किर्ते लिखत बनाई हुलाकमा दुई करोड हिनामिना

0
44

दैलेख । कर्मचारी दरबन्दीको किर्ते लिखत तयार गरी जिल्ला हुलाक कार्यालय दैलेखमा झन्डै दुई करोड रुपैयाँ हिनामिना भएको छ । किर्ते लिखत तयार गरी वास्तविकभन्दा दुई गुणाभन्दा बढी दरबन्दी कायम गरेर तलबभत्ताबापतको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन हुलाक सेवा विभाग र लेखा नियन्त्रक कार्यालयसहितका आठजना कर्मचारीविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

दरबन्दी थप गरेको दरबन्दी चार्टको गलत लिखत बनाई हुलाक सेवा विभागमा पेस गरेको र त्यसका आधारमा भुक्तानी दिएको अभियोगमा आयोगले कार्यालयका तत्कालीन कार्यालय प्रमुख अमरबहादुर मल्लविरुद्ध मुद्दा दायर गरेको हो । मल्लले पदको दुरुपयोग गरेर सरकारी सम्पत्ति हिनामिना गरी सरकारलाई हानिनोक्सानी पु-याएको आयोगले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ ।

जिल्ला हुलाक कार्यालय दैलेखअन्तर्गतका अतिरिक्त हुलाक कार्यालयमा आर्थिक वर्ष ०६८-६९ मा एक सय ५२ दरबन्दी रहेकामा किर्ते कागज तयार गरी एक सय ४७ जना अतिरिक्त हुलाक दरबन्दी थप गरिएको थियो । त्यसको दुई वर्षमा थप दुई सय ६० दरबन्दी कायम गरी ०७०-७१ मा चार सय १२ पु-याइयो ।

नयाँपत्रिका लेख्छ,   यसैगरी, ०६९ साउनदेखि ०७१ जेठसम्म स्वीकृत दरबन्दीबाहेकका किर्ते लिखतका एक सय ४७ जनालाई तलबभत्तासमेत गरी एक करोड ८२ लाख रुपैयाँ भुक्तानी दिइएको थियो । अनियमिततामा संलग्न आठैजनाविरुद्ध जनही एक करोड ८२ लाख (हिनामिना भएको रकम) बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

त्यस्तै, साविक हुलाक सेवा विभागमा शाखा अधिकृतमा कार्यरत श्यामकुमार सिंहविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । आयोगले उनीविरुद्ध दरबन्दी थपको किर्ते अभिलेख-लिखतलाई स्वीकृत गरी हानिनोक्सानी पु-याएको आरोप लगाएको छ । कार्यालयका निमित्त कार्यालय प्रमुख नासुद्वय सन्तोष गौतम र रणबहादुर बोहरा, कम्प्युटर अपरेटर गणेशबहादुर केसी र लेखापाल शालिग्राम पौडेलविरुद्ध पनि मुद्दा दायर भएको छ ।

यसैगरी, स्वीकृत दरबन्दीभन्दा बढी व्यक्तिलाई तलब निकासा दिई खर्च लेखेको अभियोगमा साविक कोष तथा लेखा नियन्त्रक कार्यालय दैलेखका कोष नियन्त्रक शुभाखर न्यौपानेविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । न्यौपानेले अघिल्लो वर्षको भन्दा बढी तलब निकासा गर्दा आवश्यक प्रमाण नहेरेको तथा महालेखा परीक्षक कार्यालयले औँल्याएका त्रुटिसमेतलाई बेवास्ता गरेको अभियोग अख्तियारले लगाएको छ ।

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा विद्यालय भवन निर्माणका लागि निकासा भएको रकम हिनामिना गर्ने पर्साको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताविरुद्ध आयोगले अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकम गुप्ताले हिनामिना गरेको आयोगले जनाएको छ ।

विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट १६ लाख रुपैयाँ निकासा भएको थियो । प्राप्त रकममध्येबाट गुप्ताले पाँच लाख रुपैयाँ आफ्नै नाममा राखेका थिए भने एक लाख विश्वनाथ साहका नाममा निकासा गरेका थिए ।

Loading...