काँग्रेसमा साढे सात लाख क्रियाशील सदस्यता ‘इन्ट्री’

0
16

काठमाडौँ । नेपाली काँग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गते बसेको बैठकले अन्तिम पटकका लागि जिल्ला कार्यसमितिहरुले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि यही वैशाख १५ गतेसम्म निर्धारण गरेको थियो ।

निर्धारित समयको राति १२ बजेसम्म वेबसाइटमा सात लाख ५३ हजार ३४४ क्रियाशील सदस्यता ‘इन्ट्री’ भएको र त्यसमध्ये नयाँ तीन लाख ८९ हजार ४५१ तथा नवीकरण तीन लाख ६३ हजार ८९३ रहेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले  जानकारी दिए । पार्टीको निर्णयअनुसार नै वैशाख १५ गते राति १२ बजे कम्प्युटर सफ्टवेयरमा क्रियाशील सदस्यताको ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द भएको छ ।

कतिपय जिल्ला कार्यसमितिले राति १२ बजेसम्म पनि क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ गरिरहेको र समयावधि थपका लागि आग्रह गरे पनि ‘सिस्टम’ स्वतः बन्द भएको उनले बताए । क्रियाशील सदस्यता ‘इन्ट्री’ गर्दागर्दै बाँकी रहेका जिल्ला कार्यसमितिका हकमा केन्द्रबाटै केही गर्न सकिने सचिव रिजालले बताए ।