बाख्रा पालन कसरी गर्ने भिडियो सहित

0
92

भक्तपुर । नेपालमा बाख्रा पालन ब्यवसाय गर्ने ब्यवसायीको संख्या दिन प्रति दिन बढदो क्रममा छ । तर कसरी बाख्रा पालन गर्ने भन्ने धेरैलाई थाहा नहुँदा थुप्रै ब्यवसायी घाटामा गएको सुनिन्छ । कसरी थोरै लगानीमा सफल बाख्रा पालन ब्यवसाय गर्ने भन्ने विषयमा हामी आज चर्चा गर्न जाँदै छौं ।

बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड -Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ -Caprinae_ सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ । बाख्रालाई मासु, दुध, ऊन र मलको लागी धेरै जसो किसानहरूले पालन गरेको पाइन्छ । बाख्राहरू विभिन्न प्रजातीको हुन्छन । खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन् । नेपाल वाहिर का आयातित जात हरु मा जमुनापारि, बारबरी, सानन्, विटल, सिरोही र बोयर प्रमुख छन । बिसेस गरि मासु, दुध तथा सन्दरताका लागि बाख्रा पालिन्छ ।
नेपालमा खसी बोकाको मासुको ठुलो माग रहेको छ । भारत लगाएतका देशबाट हाल सम्म नेपालमा खसीबोकाको पुर्ती भई रहेको छ । दैनिक हजारौंको संख्यामा खसी बोका विदेशबाट भित्रिदाँ नेपाललाई ठुलो घाटा हुने गरेको छ ।
नेपालमा नै ब्यवसायीक बाख्रा पालन गर्न सके हामी खसी बोकाको मासुमा आत्म निर्भर हुन सक्ने छौं । विदेश बाट फर्कने तथा सानो लगानीमा केहि ब्यवसाय गर्न चाहनेहरुको लागि बाख्रा पालन एकदमै उपयुक्त ब्यवसाय हो ।
बाख्रा पालनका लागि सबै भन्दा पहिला यसको खोर कस्तो बनाउनु पर्छ भन्ने हो । आधुनिक तरिकाले बाख्रा पालन गर्दा
जमिन भन्दा ३–५ फिट माथि उठाई बाख्रा बस्ने मिल्ने खोर बनाउनु पर्छ । स्थानीय काठ,वांस वा अन्य निर्माण सामाग्री प्रयोग गरी गोठ बनाउन सकिन्छ । यसरी खोर बनाउँदा बाख्रालाई न्यानो हुनुका साथै रोगहरु पनि कम लाग्छ र बढि उत्पादन लिन सकिन्छ ।
बाख्रा पालनका लागि अर्को मुख्य कुरा भनेको चरन र घाँस नै हो । हाम्रा गाउँघरमा प्रसस्त चरन क्षेत्रको प्रयोग गर्दै बाख्रा भेडा एवं च्याङग्रा पालन गर्दै आएको हामी पाउन सक्छौ । तर चरनको अभावका बाबजुत पनि कसरी ब्यवसायीक बाख्रा पालन गर्न सकिन्छ भन्ने मुख्य कुरा हो ।
हामी सँग प्रसस्त चरन क्षेत्र नभएपनि ब्यवसयिक बाख्रा पालनका लागि हाम्रा खेत बारीमा नै घाँस लगाउन सकिन्छ ।
व्यावसायिक रुपमा बाख्रा पालन गर्दा हाम्रा खेत बारीमा लगाईने घाँसहरुमा स्टाइलो, वसिम, भटमासे, जौ, वोडी घाँस, इपिल डालेघाँस लगायतका घाँस राम्रा हुन् यसका साथै हाम्रा स्थानीय स्तरमा पाईने कुटमिरो, टाँकी, दुदिलो, भिमसेनपाती, निमारा, खनिउँ,दवदवै , किम्वु आदी पनि बाख्राका लागि राम्रा घाँस हुन् । घाँस सेउलासँगै बाख्रालाई भुसा, दाना, पिठो लगायत विभिन्न सन्तुलित आहार खुहाउनु पर्छ ।

यस्तै बाख्रा पालनका लागि अर्को महत्वपूर्ण कुरा भनेको राम्रो जातको माउ बाख्रा र बोका छनोट पनि हो ।
ब्यवसायीक बाख्रा पालन गर्दा स्थानीय स्तरमा पाइने माउ बाख्रा छनौट गर्नु सवभन्दा राम्रो हो । अन्य जातहरुमा जमुनापारी , वारवेरी यस्तै हाल बजारमा बोयर जातका बाख्रा र क्रस बाख्रा हरु छनोट गरि हामीले पालन गर्न सक्छौ ।
यसमा अझ ध्यान दिनु पर्ने कुरा भनेको विउको लागि पालिने बोका हो । राम्रो जातको बोकाबाट मात्र राम्रा पाठा पाठी निक्लने र ब्यवसाय फस्टाउने भएकाले हामीले बाख्रा सँग सँगै राम्रो जातको बोका पनि छनोट गर्नु पर्दछ । स्वस्थ्य, सल्लक परेको, राम्रो संग छिटो छिटो वढने, दुई दुई पाठापाठी दिने माउको पाठो ब्याडको लागि छनौट गर्नु राम्रो हुनेछ । हलक्क बढ्ने बोकालाई खसी बनाउने होइन, ब्याडको लागि राख्नु पर्छ । यसो गर्दा बाख्राबाट हामीले राम्रो उत्पादन गर्न सक्छौं ।
हामीले बाख्रा पालन मासु र दुधका लागि हो । बाख्रा पालन जति सजिलो सोचिन्छ त्यती सजिलो भने छैन यदि हामीले यसको राम्रो हेरचाह गर्दैनौ भने ।
बाख्रालाई कस्ता कस्ता रोग लाग्न सक्छन् र त्यसको उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा कुरा गर्दा
साधारणतया बाख्रामा लाग्ने आन्तरिक परजीवीहरुमा
नाम्ले जुका , फित्ते जुका, गोलो जुका, फोक्सोमा पाईने जुका, कक्सिडियोसिस (रातो छेर्ने रोग) हुन् भने
सामान्यतया बाख्रामा लाग्ने बाह्य परजीवीहरुमा बाख्रामा जुम्रा, उपिया, किर्नी, लुतो जस्ता बाह्य परजीवीले दुःख दिन्छ । कमजोर बाख्रा –पाठा र फोहोर गोठहरुमा यस्ले बढी प्रभाव पार्छ । यसकारण चरण क्षेत्र र गाठको विषयमा हामी जहिले पनि सजग हुनु पर्दछ ।
यस्तै रोगकै विषयमा कुरा गर्द बाख्रामा लाग्ने प्रमुख सरुवा रोगहरुमा पि.पि.आर., खोरेत, लुतो, माउलो आदिले पनि दुःख दिन सक्छ ।
यसको समयमा नै उपचार गर्नु र रोग लाग्न नदिन बाख्राको राम्रो स्याहार सुसारका साथै यसको अभिलेख पनि राख्नु पर्दछ । बाख्राको विषयमा अभिलेख राख्दा उसले खाने खाना कहिले ब्यायो, भ्याक्सिन कहिले दियौं साथै बाख्रा ब्यायपछि पाठापाठीको विषयमा पोषणको विषयमा र औषधी कहिले के खुहायौं भन्ने विषयमा अभिलेख राख्नु पर्दछ । उसो गर्दा कति आहार खुहाँदा कुन जातको बाख्राबाट कति उत्पादन लिन सकिने रहेछ भन्ने विषयमा जानकारी पाउन सकिन्छ र सबै भन्दा फाईदा हुने जातका बाख्रालाई हामीले निरन्तरता दिन सक्छौं ।
बाख्रा पालन ब्यवसायको विषयमा कुन स्थानमा कस्ता बाख्रा पालन गर्न उपयुक्त एवं तीनमा लाग्ने रोग खानपान र जातको विषयमा हामी अर्को भिडियोमा चर्चा गर्ने छौं । हजुरहरुलाई बाख्रा पालन सम्वन्धी केहि जिज्ञासा भए हामीलाई म्यासेज गर्नु होला हामी सके सम्म हजुरहरुको जिज्ञासाको समाधान गर्ने प्रयास गर्ने छौं ।

Loading...