दसैँ तिहारको फरक उपहार

0
0

जागिर खाएर जिल्ला पुगेका कर्मचारीले गाउँको लोकल खसी ल्याउँछन् दसैँको उपहारस्वरूप । विदेशबाट आउनेले मोबाइल, ल्यापटप यस्तै यस्तै सामग्री ल्याइदिन्छन् । अनि काठमाडौँबाट गाउँ फर्कनेले भने कपडा, जुत्तादेखि न्युरोडको गुदपाकसम्म बोकेर लैजान्छन् । यस अर्थमा दसैँ तिहारको उपहार यही हुन्छ वा हुनुपर्छ भन्ने छैन ।
तर कथाकार शोभा ज्ञवाली भने यस वर्षको दसैँको शुभारम्भ अर्थात घटस्थापनाका दिन ‘सम्पूर्ण आकाश’ लिएर झुल्किइन् उपहारका रूपमा । जसमा न खसी थियो न त कपडा । न जुत्ता थियो न त मोबाइल र ल्यापटप नै । थियो त २५ वटा कथा कुथुङ्ग्री । जसले शब्द र वाक्य मात्र ल्याएका थिएनन्, आफूसँगै रङ्गीचङ्गी चित्र पनि ल्याएका थिए । ताकि पढ्नेलाई सन्दर्भ बुझ्न सहज होस् । अनि आँखालाई पनि केही मनोरञ्जन मिलोस् ।
यही कारण त यो कथा सङ्ग्रह साँच्चै चाड÷पर्वको उपहार बन्न सकेको महसुस हुन्छ । सधैँ महिलालाई कमजोर देखाउने, उनीहरू केही समस्या आइपर्दा रोएर मात्र बस्ने, आफ्नै भाग्य र कर्मलाई दोष दिएर अरण्यरोदनमा सीमित रहने, पीडकसँग टक्कर लिन नसक्ने निर्दयी प्राणी सावित गर्ने अनेकौँ दुस्प्रयासलाई यो सङ्ग्रहले पूर्णतः अस्वीकार गरेको छ । अनि नारी हिम्मतिला जाति हैनन् भन्ने कुतर्कलाई खारेज गरिदिएको छ ।
विदुषीको प्रण यस कथा सङ्ग्रहभित्र समेटिएका कथामध्ये एउटाको शीर्षक हो । जसमा कथाकी प्रमुख पात्र विदुषी आफूलाई गर्भवती बनाएर धोका दिने विकासलाई प्रतिशोध लिन चाहन्नन्, उसलाई महिला पनि केही गर्न सक्छे भनेर प्रमाणित गरेर देखाइदिने अठोट गर्छिन् ।
अर्को एउटा कथा छ– नलेखिने प्रेम । जसमा सुजाताले आफूले माया गर्दागर्दै पनि सधैँ पीडा दिने श्रीमान्को मन पगालेरै छाडिन् । बरु लामो धैर्य सङ्गालिन् तर बाटो बिराइनन् । र, श्रीमान्लाई पश्चातापमा पारिन् ।
कोमल नारी हृदयको बखान गर्ने यस्तै यस्तै विषयवस्तुले भरिएका छन् यस सङ्ग्रहका कथाहरू । अनि कतिपय सन्दर्भमा भने उनीहरू कठोर भएर पनि प्रस्तुत भएका छन् कि नारीलाई हेप्ने, अपमान गर्नेहरू विरुद्ध । धेरै ठाउँमा खबरदारी पनि गरिएका छन् नारीको शक्तिलाई कम नआँक भनेर । यसरी हेर्दा कथाका विषयवस्तु मात्र हैन, त्यसलाई प्रतिनिधित्व गर्ने पात्रहरूले पनि महिला शक्तिलाई अतुलनीय प्रमाणित गर्ने प्रयास गरेका छन् । जसरी दसैँका बेला कालीले राक्षसको वध गरेर महिला कुनै पनि अर्थमा कमजोर नहुने प्रमाणित गरेकी कथा पढ्न पाइन्छ ।
विधा : कथा
नाम : सम्पूर्ण आकाश
लेखिका : शोभा ज्ञवाली
प्रकाशक : मञ्जरी पब्लिकेसन
पेज : २३२
मूल्य : ३८५
आवरण : रङ्गीन (२५ पेज रङ्गीन चित्र पनि)
प्रायः कथाका शीर्षकमा माया शब्द राखिएको देख्दा पढ्नुअगाडि लाग्छ– यो सङ्ग्रह जवानी चढ्दै गरेका प्रेमिल जोडीको रोमान्समा आधारित छ । तर जब कथा पढिन्छ, भन्नै कर लाग्छ कि सोचिएको कुरा गलत रहेछ । अर्थात यस सङ्ग्रहमा समेटिएका कथाको शीर्षकमा माया शब्द जोडिए पनि त्यसले धेरै अर्थ राखेको देखिन्छ । जुन प्रेमी र प्रेमिकाबीच हुने मायामा सीमित छैन । यसलाई यसरी सङ्कुचन गरेर हेरियो भने कथाको विषयवस्तु मात्र हैन, कथाकारमाथि समेत अन्याय हुनेछ ।
लेखनका विभिन्न उद्देश्य हुन सक्छन् । विषयवस्तु पनि त्यसैअनुरूप चयन भएका हुन सक्छन् । यो वास्तविकतालाई विचार गर्दा कथाकार शोभा ज्ञवालीद्वारा सम्पूर्ण आकाशका लागि चयन विषयहरू प्रष्ट उद्देश्य लिएर आएका छन् । अर्थात महिलामाथि लादिएको उत्पीडन, लामो समयदेखि उनीहरूलाई हेरिने गिद्धे नजर, अनि नारीलाई अरूका लागि मात्र जन्मिएका ठान्ने गलत सोचाइविरुद्ध जेहाद छाड्नु कथाले रोजेको मार्ग बुझिन्छ । त्यतिमात्र हैन, कस्तूरी मृगले आफ्नै शरीरभित्र रहेको बीनाको पत्तो नपाएर त्यसकै सुगन्धको खोजीमा जङ्गलभर भौतारिएझैँ महिला पनि आफैँभित्र विशाल शक्ति हुँदाहुँदै पनि गुहारको खोजीमा रहने गरेका वास्तविकतालाई उजिल्याइदिएको छ ।
यी विविध पक्षबाट हेर्दा कथा सङ्ग्रह निकै उपयोगी देखिन्छ । महिलाद्वारा महिलाका लागि लेखिएको भन्न सकिने यो कथा सङ्ग्रह महिलाको सम्मान गर्ने र उनीहरूको प्रगति हेर्न चाहने सबैले पढ्नै पर्ने लाग्छ । विषयवस्तु मात्र हैन, भाषा र प्रस्तुति अर्थात शैलीमा पनि एकरूपता देखिन्छ । अड्कनुपर्ने ठाउँ कतै भेटिन्न । जसले पढाइलाई रोचक बनाउन सघाउँछ ।
पर्वका नाममा जुवाँ/तास खेलेर बिताउने तथा जाँडजन्य पदार्थ सेवन गरेर परिवार र अरू हुँदै आफ्नै स्वास्थ्यसमेत जोखिममा पार्ने कुकर्म छाडेर यस्ता पुस्तक पढ्ने हो भने पक्कै पनि आफ्नै आमा, दिदी/बहिनी, छोरी, श्रीमती आदिलाई हेर्ने दृष्टिकोण बदलिन सक्छ । जब दम्भ र नकारात्मकतायुक्त दृष्टि बदलिन्छ तब संसार आफैँ बदलिन्छ । दसैँ र तिहार पर्वलाई लक्षित गरी कथाकारले यति राम्रो कथा सङ्ग्रह सार्वजनिक गर्नु यही कारण हो शायद । साभार मेेेेराे सरकारबाट

Loading...