तेमाल दोस्रो अध्यक्ष कपः विजेता वडा नं. ८ र उपविजेता वडा नं. ९

0
5
तेमाल । काभ्रेको तेमाल गाउँपालिकाको आयोजनामा भएको तेमाल गाउँपालिका दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । वडा नं. ७ को चापाखोरीमा रहेको प्रस्तावित गाउँपालिकाको रंगशालामा भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं. ८ ले जितेको छ । गत वर्षको अध्यक्ष कप जितेको उसले यो पटक पनि प्रथम हुदै लगातार २ पटक विजेता बनी किर्तिमान कायम गरेको छ ।
तेमाल गाउँपालिका खेलकुद विकास समितिले आईतबारबाट तेमाल ७ चापाखोरीमा आयोजना गरेको प्रतियोगितामा प्रथम हुदै उसले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
गत वर्षझैं यो पटक पनि फाईनलका लागि वडा नं. ९ मैनाजाङसँग भिडन्त भएको थियो । निर्धारित समयमा ३-३ गोलको बराबरीमा पुगेपछि खेल ट्राईब्रेकरमार्फत टुंगो लगाइएको हो । पेनाल्टीसहित वडा नं. ९ को ७ र वडा नं.८ ले ८ गोल गरेपछि १ गोल अन्तरले वडा नं. ८ ले बाजी मारेको हो ।
प्रतियोगितामा वडा नं. ९ ले यो पटक पनि उपविजेतामै चित्त बुझाउनुपरेको छ । उसले नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै घरेलु मैदानमा खेलेको वडा नं. ७ ले तेस्रो स्थान हाँसील गरेकोमा उसले नगद १ लाख,मेडल र प्रमाणपत्र हात पार्‍यो ।
वडा नं. ७ सँग १-० गोल अन्तरले पराजित भएपनि वडा नं. ५ पनि हात खाली भने फर्किनु परेन । उसले सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार,मेडल र प्रमाणपत्र पाएको हो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नं. ९ का दिनेश दोङ, उत्कृष्ट गोल किपरमा वडा नं. ८ का बुद्ध घिसिङ र सर्वाधिक गोलकर्ता वडा नं. ९ का दिपक तामाङले ससम्मान नगद ५।५ हजार प्राप्त गरे ।
समापन कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले तेमालको पहिचान फिजाउँन खेल पनि महत्वपूणर् माध्यम भएको कुरा आफूले बुझेको धारणा व्यक्त गरे । तेमालमा खेलकुदको विकासका लागि अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण आफ्नै कार्यकालमा सम्पन्न गर्ने उनले प्रतिवद्धता जाहेर गरे ।
पालिका प्रवक्ता ज्ञान बहादुर लामाले वडा नं. १ देखि ९ सम्मका सबै खेलाडीहरुले अनुशासित भएर आफ्नो कला प्रदर्शन गरेकोमा खुसी व्यक्त गरे । तेमाल गाउँपालिकाले युवा प्रात्साहनका लागि पनि अन्य पालिकाहरुको तुलनामा सर्वाधिक धनराशीको पुरस्कारसहितको प्रतियोगिता सम्पन्न गरेको उनको दावी छ ।
पालिका उपाध्यक्ष तथा प्रतियोगिता आयोजक खेलकुद विकास समतिका अध्यक्ष दुर्गामाया तामाङले आगामी दिनमा थप हौसलाका लागि पुरस्कार राशी बढाउने प्रतिवद्धता जनाए ।
प्रतियोगिताको विजेता वडा नं. ८ का वडाध्यक्ष लक्ष्मीबहादुर घिसिङ र उपविजेता वडा नं. ९ का वडाध्यक्ष चन्द्रबहादुर लामाले जसले जितेपनि आखिर खेल तेमालका जनताले जितेको भन्दै खुसी साटे ।
विजेता टोलीले गानाबजाना, पञ्चेबाजामा नाचगानसहित खुसीयाली मनाएको छ ।
समापन समारोहमा प्रतियोगिता सफल बनाउन साथ दिने प्रमुख अतिथि संविधानसभा सदस्य तिर्थ लामा लागयतका अतिथि, रेफ्री, स्वयंसेवकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
Loading...