धुलिखेल जिल्लाकै पहिलो बालमैत्री नगरपालिका बन्यो

0
9

काभ्रेपलाञ्चोक। जिल्लामा रहेको धुलिखेल नगरपालिका जिल्लाकै पहिलो बालमैत्री नगरपालिका बनेको छ। धुलिखेल नगरपालिकाको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट धुलिखेललाई पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको हो। कार्यक्रममा सम्बोधन गर्दै नगरपालिकाका प्रमुख अशोक ब्यन्जूले बालमैत्री नगरपालिका भएको बताए।

दक्षिण एसियामा सबैभन्दा बढी पार्क भएको शहर धुलिखेल हुने ब्यन्जुको भनाइ थियो। उनले भने, ‘सन्तुलित वातावरणको रुपमा विकास गर्ने योजना छ। दक्षिण एसियामा सबैभन्दा बढी पार्क भएको शहर धुलिखेल हुने छ।’

उनले ८० प्रतिशत प्रशोधित पानी भएको शहर बनाइने बताए। स्मार्ट कर प्राणाली सुरुवात भइसकेको पनि प्रमुखले बताए। उनले भने, ‘वाई फाई फ्रि जोन भएको छ। वडाबाट नै कर तिर्न सकिने व्यवस्थाको सुरुवात हुने छ। ३५ करोडको रंगशाला र ७ करोडको माउन्ट स्पार्टस् एकेडेमी बनाइने छ।’

लाशको खातमाथि शंखधुन बजाए : बास्कोटा

कार्यक्रममा पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल  बास्कोटाले धुलिखेल बालमैत्री बनेकोमा खुसी व्यक्त गरे। प्रधानमन्त्री ओलीले बाध्यात्मक परिस्थितिमा प्रतिनिधिसभा विघटन गरेको पनि बताए।

उनले भने, ‘साथीहरुले लाशको खातमाथि शंखधुन बजाए र सरस्वतीको विणा ठाने, ती साथिहरु अहिले प्रधानमन्त्रीले प्रतिगम ग¥यो भनेर शंख फुक्दै छन्।’

उनले प्रधानमन्त्री ओली र उनका सहयोगीले दण्ड पाउनु पर्ने कारणबारे प्रतिप्रश्न गरेका थिए। उनले भने, ‘संसारको शक्तिशाली बन्दै गएको उत्तरी छिमेकी चीनका राष्ट्रपतिलाई २३ वर्ष पछि नेपाल भ्रमण गराएको बापत यो सरकारले दण्ड पाउनु पर्ने हो । नेपालको अतिक्रमित भूमि नक्सामा राखे वापत दण्डीत गर्नु पर्ने हो। नवजात शिशु र आमाको ज्यान बचाउन हेलिकप्टरबाट उद्वार गरिए बापत सरकारले दण्ड पाउनु पर्ने हो।’

बास्कोटाले सरकारले तोकेकै समयमा निर्वाचन हुने दाबी गरे। उनले भने, ‘प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले जित्ने निश्चित छ। तपाईँ उज्यालो तिर लाग्नु हुन्छ वा अध्यारो तिर तपाईँको कुरा हो। तर, सरकारले तोकेको समयमा निर्वाचन हुन्छ।’

Loading...