अबको ५५ दिनमा ४० हजार संक्रमित पुग्ने आँकलन जोखिम झन् बढ्दो

0
49

काठमाडौं । नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो ।

लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले दैनिक झन्डै ३ हजार जनाभन्दा बढी व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन् ।

संक्रमितको संख्या बढ्दै गए ४० हजारमध्ये २ हजार जना गम्भीर प्रकृतिका हुन सक्ने आँकलन गरिएको छ । त्यसैलाई आधार मानेर स्वास्थ्य पूर्वाधारहरुको तयारीमा स्वास्थ्य मन्त्रालय जुटेको छ ।

– लक्षणविहीन संक्रमितका लागि आइसोलेसन सेन्टर
– एक साताभित्र १० हजार जनाको कोरोना परीक्षण
– कन्ट्याक्ट ट्रेसिङका लागि ३,२२५ जना कर्मचारी खटाइने
– कोरोनामा १ अर्ब ४ करोड खर्च

राजधानी दैनिक लेख्छ  हाल देशभर १ हजार भेन्टिलेटर, १ हजार ८ सय आईसीयू बेड स्थापना गरिएका छन् । स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीका अनुसार निजी अस्पताल, मेडिकल कलेजसँग बेड संख्या र लागत खर्चका बारेमा विवरण माग गरिएको छ । लागत खर्च सरकारले बेहोर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी छ ।

यस्तै, आगामी १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गर्ने गरी सरकारले योजना बनाएको छ । हाल दैनिक ६ हजार जनाको दैनिक पीसीआर परीक्षण गरिरहेको र निजी क्षेत्रबाट दैनिक ३ हजार जना बढीको परीक्षण गरिनेछ । विदेशबाट आएकाहरुको संख्या दिन प्रतिदिन बढेकाले स्वाबका नमुनाहरु होल्ड भएको हो ।

सरकारले आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गर्ने भएको छ । लक्षण नदेखिएका तर पोजेटिभ केस भएकालाई ती आइसोलेसन सेन्टरमा राखिने तयारी थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइसोलेसनमा चिकित्सकको टिम राख्ने मन्त्रालयको योजना छ ।

संक्रमितसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङका लागि १ हजार ७५ वटा टिम परिचालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एउटा टिममा तीन जना रहने गरी ३ हजार २ सय २५ जना कर्मचारीहरु खटाइने सरकारको योजना रहेको छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार १ अर्ब ४ करोड खर्च भएको छ । १ अर्ब ४ करोड रुपैयाँ खर्च हुँदा १ हजार ४ सय १४ जना डिस्चार्ज भए भने ८ हजार २ सय ४७ जनामा पोजेटिभ केस देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयले २ अर्ब ९३ करोड रुपैयाँ प्राप्त गरेको थियो । जसमध्ये १६ करोड प्रदेशका अस्पताल र प्रयोगशाला स्तरोन्नतिका लागि पठाइएको थियो । जसअन्तर्गत ९ करोड रुपैयाँ खर्च भएको छ । केही रकम भुक्तानी हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका सचिव अर्यालले जानकारी दिए ।

संक्रमित ९ हजार नाघे (बक्स)
हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । आइतबार थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै, नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यारालाइसिस उपचारका लागि भारत गएका उनी भारतबाट जेठ २५ गते नेपाल फर्किएका थिए ।

हालसम्म १ लाख ७५ हजार १ सय ७३ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ हजार २ सय ३१ जना आइसोलेसनमा उपचाररत छन् ।

यस्तै, ९४ हजार ९ सय २८ जना क्वारेन्टिनमा बस्दै आएका छन् । संक्रमितमध्ये २३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ७५ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

Loading...
SHARE
Previous articleलागुऔषधको लत मेट्न आफ्नै नवजात शिशु बिक्री
Next articleछ लाख सहित बनेपाबाट छ जुवाडे पक्राउ