प्याकुरेल र कटवाल जोडीको पोल्टामा चाँगुनारायण नगरव्यापी पुरुष युगल ब्याडमिन्टन प्रतियोगिताको उपाधि

0
31

भक्तपुर । आयोजक दुवाकोट व्याडमिन्टन समाजका महेश प्याकुरेल र छत्रमणि कटवालको जोडीले चाँगुनारायण नगरव्यापी पुरुष युगल ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित दुवाकोट व्याडमिन्टन समाजद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको फाइनलमा रामहरि केसी र तेजबहादुर खत्रीको जोडीलाई सोझो सेटमा हराउँदै महेश र छत्रमणिको जोडी पहिलो भएको हो ।

महेश प्याकुरेल र छत्रमणि कटवालको जोडी ।

फाइनलमा पुग्ने दुइटै जोडी आयोजक समाजका हुन् । जसमध्ये महेश र छत्रमणिको जोडीले रामहरि र तेजबहादुरको जोडीलाई २३ः२१ र २१ः७ को सेटमा सजिलै पन्छाएको थियो ।
प्रतियोगितामा आयोजक संस्थाकै प्रभु भण्डारी र प्रतिम भँडेल तथा अनुज खत्री र मनोज न्यौपानेको जोडी संयुक्त रुपमा तेस्रो भएका थिए ।
कूल २८ जोडीको सहभागिता रहेको प्रतियोगिताका विजेता खेलाडीहरुलाई बागमती प्रदेशका सांसद कृष्णलाल भँडेलले कप, प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । पहिलो हुने जोडीलाई एकएकथान ब्याडमिन्टन राकेट पुरस्कार वितरण गरिएको थियो ।

रामहरि केसी र तेजबहादुर खत्रीको जोडी ।

त्यस्तै दोस्रो र तेस्रो हुनेलाई क्रमशः ट्रयाकसुट र टीसर्ट प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष सन्तोष केसीले जानकारी दिए । उनले चाँगुनारायण नपाको आर्थिक सहयोगमा निर्मित भक्तपुरकै पहिलो व्याडमिन्टन कोर्टसहितको कभर्ड हल उद्घाटनको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।
फाइनल तथा पुरस्कार वितरण कार्यक्रममा प्रदेश सांसद भँडेलले खेलकुद र खेलाडीको वृत्तिविकासमा सहयोग गर्न आफू सदैव तयार रहेको वचन दिए । उनले कभर्ड हलमा अन्य भौतिक पूर्वाधार निर्माणसमेत आफ्नो र प्रदेश सरकारको तर्फबाट आर्थिक सहयोग जुटाउन पहल गरिदिने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल व्याडमिन्टन महासंघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले महासंघले विद्यालय तहबाटै व्याडमिन्टनका खेलाडी तयार गर्ने उद्देश्यसहित काम गर्दै आएको जानकारी दिए ।
महासंघको उद्देश्य पूरा गर्न समाजले निर्माण गरेको कभर्डको भरपुर प्रयोग गर्न आपसी समन्वय, सहकार्य र सहयोग आदानप्रदान गर्ने उनले बताए ।
त्यस्तै भक्तपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, काठमाडौं जिल्ला व्याडमिन्टन संघका अध्यक्ष दीपक थापा, राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष माधव खत्रीलगायतले स्वस्थ नागरिक तयार गर्न खेलकुद गतिविधि अनिवार्य भएको धारण राखेका थिए ।

Loading...