दक्षिण अफ्रिकालाई हराउँदै श्रीलंका फाइनलमा

0
25

काठमाडौं । भारतमा जारी रोड सेफ्टी विश्व टी २० सिरिजमा श्रीलंका लेजेन्ड्स फाइनलमा पुगेको छ। शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका लेजेन्ड्सलाई ८ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो।

श्रीलंकाले सहज जितका साथ फाइनलमा भारतसँग भेट पक्का गरेको छ ।

जितको लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका लेजेन्ड्सले १७।२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। श्रीलंकाका लागि चिन्थाक जयसिंघेले ४७ तथा उपुल थरंगाले ३९ रन बनाए।

७० रनको साझेदारी गरेका जयसिंघे र थराङ्गाले टोलीलाई फाइनलमा भारतसँगको भेट पक्का गराए।
यसअघि ओपनर तथा कप्तान तिलकरत्ने दिलशान र सनथ जयसूर्या समान १८–१८ रन बनाएका थिए।

दक्षिण अफ्रिका माखाया एनतिनी र एल्भिरो पीटरसनले १–१ विकेट लिए पनि हार टार्न सकेनन्।

त्यसअघि सहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय स्टेडियम रायपुरमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा १ सय २५ रनमा अल आउट भयो।

उसका लागि ओपनर मोर्ने भ्यान विकले अर्धसतक बनाएका थिए। ४७ बल खेलेका उनले ८ चौका सहित सर्वाधिक ५३ रन बनाए। अल्भिरो पीटरसन २७ बलमा ५ चौका सहित २७ र जस्टिन केम्प १५ रनमा आउट भए। बाँकीले राम्रो खेल्न सकेनन्।

श्रीलंका तीव्र गतिका बलर नुवान कुलसेकराले ४ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए।

फाइनल आइतबार मुम्बईमा हुनेछ।