फेरि मन्त्री हुन सपथको निम्तो कुर्दै सांसदबाट निलम्बित भएका चार जना

0
8

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सांसदबाट पदमुक्त गरेका चार जनाले मन्त्री रहिरहन फेरि सपथ लिनु पर्ने भएको छ।बिहीबार सांसदसँगै मन्त्रीबाट पनि पदमुक्त भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले फेरि सपथ लिनु पर्ने भएको हो।

उनीहरू फेरि मन्त्री नियुक्त हुन्छन् कि हुन्नन्? भए भने सपथ कहिले हुन्छ भन्ने टुंगो भएको छैन। फेरि सपथ लिनु पर्ने भएकाले उनीहरू शुक्रबार भने मन्त्रालय जाने छैनन्।

‘हामी सपथको खबर कुरिरहेका छौं। प्रक्रिया मिलेपछि सपथ हुन्छ होला,’ पदमुक्त भएका प्रभु साहले  भने,‘आज त मन्त्रालय जाँदैनौं।’

संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ। माओवादी केन्द्र छोडेर आफूसँग आएका उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अब त्यही व्यवस्थाअनुसार मन्त्री बनाउनु पर्ने छ। यसअघि उनले माओवादी छोडेर आएका मणि थापा र दावा लामालाई यही व्यवस्थाअनुसार मन्त्री बनाएका छन्।

प्रधानमन्त्री ओलीले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेर सपथ गराउने सम्भावना कम छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अहिलेसम्म नयाँ मन्त्री नियुक्तिको टुंगो भइनसकेको बताए।

‘तयारी हुँदै होला,’ उनले भने।

सामाजिक सञ्जालमा भने थापाले यी चारै जनाले हिजो छविलाल दाहाललाई प्रचण्ड बनाएको भन्दै  उनीहरूको प्रशंसा गरेका छन्।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी- केवल पद प्रतिष्ठाको लागि राजनीति होइन, राजनीतिक निष्ठाको लागि सबथोक हैसियत त्याग गर्ने स्पिरिटसाथ लामो  यात्रामा अघि बढ्नुभएको छ। उहाँहरूले हिजो छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी नै छ,’ उनले लेखेका छन्।

राष्ट्रपति कार्यालय शितल निवासमा पनि मन्त्रीहरूको सपथका लागि बिहानसम्म कुनै तयारी भएको छैन।

‘शितल निवासमा आज सुशोभन समारोह छ। २ बजेसम्म त्यही कार्यक्रम चल्छ होला,’ राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने,‘मन्त्रीहरूको सपथ भयो भने बेलुकातिर हुन्छ। नभए आइतबार होला।’ सेताेपाटीबाट