व्यावसायिक कालिज पालनको लागी कालिज पालन प्रबिधिबारे जानौ

0
173

कालिज नेपाल, पाकिस्तान, चीन देखि लिएर थाइल्यान्ड र युरोपको उच्च पहाडी र हिमाली भेगमा पाइने एक प्रकारको जंगली चरा हो। यसलाइ कतै तिर कालिग र कतै तिर इन्डियाको खेलको चरा ( Game bird of India) पनि भनिदो रहेछ तर ऐले आएर यो चरालाइ मनोरञ्जनको लागि कतै पनि खेलमा प्रयोग भएको पाइएको छैन। यो चरा प्रकृतिका घना जंगल र चिस्यान भएको ठाउँमा बस्न रुचाउँछ। कालिजको परिबारमा पर्ने धेरै चराहरु छ्न जस मध्ये नेपालको राष्ट्रिय चरा डाफे पनि पर्दछ। कालिजको प्रया जसो भालेको रङ अलि रातो र पोथिको तुलनामा भाले अलि बढि रंगीचंगी हुने र पोथी खैरो रङको हुन्छ। तर यसका विभिन्न प्रजाती अनुसार भाले र पोथिको रङमा भिन्नता देखिन्छ।

कालिजको पालन नेपालमा भर्खरै उदाउँदो गतिमा देखिएको छ। नेपालमा पालिने कालिजहरु सुरुमा युरोपियन देशहरुबाट ल्याइएका हुन। आज सम्म नेपालमा करिब १५० जति कालिजका फर्महरु रजिस्टर भएको पाइन्छ। खानमा स्वादिलो मासु र बोसो कम हुने भएकाले यसको मासु बजारमा अत्याधिक रुचाइने गरिन्छ। यसको महत्व मासु मात्र नभएर अहिले कृषि पर्यटनसङ जोडेर हेर्न थालिएको छ। फिजेन्ट (Pheasant) सङरक्षण कार्य विधि २०१९ का अनुसार कालिजलाइ CITES को Appendices तीनमा राखिएको छ भने IUCN को रेड लिस्टमा यस्को स्थान Least Concern मा राखिएको छ।

-कसरी गर्ने कालिज पालन?
कालिज चरा बर्गमा पर्ने भएकाले ब्रोइलर र अन्य कुखुरा जसरी सामान्य तरिकाले यसलाइ पाल्न सकिँदैन। यसको व्यावसायिक पालनको लागि खर्च पनि धेरै नै लाग्ने गर्द्छ भने कुल रकमको ५० प्रतिशत जती यसको खोर निर्माण नै लाग्न सक्छ। यो निरन्तर खेलिरहने र लामो समय सम्म उड्न सक्ने चरा भएको ले यसको खोर निर्माणमा बिशेष ध्यान पुर्याउन पर्दछ।
-ठाउँको छनोट:
कालिजका लागि ठाउँको छनोट गर्दा सम्भव भए सम्म जङ्गलको नजिक र अलि भिरालो घाँस भएको ठाउँलाइ छान्नु पर्छ। कालिजले चिसो हावापानी मन पराउने भएकाले यसको लागि करिब उच्चतम तापक्रम ३०-३२ डिग्री सेल्सियस भन्दा माथी नजाने ठाउँ छान्नु पर्छ। धेरै गर्मी हुने ठाउँ छ भने गर्मी महिनामा यसलाई छहारीको ब्यबस्था गर्नु पर्छ। यो काठमान्डौ, पोखरा जस्तो चिसो ठाउ बढि रुचाउने भएता पनि अहिले यसको पालन बुटवल, दाङ र सुर्खेत तिर पनि बिस्तार भएको छ।
-तारबारको ब्यबस्थापन
ठाउँको छनोट पश्चात कालिजको लागि तारबार गर्नु पर्छ। वरिपरि मसिनो प्वाल भएको जि आइ तारको जाली लगाउन सकिन्छ भने माथी तर्फ बलियो नेट लाएर खुल्ला ठाँउलाइ सुरक्षित पार्नु पर्छ। कालिजले खेल्ने ठाउँमा मुसा वा सर्पको डर हुने भएकाले सुरुमा नै बिषादी छर्केर सुरक्षित पार्नु पर्छ। कालिज रातिमा पनि बाहिर नै बस्ने भएकाले जंगलको नजिक भएको फार्ममा चितुवा, स्याल जस्ता जंगली जनावरको आक्रमण हुन सक्ने भएकाले जाली बलियो हुनु पर्छ र रातिमा जालिमा झड्का दिने खालेको करेन्ट पनि जोड्न सकिन्छ। चरालाइ उडेर बस्नको लागि जाली भित्र बासका हागालाइ गाडेर राख्नु पर्छ।
-खोर निर्माण र ब्यबस्थापन
चल्ला ल्याउनु पुर्ब नै हामिले खोरको निर्माण गरिसक्नु पर्ने हुन्छ। हामिलाइ मुख्यतः ३ प्रकारका खोरहरु आवश्यक पर्दछ्न,
१. ब्रुडिङ ( Brooding) खोर
ब्रुडिङ भन्नाले भर्खर जन्मिएका चल्लालाइ माउले जसरी तातो बनाएर राख्ने प्रक्रिया बुझिन्छ। यो एकदिन देखि करिब २/३ हप्ता सम्मका चल्लालाई आवश्यक पर्द्छ। ब्रुडिङ गर्ने ठाउँ गोलो हुनु पर्छ उदाहरणका लागि गाउँ घरमा पाउने भकारीलाई प्रयोग गर्न सकिन्छ। जसमा बजारमा पाउने आधुनिक ब्रुडर वा इन्फ्रा रेड बल्ब प्रयोग गर्न सकिन्छ। ब्रुडिङमा चल्लालाइ ३० डिग्री सेल्सियस भन्दा कम तापक्रममा राख्नु हुदैन भने ३५-३७ डिग्री सम्ममा राख्न सकिन्छ।
ब्रुडिङमा तापक्रमको ब्यबस्थापन
– यदि गर्मी भएमा चल्लाहरु बल्ब देखि टाढा बसेका हुन्छ्न भने चिसो भएमा बल्बको मुनि आएर एक अर्कामा चडेर बस्दछ्न। ब्रुडिङमा कम तापक्रम भएमा चल्लाहरु एक अर्को माथी च्यापिएर मर्न सक्छ्न भने बढि तापक्रम भएमा गर्मीले मर्न सक्छ्न।यो कुराको बेला बेलामा आफुले आएर चेक जाँच गर्नु पर्छ र सोही अनुसार तापक्रम कम र बढि गर्नु पर्छ। ब्रुडर वा बल्बलाइ जमिन देखि चल्लाहरुले नपुग्ने उचाईमा (१५-२० इन्च) झुन्ड्याउनु पर्छ। तापक्रम चेक गर्न खोरमा एउटा थर्मोमिटर पनि झुन्ड्याउन सकिन्छ।
ब्रुडिङमा चल्लाको लागि जुटको बोरा वा काठको धुलो जमिनमा बिछ्याइएको हुनु पर्छ जसले जमिनबाट आउने चिसोबाट बचाउछ। कालिजको चल्लाको लागि धानको भुसको प्रयोग नगर्न नै सल्लाह दिने गरिन्छ। धानको भुस चल्लाले खाएर घाटिमा अडकिने प्रबल संभावना हुन्छ। चल्लालाइ खानको लागि नाङ्लो वा पत्रीकामा दानालाइ मसिनो पारेर छर्किदिनु पर्छ भने पानीको पनि उचित ब्यबस्थापन हुनु पर्छ।
२. चल्ला हुर्काउने खोर
यो करिब २ हप्ताको चल्लालाइ ब्रुडिङबाट निकाले पछि राख्ने खोर भनेर बुझिन्छ। यहा पनि हामिले खोरमा बल्बहरु झुन्ड्याउने गर्नु पर्छ जसले चिसोबाट चल्लालाई बचाउछ। यहाँ करिब २ हप्ता देखि ३० दिन सम्म चल्लालाइ राखिन्छ। यो खोर प्राय ब्रुडिङ खोरको नजिकै हुनु पर्छ र यसको बाहिर तिर जालिले बारेको खुल्ला ठाउँ हुनु पर्छ। जसमा चल्लाहरु ३० दिन देखि ४५ दिन सम्म दिनमा बाहिर निस्कने र रातमा खोरमा गएर बस्न जान्छ्न।
३. प्रजनन खोर
यो खोर भन्दा पनि हामिले चरा खेल्नलाई बनाएको जालिले घेरेको ठाउँ भित्र एउटा जालिले छुट्याइएको भागलाइ वनाउन सकिन्छ। जहाँ बयस्क भाले र पोथिलाइ छोडेर यिनिहरुको प्रजनन गराइन्छ। यसमा ८ पोथी र १ भालेको अनुपातमा चराहरु राख्न सकिन्छ।
-दाना र पानीको ब्यबस्थापन
दाना: कालिजको लागि आज सम्म छुट्टै दाना भनेर बजारमा आइसकेको छैन (तर नेपालका केही ठुला कालिज फर्महरुले अब छिट्टै कालिजको दाना बजारमा ल्याउने कोसिस गरिरहेको बताएका छन)
यसको लागि अलि बढी प्रोटिन भएको (करिब २६-३०%) दाना कम्पनिसङ कुरा गरेर बनाउन लगाउन सकिन्छ। दाना दिनको लागि माथी तिर छाता भएको फिटरको प्रयोग उचित मानिन्छ।
कालिजले दानामात्र नभएर घाँस र किराहरु पनि रुचाउने गर्छ। यसको लागि घाँस उम्रने/ उम्रेको खुल्ला अलि भिरालो ठाउँलाई चयन गर्नु पर्छ। किराको लागि राती सेतो प्रकाश दिने बत्ती बाल्न सकिन्छ। घाँस उम्रेको भागलाइ हामीले जाली लाएर २ भागमा छुट्याउन सकिन्छ जस्मा कालिजलाइ पालो पालो गरेर चराउन सकिन्छ।
पानी: कुखुरा र चरामा लाग्ने धेरै रोगहरु पानी र दानाको कारणले देखा पर्छ्न तसर्थ पानी सफा र स्वस्थ हुनु पर्छ। यसको लागि फिल्टरको प्रयोग गरेको पनि पाइन्छ। कालिज ५० वटालाइ एक फिडर र एक पानीदिने भाडो को अनुपातले राख्न सकिन्छ। कालिजको प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले यसलाइ कुनै पनि Antibiotics खुवाइदैन तर टाढाबाट चल्ला ल्याइदैछ भने चल्लालाइ पानी दिदा त्यसमा ग्लुकोजको प्रयोग गर्न सकिन्छ।
-कालिजको प्रजनन र बजार
कालिजलाइ करिब ५-७ महिना सम्म पाले पछि यसलाइ बजारिकरण गर्न सकिन्छ। कालिजको प्रजनन समय फाल्गुनसको सुरुवात देखि असारको अन्तिम सम्म हो। यो अवधिमा कालिजले करिब ६०-७० अण्डा दिने गर्द्छ। यो अवधिमा कालिजको भालेर र पोथिलाइ अनुपात मिलाएर प्रजनन खोरमा राखिदिनु पर्छ। कालिजले आफ्नो अण्डालाइ माटो खनेर वा अलि खाल्डो परेको ठाउँमा पार्दछ। कालिजको अण्डा घाम परे पछि वा पानीले भिजे पछि बिग्रन्छ त्यसैले जति सक्दो चाडो अण्डालाइ सङकलन गरेर सुरक्षित राख्न पर्छ।
कालिजको अण्डाको बजार मूल्य ठाउँ अनुसार रु ७०० देखि रु ७५० छ। एउटा बयस्क कालिजको तौल करिब १ किलो देखि १.५ किलो सम्म हुन्छ जसको अहिलेको बजार मुल्य रु २५०० देखि रु ३५०० सम्म छ। कालिजको चल्ला उत्पादन हामिले कृतिम तरिकाले इन्कुबेटर मेसिनमा राखेर गरिन्छ जसबाट चल्ला निस्किन करिब २६-२८ दिन लाग्छ। मेसिनमा राखिने अण्डाहरु ताजा, भाले लागेका र नफुटेका हुनु पर्छ।
-चल्लाको मूल्य:
नेपालमा कालिजको चल्लाको मूल्य निर्धारण गर्ने कुनै निकाय नभइकाले यसको मुल्य ठाँउ अनुसार भिन्न र परिबर्तन भइ रहन्छ। सरदर कालिजको एकदिने चल्लालाइ रु. १००० देखि सुरु हुन्छ भने एक हप्ता, एक महिना बढदै जादा चल्लाको मुल्य रु २५०० सम्म पुगेको पाइन्छ।

-केही महत्वपूर्ण कुरा

कालिज नरभक्षी चरा भएकाले यसले अरु कम्जोर चल्लालाई आक्रमण गर्छ। एकदिन देखि ४५ दिन सम्म यो कुराको बिशेष ध्यान दिनु पर्छ किनकी यो बेलामा चल्लाले आफ्नो सुरक्षा गर्न सक्दैनन यस बाट बचाउन पहिलो पटक चल्लालाई एक हप्ताको उमेरमा २०% चुच्चो डाम्ने( Ironing) गरिन्छ। करिब ७-८ हप्तामा पनि कालिजलाई फेरि दोस्रो पटक चुच्चो डाम्ने वा काट्ने गरिन्छ। यसको लागि तपाइले नजिकैको एग्रो भेटमा वा बिज्ञसङ सम्पर्क गर्न सक्नु हुन्छ। चुच्चो काट्न सम्भव नभएमा Beak mask को पनि प्रयोग गर्न सकिन्छ।कृषि प्रेसकोसहयोगमा