस भक्तपुरका जिल्ला सभापति थापाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘समयमा स्वास्थ्य सामग्रीको आपूर्ति गरिएन । विश्वव्यापी रुपमै भरपर्दो नदेखिएको अविश्वसनीय आरडीटी टेस्ट अहिलेसम्म भइरहेको छ । पीसीआर विधिबाट अत्यन्तै न्यून परीक्षण भएको छ । देशभरिका क्वारेन्टाइनहरु पनि पनि तोकिएको मापदण्डअनुसार सञ्चालन भएका छैनन् । यहीं कारणबाट सुरक्षित भनिएको ठाउँ क्वारेन्टाइनमा उचित स्वास्थ्य उपचार, खानसमेत नपाई नागरिकहरुको निधन भएको छ ।’
उसले ओली सरकार आम नेपालीलाई सुरक्षित रुपमा खान र बस्न पाउने नैसर्गिक अधिकारमाथि कुनै जिम्मेवारी लिन तयार नभएको जिकिर गरेको छ । सरकारले केबल लकडाउनको घोषणा र परिपालनाको नाममा जनतालाई प्रताडित गर्नेबाहेक केही काम नगरेको अवस्थामा तत्काल ती नेपालीको जीवन रक्षाको लागि कदम चाल्न भक्तपुर कांग्रेसले सरकारसँग माग गरेको छ ।
स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुको साटो उल्टै ओठे जवाफ दिई उन्मुक्ति गराउने प्रपञ्च भएको दावी गर्दै भक्तपुर कांग्रेसले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
ज्ञापनपत्रमा लाखौं नेपालीहरु स्वदेश फर्कने अवस्थामा रहेको तर यहाँका हजारौं ठूला तथा साना उद्योग व्यवसाय बन्द भएकोतर्फ सरकारको ध्यानाकर्षण गरिएको छ । बन्द उद्योग व्यवसाय चलायमान गर्न र नागरिकको जीवनमा आएको आर्थिक संकटलाई कम गर्न सरकार गम्भीर नभएको भक्तपुर कांग्रेसले आरोप लगाएको छ ।
उसले भक्तपुरमा विकासको नाउँमा भ्रष्टाचार भइरहेको औंल्याएको छ । त्यस्तै स्मार्ट सिटीको नाउँमा स्थानी जनतालाई आतंकित बनाउने कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गरिएको छ ।


ज्ञापनपत्र बुझाउनुअघि भक्तपुर कांग्रेसले भक्तपुर नपा भवन व्यासीदेखि जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताहरुले ओली सरकारविरोधी नाराहरु लगाएका थिए ।

Loading...
SHARE
Previous articleसातै प्रदेशको बजेट २ खर्ब ६४ अर्ब
Next articleचिन भारत युद्द चिनियाँ ४० बढी सैनिकको मृत्यु, भारततर्फ २० को मृत्यु, १३५ घाइते