भक्तपुरमा नेपालमै पहिलो पटक विद्यालयस्तरीय गल्फ खेलको शुभारम्भ

0
8

भक्तपुर ।
भक्तपुरमा नेपालमै पहिलो पटक विद्यालयस्तरीय गल्फ खेलको शुभारम्भ गरिएको छ ।
भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकूलमा शुक्रबार नेपालमै पहिलो पटक विद्यालयस्तरीय गल्फ खेलको सुरु गरिएको हो ।
पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक, उद्योगपति, कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (क्यासी) का उपाध्यक्ष एवं नेपालका प्रसिद्ध गल्फ खेलाडी प्रदीपकुमार श्रेष्ठले सो खेलको शुभारम्भ गरेका थिए ।
विद्यार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्न विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएको सो विद्यालयले खेलकुदको विकासको सिलसिलामा “स्वस्थ जीवनको लागि खेलकुद र असल शिक्षाको लागि स्वस्थ शरीर” भन्ने आदर्श वाक्यलाई मध्यनजर राखी सोखल पनि समावेश गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्विमिङ, हकी, क्रिकेट, फूटबल, बास्केटबल, स्केटिङ लगायतका खेलकुद क्रियाकलापहरु विगत वर्षहरुदेखि नै गर्दै आएकोमा यस वर्षदेखि गल्फ खेलको पनि शुरुवात गरिएको विद्यालयका अध्यक्ष राजेश चौधरीले बताए ।
गल्फ खेलको प्रारम्भ गर्दै क्यासीका उपाध्यक्ष श्रेष्ठले विद्यालयले गरेको यो खेलको शुरुवातले विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न र विद्यार्थीहरुको शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासमा महत्वपूर्ण टेवा पुग्ने चर्चा गर्दै विद्यालय परिवारलाई बधाई तथा धन्यवाद दिए ।
उनले गल्फ खेल धनी र बुढापाकाहरुको खेल हो भन्ने परम्परागत धारणाबाट माथि उठेर युवाहरुलाई यस खेलतर्फ आकर्षित गर्न सके खेलको विकासमा ठूलो योगदान पुग्ने पनि बताए ।
गल्फ खेलमा इच्छुक खेलाडीहरुलाई आवश्यक प्रशिक्षण र अन्य सहयोग गर्न आफू तत्पर रहेको बताउँदै यस खेललाई आउटडोरतर्फ विकास गर्न आवश्यक सुझाव समेत दिए ।
विद्यालयका अध्यक्ष राजेश चौधरीले विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासको लागि निरन्तर प्रयास गरिरहेको र यस कार्यमा सबै पक्षबाट यथोचित सहयोग र सद्भाव कायम रहेको जानकारी दिए ।
आगामी दिनमा अभिभावक र विद्यार्थीहरुको हितको लागि थप कार्यक्रमहरु संचालन गर्ने योजना रहेको उनको भनाइ छ ।
विद्यालयका संस्थापक (बोर्ड सदस्य) एवं निर्देशक दिनेश भुसालले अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदको क्षेत्रमा गल्फ खेलको शुरुवात गरेर विद्यालयले एउटा फड्को मारेको बताउँदै आगामी दिनहरुमा पनि यस किसिमका गतिविधि थप गर्दै लैजाने प्रतिवद्धता जनाए ।
अतिरिक्त क्रियाकलाप संयोजक कमल खड्काले खेलकुदले विद्यार्थीहरुको अनुशासित जीवन शैली, शीघ्र निर्णय क्षमताको विकास र स्वावलम्बी बानीको विकासमा टेवा पु¥याउने हुँदा यसको ठूलो महत्व रहेको बताए भने प्राचार्य लियोन श्रेष्ठले यस खेलबाट धेरै विद्यार्थीहरुले लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।