नीति तथा कार्यक्रम र बजेट स्वीकृतविनै मध्यपुर थिमि नगरपालिकाको चौथो नगरसभा सुरु

0
0

भक्तपुर : नगर कार्यपालिका बैठकबाट आर्थिक वर्ष २०७७÷७८ को लागि नीति तथा कार्यक्रम र बजेट स्वीकृतविनै भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको चौथो नगरसभा बुधबार सुरु गरिएको छ।

नपाकी उपप्रमुखसहित २१ जना नगर परिषद् सदस्यले नगरसभाको वैधानिकतामाथि प्रश्न उठाएर बहिष्कार गर्दागर्दै नगरसभा सुरु गरिएको हो। उपप्रमुखसहित नौ जना कार्यपालिका सदस्य र बाँकी नगर परिषद् सदस्यले बुधबारको नगरसभा सुरु हुनुअघि नै बहिष्कार गरेको सार्वजनिक रुपमा घोषणा गरेका थिए।

उनीहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम गरिएको व्यवस्थाबमोजिम नगर कार्यपालिकाको बैठक नै नबसी नगरसभा गरिएको र उक्त दफा बमोजिम नगरकी उपप्रमुख वा कार्यपालिकाले तोकेको व्यक्तिले आगामी आर्थिक वर्षको राजस्व र अनुमानित बजेट पेस गराई कार्यपालिकाबाट स्वीकृत गराउनु पर्ने तथा कार्यपालिका बैठकबाट नपाको नीति तथा कार्यक्रमसमेत पारित गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाको खिलाप गएर नगरसभा बोलाइएको जिकिर गरेका छन्।

नगर कार्यपालिकाको बैठक नै नबसी बोलाइएको नगरसभा पनि अवैध भएको भन्दै उनीहरुले त्यसको बहिस्कार गर्नुपरेको औंल्याएका छन्। २१ जना नगर परिषद् सदस्यहरुले अवैधानिक नगर सभामा उपस्थित नहुन अन्य सदस्यहरुलाई समेत आह्वान गरेका थिए।

उपप्रमुख अञ्जनादेवी मधिकर्मी नेतृत्वका कार्यपालिका सदस्य तथा नगर परिषद् सदस्यहरुले नगर प्रमुख मदनसुन्दर श्रेष्ठकै नेतृत्वमा नपामा संस्थागत भ्रष्टाचार बढिरहेको आरोप लगाउँदै आएका छन्।

उनीहरुले कार्यपालिकाको बैठकबाट निर्णय नै नगर प्रमुख श्रेष्ठ र अन्य नगर कार्यपालिका सदस्यहरुले मिलेमतोमा आर्थिक लाभ लिने र आफू अनुकूल विकास निर्माणको योजनामा भागबन्डा लगाएर आर्थिक अनियमितता गर्दै आएको भन्दै विरोध गर्दै आएका छन् तर नगर प्रमुखले बहुमतको नाउँमा आफूहरुको मागलाई सम्बोधन गर्नुको सट्टा पेलेर जाने नीति लिएपछि आफूहरु पनि सार्वजनिक रुपमा विरोधमा उत्रन बाध्य भएको वडा नं. २ का अध्यक्ष राम थापामगरले जानकारी दिए।

राजनीतिक चलखेल : प्रमुख श्रेष्ठ
नगर प्रमुख श्रेष्ठले भने राजनीतिक चलखेल भएकाले नपामा खिचलो भइरहेको बताए। बुधबार भएको नगरसभा उद्घाटन गर्दै उनले नेपाली कांग्रेसबाट निर्वाचित उपप्रमुखसहितका जनप्रतिनिधिहरुको राजनीतिक चलखेलकै कारण नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नसकिएको स्पष्टीकरण दिए।

‘नीति तथा कार्यक्रम र बजेट सबै तयारी अवस्थामा छन्’, उनले भने, ‘सहमति र सहकार्यबाट नै सबै प्रक्रियालाई पूर्णता दिन लागिपरेको छु।’
नगर सभा उद्घाटनमा नपाको वडा नं ८ का वडा सदस्य एवं नेपाल मजदुर किसान पार्टीको भक्तपुर जिल्ला समितिका पूर्वअध्यक्ष रमेश थापा श्रेष्ठले सुरुदेखिकै विवाद निरन्तर रहँदा नपाका जनप्रतिनिधिहरुलाई लज्जित बनाएको बताए।

कांग्रेसका दुई गुटलाई भिडाएर नगर प्रमुखले लाभ लिइरहेको परिणाम देशभर मध्यपुर थिमि नपाको बेइज्जत हुँदै आएको उनको भनाइ थियो। नेपाली कांग्रेस मध्यपुर नगर समितिका सभापति सुरेन्द्र श्रेष्ठले नगरको विकास निर्माण कार्यमा कांग्रेसले सदैव साथ र सहयोग दिँदै आएको बताए।

उनले पार्टीको कारण नपाका जनप्रतिनिधिहरुबीच देखिएको विवादको समाधान गर्न पार्टीले नै पहल गरिरहेको जानकारी दिए तर नपाको नेतृत्व गर्ने दायित्व नगर प्रमुखको रहेकाले सबै पक्षलाई सहमतिमा ल्याएर अघि बढ्नुपर्ने सुझाव दिए।

नगर सभापति श्रेष्ठ पक्षधरका ६ जना कांग्रेसका नगर कार्यपालिका सदस्य नगर प्रमुख श्रेष्ठको पक्षमा रहेका छन्। उनीहरुकै साथ पाएर नगर प्रमुखले कांग्रेसको अर्को पक्षलाई पेल्दै आएको असन्तुष्ट पक्षहरुको आरोप रहेको छ।

कांग्रेस गुटको घानमा नपाका जनप्रतिनिधि
मध्यपुर थिमि नपाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको दुईतिहाइभन्दा बढी मत छ। मध्यपुर थिमि नपामा नगर प्रमुख, तीनजना वडा अध्यक्षबाहेक उपप्रमुखलगायत सम्पूर्ण कार्यपालिका सदस्य नेपाली कांग्रेसको तर्फबाट निर्वाचित छन् अर्थात १९ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसका मात्रै १५ जना छन्।

तर कांग्रेस दुई गुटमा विभाजित हुँदा मध्यपुर थिमिमा कांग्रेसको भूमिका कमजोर बन्दै आएको छ। जसले गर्दा कांग्रेसभित्र नगर प्रमुख श्रेष्ठले खेल्ने मौका पाउँदै आएका छन्।

१५ सदस्यीय कार्यपालिका सदस्यमध्ये अहिले नौ जना एकातिर र ६ जना अर्कोतिर छन्। जसमध्ये ६ जना कांग्रेसका कार्यपालिका सदस्य नगर प्रमुख मदनसुन्दर श्रेष्ठको पक्षमा लागरे नपाको कामकारबाही अगाडि बढाइरहेको छ।

एउटै पार्टी कांग्रेसका जनप्रतिनिधि यसरी विभाजित भएको नेपालमै मध्यपुर थिमि नपामात्रै भएको स्वयम् कांग्रेसी नेताहरु स्वीकार गर्छन्। त्यसैले कांग्रेसको केन्द्रदेखिको गुट र उपगुट नटुंगिएसम्म मध्यपुर थिमि नपाका जनप्रतिनिधिहरुको विभाजन पनि समाधान नहुने उनीहरुको भनाइ छ।

कांग्रेस भक्तपुर जिल्लाले मध्यपुर नपाभित्र मौलाएको गुट भत्काउन जिल्ला उपसभापति हरिप्रसाद नेपालको संयोजकत्वमा छुट्टै समितिसमेत गठन गरेको थियो। जिल्ला सचिव उद्धव सिलवाल र निशान ढुंगेल सदस्य रहेको उक्त समितिले मंगलबार रातीसम्म दुई गुटलाई एक गर्ने घनीभूत प्रयास गरेको थियो तर दुई गुटका नेताहरुको जुँगाको लडाइँले निकास पाएन। फलस्वरुप बुधबारलाई तोकिएको मध्यपुर थिमि नपाको चौथो नगरसभा प्रभावित हुन पुग्यो।

कांग्रेसभित्र आन्तरिक एकता नहुँदा मध्यपुर थिमि नपाको आर्थिक वर्ष २०७७÷७८ को लागि नीति तथा कार्यक्रमसँगै बजेट कार्यपालिका बैठकबाट पारित हुन सकेन। नगरसभाको औपचारिक उद्घाटनमात्रै गरियो। सुरुदेखि विवाद हुँदै आएकाले अरु नपाले सातौं नगरसभा गरिरहँदा मध्यपुर थिमिले चौथो नगरसभा पनि प्रक्रियागत रुपमा गर्न सकेको छैन।

यस्तो छ कांग्रेस गुट संरचना
अहिले मध्यपुर थिमि नपामा प्रतिनिधित्व गर्ने कांग्रेसका जनप्रतिनिधिहरुमा दुई गुट प्रस्टै देखिएको छ। जसमध्ये एक गुट कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय र अर्को तत्कालीन संस्थान पक्ष रामचन्द्र पौडेल तथा प्रकाशमान सिंह पक्षीय रहेको छ। यस पक्षमा कृष्णप्रसाद सिटौलाको पक्ष पनि मिसिएकाले केन्द्रमा तीन ध्रुव रहेको मध्यपुर थिमिमा दुई खेमामात्रै सतहमा आएको छ। यहाँ शेरबहादुर देउवा पक्ष मध्यपुर थिमिका मेयरको पक्षमा लागेको छ।

अर्को पक्ष विपक्षमा 

मेयरको पक्षमा रहेको कांग्रेस गुटको नेतृत्व मध्यपुर थिमि नगर क्षेत्रको हिसाबले पूर्वजिल्ला सभापति गणेशमान चक्रधरले गरिरहेका छन्। उनलाई नगर सभापति सुरेन्द्र श्रेष्ठ र सचिव सुरज खड्काले साथ दिइरहेका छन्। संस्थापन पक्षबाट जिल्ला सभापति र मध्यपुर थिमि नगर प्रमुखमा पराजित अष्टकुमार कवेले नेतृत्व गरिरहेका छन्। उनलाई कृष्णप्रसाद सिटौला समूहका मानिने कांग्रेसका पूर्वजिल्ला सभापति महेश श्रेष्ठ, मध्यपुर नगर समितिका उपसभापति हरिभक्त हेक्का, पूर्वमहासमिति सदस्य सन्तोष भट्टराईलगायतले साथ दिइरहेका छन्।

मध्यपुर थिमिका कांग्रेसका प्रभावशाली नेता एवं पूर्वनगर प्रमुख मदनकृष्ण श्रेष्ठ भने अहिले बीचमा छन्। मध्यपुर थिमि नपाका कांग्रेसको पौडेल–सिंह–सिटौला गुट बहुमतमा छ तर उक्त गुट नपाको कार्यकारी भूमिकाबाट बाहिर छ। उक्त गुटमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा अध्यक्षहरुमध्ये २ का राम थापामगर र ३ का प्रेमबहादुर कुटू छन्। त्यस्तै नगर कार्यपालिका सदस्यहरुमा सुजाता बाडे, विनु केसी, अरुणा कारञ्जित, चन्द्रावती मिजार, बिलबहादुर विश्वकर्मा र विष्णु परियार रहेका छन्।

यो गुटमा रहेका वडा नं. ६ का अध्यक्ष इन्द्रबहादुर प्रजापति र ९ का अध्यक्ष रामकाजी चक्रधर देउवा गुटतर्फ लागेपछि संस्थापन पक्ष झन् आक्रामक रुपमा आएको छ।देउवा गुटमा वडा नं १ का अध्यक्ष सुरज खड्का र ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ छन्। त्यस्तै कार्यपालिका सदस्यहरु मीरा खड्का र रमिता जिमा श्रेष्ठ देउवा गुटमा छन्।

Loading...
SHARE
Previous articleशुल्क उठाउने नाममा निजी विद्यालयको मनोमानी, बिलमा यातायात र खानाको रकम