जनस्तरबाट सञ्चालन भइरहेको बिस्केटजात्रा

0
17

० कृष्ण प्रजापति
भक्तपुर शहर जनता प्रधान शहरको रुपमा परापूर्व कालदेखि लिँदै आइरहेको छ । स्वर्ण युग भनिएको मल्ल कालमा भक्तपुर शहर जनता प्रधान शहरको रुपमा कायम भयो । अझ त्यो समयमा जनतासंग राजाले पत्यक्ष भेटघाट गरी सरसल्लाह गरेको इतिहास छ । त्यसो भनेको यहाँ पृथ्वीनारायण शाहले आक्रमण गरी सकेपछि त्यो बेला काठमाडौंका राजा प्रताप मल्ल भक्तपुरमा शरण लिन पुग्यो । त्यो सुईंको राजा समक्ष पनि पुगेको थियो । उनलाई गोर्खाली शत्रुको हातमा बुझाउने कि शरण दिने भन्ने विषयमा चर्को बहस चल्यो । सो विषयमा यहाँ खुल्ला राजसभा पनि भएको थियो । सो बेला वने लाय्कू भनिने दतात्रय मन्दिर परिसरमा बसी गुथियारहरुसंग राजाले सुझावहरु मागेका थिए । त्यसैले पनि काठमाडौं शहर राजा प्रधान, ललितपुर शहर मन्त्री प्रधान वा ५ प्रधानहरुको पालैपालो शासनसत्ता सञ्चालन भइरहेको थियो । भक्तपुर भने जनता प्रधान अर्थात् जनता नै केन्द्रबिन्दुमा पारी शासन गर्ने देशको रुपमा प्रसिद्ध छ । यो परिपाति भने आजको परिपाति होइन । सो क्रममा यो पालि कन्द्रीय सरकारले निर्णय अनुसार हुलकुल हुने भएकाले कोभिड १९ को जोखिम बढ्ने सम्भावना रहेको भन्दै यो वर्ष पनि बिस्केट जात्रा गर्न नदिने भनी खस् ब्राम्हणहरु मात्रै रहेको जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको थियो । तर परापूर्व कालदेखि जनता प्रधान रहेको भक्तपुर शहरमा जनताको इच्छा आकांक्षा अनुरुप स्थानीय निकायले बिस्काः जात्रा गराउन बाध्य भयो ।
सुरुमा त भक्तपुर नगरपालिका पनि जिल्ला प्रशासन कार्यालयले भने झैं गरी यो वर्ष कोभिड १९ को जोखिम रहेको कारण स्वास्थ्य मन्त्रालयको अनुरोध मुताविक जात्रा बन्द गर्ने, जात्राको मूल पक्ष लिंगो उभ्याउने र धाल्ने जस्ता कार्य बन्द गरी अन्य स्थानीय जात्रापर्वहरु मात्रै सीमित रुपमा मनाउने भनेर निर्णय गरिसकेको थियो । तर भक्तपुरका स्थानीय जात्राप्रेमी जनताले भक्तपुर नगरपालिका, टौमढी क्षेत्र र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर त्यसलाई उल्टाई दियो । त्यति मात्रै होइन कि एक सचेत युवा अधिवक्ता राजकुमार सुवालले स्थानीय जनताको मौलिक अधिकारको रुपमा रहेको स्थानीय जात्रा बन्द गराउने प्रमुख जिल्ला अधिकारीको कार्यालय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिदियो । त्यसमा अन्तरिम आदेश जारी गरी त्यसको लागि कारण देखाऊ आदेश जारी गरिसकेपछि भने जात्रा हुने स्पष्ट भयो । त्यसपछि बल्ल भक्तपुर नगरपालिकाले पनि जात्रा गर्न तम्तयार भएको थियो । यसरी समय समयमा स्थानीय निकाय र केन्द्रीय सकाकारको विरुद्ध पनि जनताले दवावमुलक कार्य गर्नु पर्ने हुन्छ ।
जनता जनार्दन भनेको कोही भन्दा कमजोर होइन भन्ने स्पष्ट छ । यो भक्तपुर जिल्लाको मामलामा अझ बढी ज्वलन्त उदाहरणको रुपमा देखिन्छ । परापूर्व कालमा दरवार क्षेत्रमा भेला गर्ने, वने लाय्कू भनिने दतात्रय स्थानमा भेला गर्ने जस्ता स्थानीय गुथियार वा जनतासंग पनि राजाले प्रत्यक्ष रुपमा राय सल्लाह माग्ने परम्परा कायम थियो । त्यो परम्परा निकै अगाडिदेखि चल्दै आएको छ । त्यसैलाई शिरोपर गरी यो पालि भक्तपुर नगरपालिकाले पनि ब्यवहारिक रुपमा जनताको दवाव पछि आफ्नो निर्णय नै बदलेर जात्रा गर्ने पक्षमा नगरपालिका पुग्यो । गणतन्त्र र प्रजातन्त्र आएको बेला स्थानीय रुपमा शासक वा राजा नै मान्नु पर्ने नगर पिता सुनिल प्रजापतिले पनि यो पल्ट सोही कुरालाई अंगिकार गरेको हो । तीन दिन सम्म सीडियो कार्यालयले गरेको निर्णय विरुद्ध टौमढी चोकमा हडताल जारी गरेपछि बल्ल प्रशासकको घैटामा घाम लाग्यो । सर्वोच्चको आदेश अनुरुप पनि भक्तपुर नगरपालिका र सीडियो कार्यालयले जात्रा सुचारु गर्न बाध्य भएको हो । यो परिवर्तन भनेको जनपक्षीय धारणाले विजय प्राप्त गरेको कुराको रुपमा लिनु पर्दछ । सीडियो कार्यालय आफैले निर्णय गर्दा पनि जनताको भावना विपरित गरेपछि त्यसलाई लागू गर्न सकिँदो रहेनछ भन्ने यहाँ पनि स्पष्ट भएको छ । सीडियो कार्यालय भनेको केन्द्रीय सरकार हो भने भक्तपुर नगरपालिका भनेको भक्तपुरको लागि स्थानीय सरकार हो । भक्तपुर नगरपालिकाले गत वर्ष कोरोनाको कारण रोकिएको बिस्केटको सम्पूर्ण जात्रा यो पालि राम्ररी सञ्चालन गर्ने भनेर भैरवको रथ समेत बनाइसकेको थियो । यस्तो अवस्थामा अपर्झट यसरी बिस्काः जात्रा गर्न दिन्नांै भन्नु कतिको मिल्ने कुरा भयो र ? त्यसैले जात्रा भएरै छाड्ने कुरामा स्थानीय जनता पहिले देखि नै धुक्क थिए ।
जनताले चाहे पछि त्यसलाई राजा, प्रधानमन्त्री वा सरकार कोही पनि शक्तिले पञ्छाउन सकिन्न । केही समय अगाडि गुथि विधेयक ल्याएर जनताको सांस्कृतिक अधिकार कुन्थित गर्न खोजेको बखत पनि सारा जनता माइतीघर मण्डलामा भेला भएर दवाव दिन थाले पछि सरकारले थेग्ने नसक्ने अवस्था आउने देखिएर बाध्य भएर त्यो विधेयक फिर्ता गरेको थियो । आज सीडियो कार्यालयले जनताले मनाउँदै आइरहेको विश्वस्तरको जात्रा बिस्केट जात्रा पनि बन्द गराउने भनिसकेपछि पुनः अब सञ्चालन गराउने भयो भनी निर्णय गर्न बाध्य भएको पनि जनताको जीत नै मान्नु पर्दछ । त्यसैले पनि यो वर्ष अरु समयमा भन्दा पनि अति हर्षोल्लासपूर्वक जात्रा चलिरहेको महसुस भएको छ ।
पहिलो दिन बिस्केटको प्रारम्भको दिनको रुपमा देवता तर बिराजमान गराएर माथिल्लो भाग र तल्लो भागमा रथ तान्ने परम्परा अनुसार दिउँसो २ बजे नै भैरवको रथमा भैरव बिराजमान गराउने भने तापनि आखिर अलि ढिला ४ बजेतिर सो कार्य हुन पुग्यो । त्यसो भएर पनि माथिल्लो भाग र तल्लो भाग बसेर सहजै जात्रा सञ्चालन भयो । पहिला पहिला नियम बिवरित हुने गरी देवता तल झर्दा माथिल्लो भागतिर रथ लाने र देवता माथि बिराजमान हुने बेला तल पो रथ लाने उल्टो चलन थियो । तर यो पालि भने सहज रुपमा तल लानु पर्ने दिन तलतिर नै रथलाई पुर्याएको पाइयो । यसले पनि जात्रा सहज र उल्लासमय हुन पुगेको छ । चैत २८ गते तल्लो भागको बंशगोपालसम्म लगेर रथ फर्काइएको थियो र पछि मात्रै गोल्मढीसम्म रथलाई तानेर लग्यो । समयमा निर्धारित स्थानमा पुर्याउन नसकेपनि प्रशस्त सुरक्षाकर्मीका कारण कुनै अप्रिय घटन भएन । सामान्य रुपमा छाना खसेर लागी भएको छिटपुट घटनालाई यत्रो ठूलो जात्रामा सामान्य घटनाको रुपमा लिनु पर्ने हुन्छ । यसैले पनि यो पालि बिस्केट जात्रा अन्तर्गगका सम्पूर्ण जात्रा राम्ररी हुने देखिएको छ ।
जनताले चाहेकै कारण यो पालि भैरव जात्रा वा बिस्केट जात्रा यति सुब्यवस्थित हुन पुगेको हो । होइन भने प्रशासनले बन्द गर भनेपछि बन्द गर्ने र प्रशासनले चलाऊ भने मात्रै चलाउने हो भने यो फूलपाटी जस्तै सरकारी जात्रा नै हुने थियो । जनताले जिल्ला प्रशासन भक्तपुरको निर्णय विपरित हाम्रो जात्रा हामी आफै चलाउँछौं भन्दै स्पष्ट अदान लिएपछि प्रहरी प्रशास र स्थानीय निकाय पनि अवाक्क हुनपुग्यो । नगर प्रमुख सुनिल प्रजापति पनि एक दिन अगाडिसम्म त बिस्केट जात्राको क्रममा लिंगो उभ्याउने, लिंगो धाल्ने र भैरवको रथ तान्ने बाहेक अरु सबै स्थानीय जात्रा पर्व मनाउने भनेर बोलिरहनु भएको थियो । पछि गएर स्वास्थ्य मापदण्ड पूरा गरी सम्पूर्ण जात्रा सुचारु गर्ने भनेर बदलिंदो स्वर सुनिन पुग्यो । त्यसैले जनताले चाहेमा कुनै पनि तानाशाही टिक्दैन भन्ने स्पष्ट झल्किन्छ ।