बाघ भैरब मन्दिरमा क्षमा पूजा सम्पन्न

0
0

भक्तपुर । रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाकाले बाघ भैरब मन्दिर पुनःनिर्माणका क्रममा बिहिवार मन्दिरको क्षमा पूजा सम्पन्न गरेको छ ।
२०७२ सालमा आएको भूकम्पले बाघ भैरब मन्दिरको टाउको मन्दिर भन्दा करिब पाँच मिटर तल खसेको छ । उक्त टाउको जोड्नु पूर्व संस्थाले मन्दिरमा क्षमा पूजा गरेको हो ।
क्षमा पूजमा कार्यक्रममा स्थानीय समुदाय र संघ संस्थाको सक्रिय सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष आनन्द राजथलाले मन्दिरको पुनःनिर्माण गर्नु पूर्व हिन्दु धर्म अनुसार क्षमा पूजा गर्नुपर्ने भएकाले विधिवत रुपमा मन्दिरमा क्षमा पूजा गरिएको बताउनुभयो । मन्दिर पुनःनिर्माण भएसँगै यस क्षेत्र पवित्र धार्मिक तिर्थस्थल र पर्यटकीय क्षेत्रको रुपमा विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय पर्यटन व्यवसायि रामसुन्दर बकेले रानीकोट गढी क्षेत्रलाई उपत्यकाकै प्रमुख पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
संस्थाकै पहलमा गत २०६९ सालमा रानीकोट गढी क्षेत्रसम्म पुग्नका लागि १७०० सिढी निर्माण भएको थियो । गत तीन वर्ष अगाडि पुरातत्व विभागले गढी क्षेत्रको उत्खनन गरेको थियो । उत्खनन गर्दा प्राप्त सामाग्री पुरातत्व विभागले संरक्षण गरी राखेको छ ।
सूर्यविनायक, पनौति, र महालक्ष्मी नगरपालिका संगममा रहेको रानीकोट गढी दरवार र बाघ भैरब मन्दिर मल्लकालमा निर्माण भएको पुरातत्व विद्हरुले अनुमान गरेका छन् ।

Loading...