व्यवसायिक हाँस पालन कसरी गर्ने ?

0
19

काठमाडौं । घरपालुवा हाँस अण्डा, मासु तथा प्वाँखको लागि पालन गरिने हाँसको प्रजाति हो। कतिपय अवस्थामा यसलाई सोख तथा साज(सजावटको लागि पनि पाल्ने गरिन्छ । करिब ६ महिना उमेर भए पछि फुल पार्न शुरु गर्दछ । एउटा हाँसले वार्षिक सरदर २०० देखि ३०० गोटासम्म फुल उत्पादन गर्दछ । हाँसलाई करिब २ महिनाको उमेर भए पछि वा २ देखि २.५ के.जी. तौल भए पछि मासुको लागि प्रयोग गर्नु राम्रो हुन्छ ।

 

 

१. हाँस किन पालिन्छ ?

– मासु  र अण्डा उत्पादनको हांस पालन गरिन्छ ।

२. एउटा हाँसले एक बर्षा कति गोटासम्म फुल पार्छ ?

– वार्षिक सरदर २०० देखि ३०० गोटासम्म फुल उत्पादन गर्दछ ।

३. हाँसले कति उमेर भए पछि फुल पार्न शुरु गर्छ ?

– करिब ६ महिना उमेर भए पछि फुल पार्न शुरु गर्दछ ।

४. फुल लागि पालिने हाँसको जिवित तौल कति के.जी.सम्म हुन्छ ?

– फुल उत्पादनको लागि पालिने हाँसको तौल सरदर २.५ के.जी.सम्म हुन्छ ।

५. हाँसलाई कति उमेर पुगे पछि मासुको लागि प्रयोग गर्नु पर्दछ ?

– हाँसलाई करिब २ महिनाको उमेर भए पछि वा २ देखि २.५ के.जी. तौल भए पछि मासुको लागि प्रयोग गर्नु राम्रो हुन्छ ।

६. मासुको लागि पालिने हाँसको जिवित तौल कति के.जी.सम्म हुन्छ ?

– मासुको लागि पालिने हाँसको सरदर ३ देखि ४ के.जी सम्म हुन्छ ।

७. कस्तो हावापानीमा हाँस पालन गर्न सकिन्छ ?

– पानीको व्यवस्था भएको मध्यपहाड र तर्राई क्षेत्रमा हाँस पालन गर्न सकिन्छ ।

८. मासु र फुल उत्पादनको लागि कुन कुन जातको हाँस पालिन्छ ?

– मासु र फुल उत्पादनको लागि पालिने मुख्य हांसहरु खाकी क्याम्पवेल र इयिडयन रनर हुन् ।

९. मासु उत्पादनको लागि पालिने प्रमुख हाँसका जातहरु कुन कुन हुन् ?

– मासुको लागि पेकिन, मस्कोभि, एलिसबरी जातका हाँस प्रमुख छन् ।

१०. खोरमा राखेर पाल्दा उमेर र अवस्था अनुसारहाँस लाई कति ठाउं चाहिन्छ ?

– दुई हप्ता उमेरको प्रति चल्ला एक बर्गफीट, हुर्कदै गरेको प्रति चल्ला २.५ बर्गफीट र वयस्क हांसलाई करिब ३ बर्ग फीट ठाउं भए पुग्छ ।

११. हाँसलाई थुनेर चाहिं कसरी पालिन्छ ?

– यो तरिकाबाट पाल्दा एउटा खोरमा ६ पोथीको लागि १ भाले राखेर पालिन्छ । तर खोरमा पानीको अटुट व्यवस्था मिलाउनु पर्दछ ।

१२. छाडा छोडेर पाल्दा कति हाँसको लागि कति क्षेत्रफल आवश्यक हुन्छ ?

– एक एकड (करिब १२ कठ्ठा) जमीनमा करिब १००० हाँस पालन गर्न सकिन्छ ।

१३. कुन जातको हांसहरुलाई छाडा छोडेर पाल्न उपयुक्त हुन्छ ?

– खाकी क्याम्पवेल र ईयिडयन रनर जातका हांसहरु यो तरिकाबाट पाल्न उपयुक्त मानिन्छ ।

१४. हाँसलाई किन छाडा छोडेर पाल्ने ?

– हाम्रो देशको धेरैजसो कृषकहरुले हाँसलाई छाडा छोडेर पाल्ने गरेका छन् । यो तरिकामा हाँस आफै चर्ने हुंदा दाना आदिमा खर्च लाग्दैन तर ठुलो ठाउंको आवश्यकता पर्दछ ।

१५. हाँसलाई कसरी कसरी पाल्न सकिन्छ ?

– हाँसलाई छाडा छोडेर र थुनेर पाल्न सकिन्छ ।

१६. हाँस पालनको लागि आवश्यक जानकारी लिन कहां सर्म्पर्क गर्नु पर्दछ ?

– सम्बन्धित जिल्ला पशु सेवा कार्यालय वा केन्द्रिय बंगुर कुखुरा प्रर्बर्द्धन कार्यालय, हरिहरभवन, ललितपुरको साथै सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा सर्म्पर्क गरी सरकारी स्तरबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरु बारे जानकारी लिन सकिन्छ ।

१७. हाँस पालन गर्दा कसरी जैविक सुरक्षा (Biosecurity) को व्यवस्था गर्नु पर्दछ ?

– अनावश्यक मानिस, गाडीलाई हांस पालन गरेको क्षेत्रमा आउन दिनु हुंदैन । हांसको खोरमा पस्नु अगाडी टेकेर जान ढोकामा चुना वा फुट वाथ (निःसंक्रमण गर्ने औषधिको घोलपानी राखेको भांडो) राख्नु पर्दछ । खोरलाई हप्तामा २ पटकसम्म सफा गर्नु पर्दछ ।

१८. यसरी सबै हांस, कुखुरा मार्दा कृषक व्यवसायीहरुलाई मार्का पर्दैन र ?

– पक्कै पनि मार्का त परिहाल्छ तर पनि जनस्वास्थ्य सित प्रत्यक्ष सरोकार राख्ने रोग भएको हुंदा नेपाल सरकारले मारेको पंक्षीहरुको क्षतिपूर्ति वापत केही रकम उपलव्ध गराउने व्यवस्था गरेको छ ।

१९. बर्ड फ्लु रोग देखा परेमा अन्यत्र फैलिन नदिन के गर्नु पर्दछ ?

– रोगको पुष्टि भै सके पछि रोग देखा परेको ठाउं देखि ३ किलोमिटर क्षेत्र भित्रका सबै हांस, कुखुरा एकै पटक मारी त्यसलाई बैज्ञानिक तरिकाले तह लगाउनु पर्दछ साथै त्यस क्षेत्र भित्रका हांस तथा कुखुराको मासु, फुल, मल र खोर समेत व्यवस्थित तरिकाले नष्ट गरी तह लगाउनु पर्दछ ।

२०. बर्ड फ्लु रोग त मानिसमा पनि र्सछ भन्छन् नि हो ?

– हो, हांस पालन व्यवसायमा प्रत्यक्ष संलग्न मानिसहरुमा यो रोग लाग्ने संभावना बढी हुन्छ र यो रोगको कारण अन्य मुलुकहरुमा केही मानिसहरुको मृत्यु भएको पुष्टि पनि भै सकेको छ ।

२१. के नेपालमा बर्ड फ्लु रोग हांसमा पनि फैलिएको छ ?

– छ, बर्ड फ्लु रोगको कारणले काठमाण्डौ, पोखरामा हांसहरु मरेको पुष्टि भै सकेको छ ।

२२. र्बर्ड फ्लु (Bird Flu) कस्तो रोग हो ?

– यो रोग विषाणुको कारणले पंक्षीहरुमा महामारीको रुपले असर गर्ने डरलाग्दो रोग हो ।

२३. डक भाईरस इन्टेर्राईटिस रोगको उपचार गर्न सकिन्छ ?

– रोगको सन्तोषजनक उपचार नहुने भएकोले पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा हांसको माउ र चल्लाहरुलाई समयमा नै खोप लगाउने व्यवस्था मिलाउनु पर्दछ ।

२४. डक भाईरस इन्टेर्राईटिस (Duck Viral Enteritis) रोग लागेको हांसमा कस्तो लक्षहणहरु देखिन्छ ?

– विषाणुबाट हुने यो रोग लागेमा आंखा सुन्निने, सिंगान बग्ने, पातलो दिसा गर्ने र कहिले काहिं रगत समेत मिसिएको पातलो दिसा गर्ने जस्ता लक्षणहरु देखा पर्दछ ।

२५. डक भाईरल हेपार्टाईटिसबाट हांसलाई बचाउन के गर्नु पर्दछ ?

रोग लागे पछि खासै उपचार नहुने हंदा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा हांसको माउ र चल्लाहरुलाई समयमा नै खोप लगाउने व्यवस्था मिलाउनु पर्दछ ।

२६. डक भाईरल हेपार्टाईटिस (Duck Viral Hepatitis) रोग लागेको कसरी शंका गर्न सकिन्छ ?

– विषाणुबाट हुने यो रोगमा ४ हप्ताम्मका चल्लाहरु बढी प्रभावित हुन्छ । रोगीले लरखराएर हिंड्ने, हरियो पातलो दिसा गर्ने, टाउको पछाडी फर्काउने, खुट्टा पक्षघात हुने जस्ता लक्षणहरु देखाउंछ र मृत्यु दर समेत बढी नै हुने गर्दछ ।

२७. बोटुलिज्म रोगको उपचार गर्न सकिन्छ ?

– रोग लागेको थाहा पाउने वितिकै पशु स्वास्थ्य प्राविधिकको सहयोगमा एन्टीवायोटिक औषधिहरुको प्रयोग गरी उपचार गर्न सकिन्छ ।

२८. हांसको बोटुलिज्म (Botulism) रोग लागेमा कस्तो लक्षणहरु देखिन्छ ?

– जिवाणुद्वारा हुने यो रोग लागेको हांसले मुख्य गरी लङ्गडाउने, घांटी र टाउको तलतिर लत्राउने र सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखाउंछ ।

२९. हांसको हैजा लागेमा उपचार गर्न सकिन्छ ?

– पशु स्वास्थ्य प्राविधिकको सहयोगमा समयमा नै एन्टिवायोटिक औषधिहरु पानीमा घोलेर खुवाई उपचार गर्न सकिन्छ ।

३०. हांसको हैजा (Duck Cholera) रोग लागेमा कस्तो लक्षणहरु देखा पर्दछ ?

जीवाणुद्वारा हुने यो रोगमा ४ हप्ता भन्दा माथिका हांसहरु बढी प्रभावित हुन्छ । यो रोग लागेमा  दानापानी नखाने, कडा ज्वरो आउने, सिंगान तथा र्‍याल काढ्ने र हरियो पातलो छेर्ने जस्ता लक्षणहरु देखा पर्दछ ।

३१. कक्सिडियोसिस रोगको उपचार र रोकथाम चाहिं कसरी गरिन्छ ?

कड्रिनल, सुपरकक्स, एम्प्रोलियम जस्ता औषधिहरु पशु स्वास्थ्य प्राविधिकको सहयोगमा ५ दिनसम्म पानी घोलेर खुवाउनु पर्दछ । रोगबाट बचाउन औषधि मिलाएको दाना खुवाउने र नियमित खोरको सफाई गर्नु पर्दछ ।

३२. कक्सिडियोसिस (Coccidiosis) रोग लागेको हांसमा कस्तो लक्षणहरु देखा पर्दछ ?

शुक्ष्म परजिवीबाट हुने यो रोगले खास गरी ७ हप्ता भन्दा कम उमेरका चल्लाहरुलाई बढी असर गर्दछ । रोगी चल्लाहरु झोक्राउने, फोहोर देखिने, धेरै मर्ने, रगत मिसिएको छेर्ने जस्ता लक्षणहरु देखाउंछ ।

३३. हांसलाई कुन कुन रोगहरु लाग्दछ ?

हांसलाई मुख्य गरी कक्सिडियोसिस, डक कलेरा, बोटुलिज्म (लिम्बर नेक डिजिज), डक भाईरल हेपार्टाईटिस, बर्ड फ्लु जस्ता रोगहरु लाग्दछ ।

३४. हांसलाई आन्तरीक परजिवीले सताउंछ कि सताउंदैन ?

– हांसमा आन्तरीक परजिवी (गोलो जुका, फित्ते जुका) ले खासै असर नगर्ने भएता पनि समय समयमा पशु स्वास्थ्य प्राविधिकसित सर्म्पर्क गरी एलबेण्डाजोल जस्ता औषधिहरु खुवाउनु फाईदाजनक हुन्छ ।

३५. फुल पार्ने हांसको दानामा सिपी र चुन ढुंगाहरु पनि मिसाउनु पर्छ भन्छन् नि किन होला ?

– यसरी मिर्साई खुवाउनाले हांसको पाचन प्रकृयामा सहयोग मिल्ने र अण्डाको बोक्राको गुणस्तर पनि बृद्धि हुन्छ ।

३६. हांसलाई हरियो सागपात र घांस पनि खुवाउन सकिन्छ ?

– सकिन्छ, हांसलाई हरियो सागपात र बर्सिम जस्ता घांस खुवाउनाले यसबाट भिटामीन तथा मिनरल प्राप्त हुन्छ । यसरी घांस खुवाउनाले दानाको मात्रा कम लाग्ने हुंदा खर्च पनि कम हुन्छ ।

३७. हांसलाई सुख्खा धुलो दाना कसरी खुवाउन सकिन्छ ?

– सुख्खा धुलो दानालाई पानीमा मोलेर खुवाएमा हांसलाई निल्न सजिलो हुन्छ ।

३८. के आफैले पनि गाउंघरमा पाईने स्थानिय कच्चा पदार्थहरुबाट हांसको दाना बनाउन सकिन्छ ?

– सकिन्छ, मकै, गहुं, धानको ढुटो, चोकर, तोरी वा सूर्ययमुखीको पिना, चुनढुंगा र बजारमा पाईने भिटामीन तथा खनिज पदार्थहरुलाई आवश्यकतानुसार मिसाएर बनाउन सकिन्छ र यो फाईदाजनक पनि हुन्छ ।

३९. हांसको यी दानाहरु बजारमा किन्न पाईन्छ ?

–  एग्रो भेट, भेटेरिनरी कर्न्र्सन तथा पशुपंक्षी दाना पसलहरुमा किन्न पाईन्छ ।

४०. कुन दाना कुन उमेर र अवस्थाका हांसहरुलाई खुवाउने हो ?

– स्टार्टर दाना भर्खरका चल्लाहरुलाई, ग्रोवर दाना बढ्दो उमेरको चल्लाहरुलाई र लेयर दाना फुल पार्ने हांसलाई  खुवाउनु पर्दछ ।

४१. हांसलाई कति किसिमको दाना चाहिन्छ ?

– खासमा स्टार्टर, ग्रोवर र लेयर गरी तिन किसिमको दाना चाहिन्छ ।

४२. फुल पार्ने हांसलाई कति उमेर भए पछि हटाउनु पर्छ ?

फुल पार्ने हांसलाई करिब १८ महिनाको उमेर भए पछि हटाउनु पर्दछ ।

४३. हांसले कति दिनमा (ओथारो अवधि) चल्ला काढ्दछ ?

हांसको चल्ला काढ्ने अवधि सरदर २८ दिनको हुन्छ ।

४४. हांसलाई फुल पार्ने बाकस (गुँड) कस्तो बनाई दिनु पर्छ ?

– करिब १ ह् १ ह् १.५ फीट आकारको फुल पार्ने बाकस बनाई दिनु पर्दछ ।

४५. हांसले विहानको समय सम्ममा सबै फुल पारी सक्छ भन्छन् नि हो ?

– हांसले विहान ९ बजेसम्ममा ९५ प्रतिशतले फुल पारी सक्ने भएकोले ९.३० बजेसम्म खोरमा नै थुनेर राख्नु पर्दछ ।

४६. हांसलाई पंक्षी जातीमा लाग्ने रोगहरु पनि कम लाग्छ भन्छन् नि हो ?

– हो, पंक्षी जातिमा लाग्ने धेरै रोगहरुलाई सहने शक्ति हांसमा हुन्छ त्यसैले कम रोग लाग्दछ ।

४७. पोखरी नभएको ठाउंमा कसरी पानीको व्यवस्था मिलाउनु पर्छ ?

– हांसलाई अटुट रुपमा पानीको व्यवस्था गर्नु पर्दछ । पानी पिउने भांडो चल्लाको लागि करिब ३ इन्च र वयस्कको लागि ६ इन्च गहिरो हुनु पर्दछ जसले गर्दा हांसले पानी पिउंदा टाउको डुवाउने र थुतुना सफा गर्ने गर्दछ ।

४८. यदि हांसलाई पोखरीको पनि व्यवस्था गरि दिए के फाईदा हुन्छ ?

– आवश्य फाईदा हुन्छ किनकि पोखरीमा हांस पौडिने भएको हुंदा प्रशस्त व्यायाम हुन्छ साथै सफा र स्वस्थ पनि रहन्छ ।

४९. हांस पालन गर्न पोखरी नै चाहिने हो ?

– हांस पालन गर्न पोखरी नै हुनु पर्छ भन्ने छैन । पोखरी नै नभएको ठाउंमा पनि हांस पालन गर्न सकिन्छ ।

५०. कुखुरा भन्दा हांस पालन गर्नु कम खर्च लाग्छ ?

– हो कम खर्चमा हांस पालन गर्न सकिन्छ किनकि कुखुराको जस्तो बढी खर्च गरेर खोर बनाउनु पर्दैन ।