यस वर्ष बिस्का जात्रा विधिवत रुपमा सञ्चालन गर्ने गरी तयारी तिव्र

0
35

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा यस वर्ष नरोकिने भएको छ । गत वर्ष कोरोना भाइरस संक्रमण व्यवस्थापन गर्न भनी बिस्का जात्रालाई औपचारिकतामा सीमित गरिएको थियो ।
कोरोना भाइरस संक्रमणकै कारण बिस्का जात्राको प्रमुख आकर्षण भैरवनाथको रथ निर्माण कार्यसमेत बीचैमा रोकिएको थियो । तर यस वर्ष बिस्का जात्रा विधिवत रुपमा सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए ।
बिस्का जात्रा सञ्चालन गर्न सरोकारवाला सबैसँग छलफल भइरहेको भन्दै उनले बिस्का जात्राको मुख्य आकर्षण भैरवनाथको रथ निर्माण र लिंगो काठ जोहो गर्न प्राविधिक मूल्यांकन भइरहेको स्पष्ट पारे ।
‘यस वर्ष बिस्का जात्रा विधिवत रुपमा सञ्चालन गर्ने तयारी अघि बढाएका छौं’, प्रमुख कर्माचार्यले भने, ‘भैरवनाथको रथ निर्माण र लिंगो काठको लागि प्राविधिक मूल्यांकन भइरहेको छ ।’
गत वर्ष फागुनको पहिलो सातामै भैरवनाथको रथ निर्माण सुरु गरिएको थियो । तर यस वर्ष रथ निर्माण कार्य भने सुरु भइसकेको छैन । रथका चारवटा पांग्रा र बेतसिँ नयाँ बनाउनुपर्ने भएकाले गत वर्ष फागुनको पहिलो सातामै रथ निर्माण सुरु गरिएको कर्माचार्य बताउँछन् ।
‘गत वर्ष चारवटा पांग्रा र बेतसिँ नयाँ बनाउनुपर्ने भएकाले फागुनमै रथ निर्माण गराएका थियौं’, उनले भने, ‘चार वटा पांग्रा बनिसकेका छन् । नयाँ बेतसिँ चै बनाउन बाँकी छ ।’
उनले केही दिनभित्रै भैरवनाथको रथ निर्माण कार्य अघि बढ्ने जानकारी दिए ।
भैरवनाथको रथ पुरानै सामानहरु जोडजाड गरेर बनाउन मिल्ने प्रविधिको छ । रथ नेपालको मौलिक चुकुल प्रविधिमा आधारित छ । जसले गर्दा बिग्रिएका वा नासिएका भागमात्रै नयाँ बनाए पुग्छ । दक्ष सिकर्मीहरुलाई भैरवनाथको रथ बनाउन धेरै समय पनि लाग्दैन । मात्र यसको टिकाउपनामा ध्यान दिए पुग्ने सिकर्मीहरु बताउँछन् ।
तर सिकर्मीहरुले रथका अधिकांश चुकुल खिइएकाले रथ जीर्ण र कमजोर बन्न थालेको बताएका छन् । उनीहरुका अनुसार रथका चुकुलहरु नै खुकुलो भएर रथमा अड्न छोडिसक्यो । जसले गर्दा जात्राको सुरुमै भैरवनाथको रथ बिग्रिँदै आएको उनीहरुको भनाइ छ । त्यसैले नयाँ रथ बनाउनुपर्ने उनीहरुले जोड दिँदै आएका छन् । भैरवनाथका नाइकेहरुले पनि रथ नयाँ बनाउन ढिलो भइसकेको बताए । रथ पुरानो हुँदा जात्राको क्रममा रथमा बस्दा हातखुट्टा र लुगाफाटा च्याप्ने गरेको भैरव नाइके माइला छुंकाले गुनासो गरे ।
‘रथ पुरानो र जीर्ण भइसक्यो । जात्रामा रथमा बस्नै जोखिमपूर्ण छ’, उनले भने, ‘रथमा बस्यो कि हातखुट्टा च्याप्छ । लुगाफाटो च्याटिन्छ ।’
उनीहरुको सुझावअनुसार भैरवनाथको रथ नयाँ बनाउने कुरा उठे पनि बजेट अभाव रहेको गुठी संस्थान भक्तपुरका प्रमुख कर्माचार्यले सुनाए ।
उनले यस वर्ष पांग्रा र बेतसिँ नयाँ प्रयोग गरिने जानकारी दिए ।
उनका अनुसार यस वर्ष रथ बनाउन भक्तपुर नगरपालिकाले आवश्यक सिकर्मी एवं कालीगढ उपलब्ध गराउने आश्वासन दिएको छ ।
भक्तपुरको बिस्का जात्रा आठ दिन नौ रात मनाइन्छ । यस वर्ष आउँदो चैत २८ गतेदेखि बिस्का जात्रा सुरु हुँदै छ । जात्राको मुख्य आकर्षण काठैकाठले बनेको तीन तले अजंगको भैरवनाथको रथ तान्नु हो ।
यो रथलाई काष्ठकलाको उत्कृष्ट नमुना मानिन्छ । बडेमानका चार पांग्रामाथि बन्ने रथलाई अगाडि र पछाडि गरी आठ वटा मोटा डोरीले तानेर जात्राअनुसार गन्तव्यमा पु-याउनु बिस्का जात्राको प्रमुख आकर्षण हो ।इन्डेफ्टको सहयोगमा