

बारा-राष्ट्रिय गौरवका आयोजना रहेको बाराको निजगढ र कोहल्बी दुई नगरपालिकामा चुलिएको घरजग्गा कारोबारमा कमी आएको छ । आयोजनाको अनिश्चिततासँगै देशभरबाट बारा थुप्रिएका जग्गा कारोबारी राष्ट्र बैंकको नयाँ मौद्रिक नीति, जथाभाबी कित्ताकाटमा रोकावट र स्थानीयले खेतकै मूल्य घडेरी बिक्री गर्न थालेपछि जग्गा किनबेचमा कमी भएको हो ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको चर्चाले उक्लिएको निजगढ र कोहल्बी नगरपालिकाका जग्गा सस्तोमासमेत किनबेच हुन छाडेको स्थानीय कारोबारीहरु बताउँछन् ।
कोरोना माहामारी अघिसम्म यी दुई नगरपालिकाको खेतीयोग्य जमिनसमेत अधिकतम दुई लाख रुपैयाँ धुरमा बिक्री हुँदै आएको थियो । हाल खरीद गर्ने नहुँदा ५० हजार रुपैयाँ धुरमा स्थानीय कृषि कर्म गर्ने कृषकबीचमै सामान्य किनबेच मात्र भएको छ । डुमरबानाका स्थानीय सुनिल गाउँलेले आयोजनाको चर्चाले अन्यत्रका मानिस आएर हचुवाको भरमा जग्गा खरिद गर्न थालेपछि मूलय आकासिएको बताए ।
बैंकहरुले घरजग्गा कर्जामा कडाइ गरेपछि घरजग्गाका ठूला कारोबार रोकिएसँगै जग्गाको मूल्यमा गिरवाट आउन थालेको हो । बैंकको कडाई गर्न थालेपछि व्यक्तिगत र व्यावसायिक प्रयोजनका लागि हुने खरिद बिक्री राम्रै अवस्थामा रहेको कोहल्बी नगरका वडा अध्यक्ष सार्थक पौडेलले बताए ।
जग्गा कारोबारीले किनेकै मूल्यमा समेत बिक्री गर्न खोज्दा खरीद गर्ने व्यक्ति नपाएपछि बैंकको ब्याज किस्ता रकम बुझाउन खरीदकर्ताहरुलाई समस्या भएको छ ।
राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिबाट घरजग्गा व्यवसायमा प्रवाह हुने कर्जामाथि गरेको कडाई केही खुकुलो हुने व्यवसायीहरुको अपेक्षा रहेकै कारण जग्गाको मूल्य घटेपनि आगामी दिनमा व्यवसायले गति लिने आशामा ठूला कारोबारीहरु घटेको मूल्यमा बेच्न तयार देखिएका छैनन् ।
“जग्गा हाबाहुरी आएकै जस्तो नपाइएला कि भन्ने डरले हतारमा किन्दा लिएको कर्जाको ब्याज तिर्दा तिर्दै समस्यामा परेको छु,” जग्गाका कारोबारी ज्ञानु क्षेत्री भन्छन्, “निजगढको जग्गा समेत परेको दाम नअनउने स्थिति बन्यो ।”
जिल्लाको १६ स्थानीय तहमा सबै भन्दा बढी निजगढ, कोहल्बी कुनै समय घरजग्गा कारोबारका लागि हब नै मानिन्थ्यो । आयोजना निर्माण पछिको व्यापार व्यवसाय साँचेर घरजग्गाको कारोबार निकै मौलाएको थियो ।
कारोबार मौलाउँदै गएपछि जग्गाको मूल्य पनि उत्कर्षमा पुगेको बेला खेतीयोग्य जमिन पनि व्यवसायीहरुले प्लटिङ गरी घडेरीमा बेच्ने क्रम बढेको थियो ।
मालपोत कार्यालय सिमराको तथ्यांकमा गत चैत्र अघि तीन नगरपालिकाभित्र जग्गाको किनबेचमा प्रतिस्पर्धा जस्तै बनेको थियो । कारोबारमा सिथिलता आएसँगै राजस्वमा समेत कमी भएको मालपोत कार्यालयको भनाइ छ ।
जिल्लामा रहेको काठमाडौं निजगढ तराई द्रुतमार्ग आयोजना प्राथमिकताका साथ अघि बढिरहे पनि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, सेज, रेल्वेलगायतका विकासे योजनाहरु चर्चामा मात्र सीमित छन् ।