भक्तपुरबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

0
73

भक्तपुर । भक्तपुर प्रहरीले प्रतिबन्धित लागूऔषधसहित आइतबार एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका १ सल्लाघारीबाट लागूऔषध सहित हिडिरहेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा सल्लाघारी पुगेको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका भारतको बेतिया जिल्लास्थित सिक्टा गाउँ १० बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई नियन्त्रणमा लिएको हो ।
चमारले उक्त लागूऔषध आफ्नो कम्मरमा बाँधेर लुकाईछिपाई राखेको भेटिएको थियो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा चमारको साथबाट तीनतीनसय थान डाइजोपाम, नोर्फिन र फेनेरागन बरामद भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले पक्राउ गरेका चमारलाई आइतबार नै कानुनबमोजिम जिल्ला अदालत भक्तपुर पेस गरिएको छ । जसअनुसार अदालतबाट ७ दिनको म्याद थप अनुमति भई थप अनुसन्धान कार्य अगाडि बढाइएको भक्तपुर प्रहरीले जनाएको छ ।

Loading...