भक्तपुरमा दोस्रो चरणमा ११६४ जनाले लगाए कोरोनाविरुद्धको खोप

0
42

भक्तपुर: दोस्रो चरणमा एक हजार एक सय ६४ जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । सरकारले दोस्रो चरणमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीका साथै प्रहरीलाई खोप दिने व्यवस्था गरिएको थियो । सोहीअनुसार भक्तपुरमा फागुन २ गतेदेखि दोस्रो चरणको खोप दिन सुरु गरिएको थियो । जसअन्तर्गत बुधबारसम्म भक्तपुरमा एकहजार एकसय ६४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

जसमध्ये ८ सय १५ पुरुष र ३ सय ४९ महिला रहेको उनले बताए । उनका अनुसार भक्तपुरमा अहिलेसम्म सबैभन्दा बढी प्रहरीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यहाँ २ सय ६८ पुरुष र ३४ महिला गरी ३ सय २ जना प्रहरीले खोप लगाएका हुन् । प्रहरीपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले खोप लगाएका छन् । एक सय १७ पुरुष र ९६ महिला गरी २ सय १३ बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले खोप लगाइसकेका छन् ।

त्यस्तै एकसय ४० पुरुष र ५४ महिला गरी एकसय ९४ जना निर्वाचित जनप्रतिनिधि तथा नपाका कर्मचारीहरुले खोप लगाइसकेका छन् । ७९ पुरुष र ३५ महिला गरी एकसय १४ सरकारी कर्मचारीहरुले पनि खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल टेलिकम तथा विद्युत प्राधिकरणका कर्मचारीहरुमध्ये बुधबारसम्म एकसय २५ पुरुष र ७० महिला गरी एकसय ९५ जनाले खोप लगाइसकेको कार्यालय प्रमुख मिजारले जानकारी दिए ।

उनका अनुसार अदालतमा काम गर्ने ३३ जना पुरुष र १७ महिला गरी ५० जना कर्मचारीहरुले पनि खोप लगाएका छन् । ‘पहिलो चरणमा छुट भएका ३५ पुरुष र ४० महिला गरी ७० जना स्वास्थ्यकर्मीहरुले पनि दोस्रो चरणमा खोप लगाएका छन्’, उनले भने, ‘काठमाडौंको निजामती अस्पतालमा छुट भएका ७ पुरुष र एक महिला गरी ८ जना पत्रकारहरुले पनि भक्तपुरमा खोप लगाएका छन् ।’

उनका अनुसार निर्वाचन कार्यालयमा काम गर्ने आठ जना पुरुष कर्मचारी र शव व्यवस्थापनमा संलग्न हुने नेपाली सेनाका ३ पुरुष र २ महिला गरी ५ जनालाई पनि कोरोनाविरुद्धको खोप दिइएको छ । बिहीबारसम्म दोस्रो चरणको खोप दिइने प्रमुख मिजारले जानकारी दिए । भक्तपुरमा चारवटा नपामा र भक्तपुर अस्पताल गरी ५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ ।
चार नपामध्ये भक्तपुरको लागि नपाले चलाएको जनस्वास्थ्य केन्द्र, मध्यपुर थिमिको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र सूर्यविनायक तथा चाँगुनारायणको लागि तिनीहरुले सञ्चालनमा ल्याएको नगरपालिका अस्पतालमा खोप केन्द्र सञ्चालन गरिएको छ ।

यी ५ वटा खोप केन्द्रमा २७ जना स्वास्थ्यकर्मी परिचालन हुँदै आएको प्रमुख मिजारल जानकारी दिए । उनले हालसम्म खोप लगाएकाहरुमा कुनै किसिमको जटिल साइड इफेक्ट देखिएको छैन ।

Loading...