संघियताको खारेज गरौं भन्दैै राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन हुँदै

0
26

भक्तपुर । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन यही २०७७ चैत्र २४,२५ र २६ गते रुपन्देहीको बुटवलमा आयोजना हुन गइरहेको छ।
कोरोना प्रकोपको स्थितिमा सुधार आइनसकेकाले यो सम्मेलन प्रतिनिधिमूलक र सभाहल भित्र सम्पन्न हुनेछ।
सम्मेलनको उदघाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुनेछ।
राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको मूल नारा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं संघियताको खारेज गरौं भ्रष्टाचारको विरुद्ध संघर्ष गरौ , भन्ने रहेको छ।

सम्मेलनमा राजनीतिक प्रतिवेदन ,घोषणापत्र, विधान संशोधन र समसामयिक राजनीतिक प्रस्तावहरु प्रस्तुत र पारित हुनेछन् ।
सम्मेलनले नयाँ केन्द्रीय समितिको पनि चयन गर्ने छ ।
सम्मेलनमा प्रस्तुत हुने दस्तावेजहरु को तयारी , प्रतिनिधिहरूको चयन , सम्मेलन सफल पार्नका लागि विभिन्न समितिहरु गठन तथा व्यवस्थापन सम्बन्धी कार्यहरू अन्तिम चरणमा पुगेको राष्ट्रिय जनमोर्चा बाग्मती प्रदेश सचिव एवम् भक्तपुर जिल्ला अध्यक्ष शिवहरि खनालले जानकारी दिनुभयो।

राष्ट्रिय जनमोर्चा देश र जनताको पक्षमा सही निर्णय लिने र तिनको पक्षमा दृढतापूर्वक सङ्घर्ष गर्ने राजनैतिक पार्टी हो । पार्टीले देशका राष्ट्रिय आन्दोलनहरुमा एकल र आवश्यक पर्दा संयुक्त रुपमा संघर्ष गर्दै आएको छ ।

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्नका लागि देशका सबै क्षेत्रका जनसमुदायको सहयोग र समर्थनको लागि आह्वान गर्दछ।