सिपाडोलस्थित गाई फार्ममा खुकुरी प्रहार गरी एकको हत्या

0
358

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित गाई फार्ममा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोलुखुम्बु घर भई हाल मनोहरा सुकुम्बासी बस्तीमा बस्ने अन्दाजी २० वर्षीय ईश्वर राईको बिहीबार हत्या गरिएको हो ।
राईको हत्या आरोपमा भक्तपुर प्रहरीले काठमाडौंका कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटार स्थायी घर भई हाल सर्यूविनायक नपा ८ सिपाडोलस्थित गाईफार्ममा बस्दै आएका २० वर्षीय आशिष खुलाललाई पक्राउ गरिएको छ ।
मृतक राई र प्रहरीले नियन्त्रणमा लिएका खुलाल साथी–साथी रहेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार राई साथी खुलाललाई भेट्न भनी अरु दुई साथी लिएर बिहीबार सिपाडोलस्थित गाई फार्ममा आएका थिए । उनको साथमा महोत्तरी घर भई हाल मनोहरा सुकम्बासी बस्तीमै बस्ने युनिस योञ्जन र सुनिल बल गाईफार्म पुगेको प्रहरीले जनाएको छ ।

आशिष खुलालका बाबु गोकुल बहादुरले स्थानीय कविराज बस्नेतको जग्गा भाडामा लिएर जस्ताको टहरा बनाई गाईफार्म सञ्चालन गर्दै आएका थिए । आमाबुबासँगै गाईफार्ममा बस्दै आएका आशिषलाई भेटेपछि चारजना युवाहरु गाईफार्मको एक कोठाभित्र पसेका थिए । भित्रबाट चुकुल लगाएर कुराकानी गर्ने क्रममा आपसी विवादबीच आशिषले ईश्वरमाथि खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
ईश्वरमाथि खुकुरी प्रहार भएपछि युनिस र सुनिल झ्यालबाट भाग्न सफल भएका थिए । उनीहरु दुवैजना सम्पर्कमा नआएको उनको भनाइ थियो । उनीहरु सम्पर्कमा नआएकाले उनीहरुसमेत घाइते भए नभएको खुल्न बाँकी रहेको बुझिएको छ ।
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार साथीलाई खुकुरी प्रहारपछि भाग्दै गरेका आशिषलाई प्रहरीले चारैतिरबाट घेरा हाली तत्कालै नियन्त्रणमा लिएको थियो ।
‘गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एउटा युवकको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको छ भन्ने सूचना प्राप्त हुनासाथ नजिक गस्तीमा रहेको प्रहरी टोली र महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी नायब उपरीक्षक राजेश थापाको टोलीले घेराबन्दी गरी अभियुक्तलाई तत्कालै नियन्त्रणमा लिन सफल भएका हौं’, उनले भने ।
लगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापासमेत घटनास्थल पुगेर अनुसन्धान गरेकी थिइन् । अनुसन्धानको क्रममा जस्ताको टहरामा भित्रबाट चुकुल लगाएको हुँदा चुकुल फुटाई हेर्दा झ्याल खुला रहेको र भूईमा धारिलो हतियारले घाँटी, टाउकोलगायतका स्थानमा काटेको अवस्थामा राईको लास फेला परेको थियो ।
‘गाईफार्मको टहराभित्रबाट चुकुल लगाएर चारैजना बसी कुराकानीको क्रममा वादविवाद भई झैझगडा हुँदा आशिष खुलालले कोठामा भएको खुकुरीले ईश्वर राईलाई प्रहार गर्न थालेपछि युनिस र सुनिल झ्यालबाट भाग्न सफल भएको देखिन्छ’, प्रहरी नायब उपरीक्षक गिरीले थपे, ‘ईश्वर राईको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।’
प्रहरीका अनुसार लागूपदार्थको विषयमा विवाद हुँदा आशिष र ईश्वरबीच झैझगडा भएको थियो । प्रहरीले उनीहरुलाई लागूपदार्थसम्बन्धी मुद्दामा यसअघि पनि नियन्त्रणमा लिने र छाड्ने गर्दै आएको बुझिएको छ ।
प्रहरीले घटनास्थलमा रगत लागेको खुकुरी फेला परेको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।