इस्टुले वार्ता तथा उजुरी समिति गठन गर्यो

0
9

 

भद्रपुर ।

संस्थागत विद्यालय शिक्षक युनियन झापा जिल्ला भेलाले शैक्षिक वर्ष २०७७ बैशाखदेखि भदौसम्मको तलव भुक्तानीका लागि जिल्ला प्याब्सन झापासित वार्ता गर्न केन्द्रीय सदस्य बालकृण दाहालको नेतृत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

समितिका सदस्यहरूमा क्रमश प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारी, जिल्ला अध्यक्ष होमराज खतिवडा, प्रदेश सहसचिव राजु वराल, जिल्ला उपाध्यक्ष भावना निरौला र भद्रपुर नगर समितिका अध्यक्ष द्रोण अधिकारी रहने गरी समिति गठन गरेको हो । भेलाबाट समितिले १५ दिन भित्र तलव विवाद मिलाउन समयसिमा समेत पाएको छ भने सो समय भित्र तलव विवाद मिल्न नसके सडक आन्दोलनदेखि विद्यालयमा तालाबन्दीसम्मका कार्यक्रम गर्ने गरी आन्दोलनको स्वरूप निर्धारण हुने गरी निर्णय गरेको छ ।

यसैगरी भेलाले शैक्षिक वर्ष २०७६ चैत्रसम्मको तलव भुक्तानी नगर्ने झापाका विद्यालयहरूलाई कानुनी कारवाही गर्न श्रम अदालतमा उजुरी गर्ने समितिको संयोजकमा प्रदेश १ का सहसचिव राजु वरालको नेतृत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको छ ।

समितिका सदस्यहरूमा क्रमश जिल्ला उपाध्यक्ष युवराज दाहाल, नगर अध्यक्ष द्रोण अधिकारी, उपाध्यक्ष विदुर ढुंगाना, सदस्यहरू रमेश भट्टराई, शेखर बुढाथोकी र विवेक चौलागाई सदस्य रहने गरी समिति निर्माण गरिएको हो । समिति समक्ष तलव नदिने विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले जानकारी तथा उजुरी दिने वित्तिकै कानुनी कारवाही प्रकृयामा जाने अधिकार समेत प्रदान गरिएको छ । इस्टु झापामा २०७६ चैत्रसम्मको तलव नदिने जिल्लाका सय वटा विद्यालयको उजुरी आइसकेको छ । ती विद्यालयहरू र सञ्चालकहरूको नाम सार्वजनिक गरी भण्डाफोर अभियान चलाएपछि श्रम कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने समेत निर्णय गरिएको छ ।

Loading...