पहिलो दिन तान्दै भैरवनाथको रथ भताभुङ्ग

0
51

भक्तपुर । बिस्का जात्राको पहिलो दिन नै भैरवनाथको रथ भताभुङ्ग भएको छ । बिस्का जात्राको प्रमुख आकर्षण प्यागोडा शैलीका भैरवनाथको तीनतले रथ एकदिनमै ल्याङफ्याङ भएको हो ।
शनिबारबाट सुरु भएको भक्तपुरको बिस्का जात्राको पहिलो दिन जबरजस्ती तान्दा रथ जीर्ण भएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए ।
तीनतले रथका छाना बिग्रिएर उछिट्टिएका छन् । त्यस्तै छाना अड्याउन राखिएका टुँडालहरु झरेका छन् । कति टुँडाल हराए लेखाजोखा छैन । केही टुँडाल जीआई तारमा अल्झिएर बसेका छन् । त्यस्तै रथको पहिलो तलाको चारैतिर हुने तोरणसमेत खसेका छन् । गजुरसमेत सद्दे छैन । नयाँ बनाइएका बडेमानका काठका पांग्रासमेत मक्किएका छन् । पांग्राका चोक्टा चोक्टा उछिट्टिएका छन् ।

‘रथ दायाँबायाँका घरमा ठोक्किए पनि जबरजस्ती तान्दा छाना बिग्रिएका छन’, प्रमुख कर्माचार्यले भने, ‘त्यस्तै घरका पेटीमा ठोक्किँदा पनि एकोहोरो तान्दा घिस्रिएर पांग्राका चोक्टा चोक्टा उछ्छिटिएका छन् ।’
उनले जीर्ण रथ पुनः मर्मत गरिने बताए । बिस्का जात्रा आठ दिन नौरातसम्म चल्छ । त्यसैले बाँकी जात्राको लागि पनि रथलाई सग्लो बनाइने प्रमुख कर्माचार्य बताउँछन् ।
‘रथका बिग्रिएका भागको विवरण लिँदै त्यसको लागि काठको जोहो गर्ने काम भइसकेको छ’, उनले थपे, ‘सोमबारदेखि रथ मर्मत गर्ने काम अघि बढ्छ ।’
जात्राको पहिलो दिन टौमढीस्थित पाँचतले र भैरवनाथको मन्दिरबाट रथ तानेर गःहिटी पु-याइने प्रचलन रहेको छ । तर शनिबार भैरवनाथको रथ गःहिटी पुगेन । आइतबार बिहानमात्रै तानेर रथलाई गःहिटी पु-याइएको थियो ।
टौमढीबाट तानिएको रथ शनिबार राती अबेरसम्म तानिएको थियो । जसअनुसार रथ टौमढीबाट दक्षिण घट्खा, नासमना हुँदै वंशगोपालसम्म तानिएको थियो । वंशगोपाल पुगेको रथलाई शनिबार राति नै तानेर पुनः टौमढी फर्काइएको थियो । टौमढी फर्काइएको रथलाई उत्तर क्वाछें, साकोथा, सुकुलढोको हुँदै गोल्मढीसम्म तानिएको थियो ।
यसरी टौमढी दक्षिण र उत्तर दुइटै दिशातिर रथ तान्दा धेरैका घरमा रथ ठोक्किएको थियो । टौमढी फर्काउने क्रममा रथले ऐंसामढी सत्तलका दुइटा थाम नै उखेलेको थियो । त्यस्तै सुकुलढोकाको एउटा घरमा ठोक्किएर ढोकाका खापामा क्षति पु-याएको थियो ।

सद्दे भैरवनाथको रथ ।

टौमढीबाट वंशगोपालसम्म तान्दा नै रथ जीर्ण भइसकेको स्थानीय बताउँछन् । उनका अनुसार तैपनि पुनः टौमढी फर्काएर गोल्मढीसम्म पुग्दा रथमा थप क्षति पुगेको थियो ।
शनिबार दिउँसो २ बजे रथ तानेर ५ बजेभित्र जात्रा सकाउने तालिका बनाइएको थियो तर आइतबार बिहान करिब ८ बजेसम्म रथ तानिएको थियो । अगाडि र पछाडि चारचार वटा मोटो डोरीले एकैबाजी तान्ने परम्पराले पनि मच्चिएर रथ बिग्रिँदै आएको छ । रथ पुरानो भएकाले पनि वर्सेनि बिग्रिँदै आएको सिकर्मी नाइके प्रेमलाल शिल्पकार बताउँछन् ।
उनले रथका काठे पार्टपुर्जा धेरै पुरानो भइसकेकाले नयाँ नबनाएसम्म रथलाई बचाउन नसकिने स्पष्ट पार्छन् । त्यसमाथि जात्रालुले जथाभावी र बलजफ्ती तान्ने गर्दा रथ एकैदिनमा जीर्ण बन्न पुग्ने उनको भनाइ थियो ।
‘रथका ५० प्रतिशतभन्दा बढी काठे पार्टपुर्जा काम नलाग्ने भइसकेका छन्’, शिल्पकार भन्छन्, ‘अधिकांशको चुकुल खिइएर काठ नै नअडिने भइसके । त्यसैले नयाँ रथ बनाउनुको विकल्प छैन ।’
रथ चुकुलयुक्त तयारी काठ जोडजाड गरेर बनाइँदै आएको छ । त्यसैले रथ जीर्ण भए पनि पुनः जोडजाड गर्न धेरै समय नलाग्ने उनी बताउँछन् ।
बिस्का जात्राअन्तर्गत सोमबार स्याक्वत्याक्व रहेको छ । यसदिन भक्तपुरको तलेजुसँगै भैरवनाथ, भद्रकाली, बेताल र अष्टमातृकालगायतका बलि चढ्ने देवीदेवीलाई बलिसहित पूजा गरिन्छ ।
स्याक्वत्याक्वको दिन भक्तपुर नगरभित्रका सबैजसोको घरमा मासु भित्रिन्छ । भक्तपुर नगरवासीले आफ्नो गच्छेअनुसार भैरवनाथ, भद्रकाली र बेताल तथा अष्टमातृका पीठमा गएर बलिसहितको पूजा गर्ने संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।
भक्तपुर नगरवासीले दसैंमा जस्तै बिस्का जात्रामा पनि स्याक्वत्याक्वको दिन घरघरमा मासु भित्र्याउने प्रचलन रहेको उनले स्पष्ट पारे ।
‘बिस्का जात्रामा सबैको घरमा भोज मनाइने भएकाले उक्त भोजको लागि स्याक्वत्याक्वको दिन बलिसहितको पूजा गरिन्छ’, संस्कृतिकर्मी धौभडेलले भने, ‘स्याक्व भनेको ‘मारे जति’ र त्याक्व भनेको ‘जीत’ हो । त्यसैले आजको दिन दिइने बलिलाई जीतको रुपमा लिइन्छ । यहीं जीतको खुसीयालीमा बिस्काजात्रामा भोज खाइन्छ ।’
स्याक्वत्याक्वको दिन पशुपंक्षीको बलि दिन नसक्ने परिवारले हाँस वा कुखुराको अन्डासहितको पूजा गरेर यो जात्रा मनाइने उनी बताउँछन् ।
स्याक्वत्याक्वपछि विक्रम संवत्को अन्तिम दिन चैत मसान्तमा भक्तपुर नपा ५ स्थित योसिंखेलमा ५५ हात लामो हात भएको योसिङ (लिंगो) ठड्याइन्छ । योसिङ ठड्याउनुअघि गःहिटीमा रहेको भैरवनाथ र भद्रकालीको रथ तानेर योसिंखेल पु-याइन्छ । त्यस्तै योसिङलाई इन्द्र देवता मानेर त्यसको जन्मदेखि मृत्युसम्मका सम्पूण विधि विधान पु-याएर पूजा गरिने भैरवनाथ नाइके माइला छुंकाले बताए ।
उक्त पूजापछि अष्टमातृकाको प्रतीकस्वरुप आठ वटा मोटो एवं लामा डोरीले तानेर योसिङ ठ्डाइन्छ । उक्त योसिङको हातसँगै ३५ हात लामा दुई हलिंपत्त (विश्वध्वज) बाँधिन्छ । हलिंपत्त नेपालभाषाको शब्द हो । जसको शाब्दिक अर्थ हलिं भनेको विश्व र पत्त भनेको ध्वजा वा झण्डा हो । हलिंपत्तलाई संस्कृतमा विश्वकेतु भनिन्छ । सोही विश्वध्वज एवं विश्वकेतुको जात्रा क्रमशः अपभ्रंश भएर विश्व जात्रा हुँदै बिस्का एवं बिस्केट जात्रा भएको संस्कृतिकर्मीहरु बताउँछन् ।इन्डेफ्टको सहयोगमा