विश्वकप छनोटमा जर्मनीको २० वर्षपछि पहिलो हार, नर्थ म्यासेडोनियासँग पराजित

0
17
North Macedonia players celebrate as Germany's forward Timo Werner walks past after the FIFA World Cup Qatar 2022 qualification football match Germany v North Macedonia in Duisburg, western Germany on March 31, 2021. (Photo by Ina Fassbender / AFP) (Photo by INA FASSBENDER/AFP via Getty Images)

भक्तपुर । फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनी पराजित भएको छ। जर्मनीलाई समूह ‘जे’ को खेलमा नर्थ म्यासेडोनियाले २-१ गोलले पराजित गरेको हो।

घरेलु टिमविरुद्ध म्यासेडोनियाले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अग्रता लियो। उसका लागि पान्डेवले गोल गरेका थिए।

६३ मिनेटमा जर्मनीले गुन्डोआनको पेनाल्टी गोलबाट बराबरी गर्न सफल भयो। तर ८५ मिनेटमा एल्मासले म्यासेडोनियाका लागि गोल गर्दै टिमलाई दोस्रो पटक अग्रता दिलाए।

विश्वकप छनोटमा जर्मनीले सन् २००१ पछि पहिलो पटक हार बेहोरेको हो। त्यतिबेला जर्मनीलाई इंग्ल्यान्डले ५-१ ले हराएको थियो। त्यसयता जर्मनी विश्वकप छनोटमा ३५ खेलसम्म अपराजित थियो।

हारसँगै समूहमा तीन खेलबाट ६ अंक जोडेको जर्मनी तेस्रो स्थानमा छ। ९ अंक जोडेको अर्मेनिया शीर्ष स्थानमा छ भने ६ अंकसहित म्यासेडोनिया दोस्रो स्थानमा छ।

यता स्पेन, इटाली र फ्रान्सले पनि जित निकालेका छन्।

स्पेनले समूह ‘बी’ को खेलमा कोसोभोलाई ३-१ गोलले हरायो। स्पेन तीन खेलबाट ७ अंक जोडेर समूहको शीर्ष स्थानमा छ। इटालीले लिथुवानियामाथि २-० को जित निकाल्यो। इटाली समूह ‘सी’ मा ९ अंक जोडेर शीर्ष स्थाना छ।

फ्रान्सले समूह ‘डी’ को खेलमा बोस्नियालाई १-० गोलले पराजित गरेको छ। फ्रान्स पनि ७ अंक जोडेर शीर्ष स्थानमा छ।