मुस्ताङमा भारतीय जम्वो टोली चलचित्र छायाङ्कनमा, स्थानीयको विरोध

0
88

मुस्ताङ । कोरोना भाइरसको उच्च जोखिम र यसको नियन्त्रणका लागि सरकारी मापदण्डलाई ठाडो चुनौती दिँदै बैशाख १६ गतेदेखि भारतीय जम्बो चलचित्र छायाङ्कन टोली मुस्ताङमा छ । भारतमा कोरोनाको जोखिम उत्कर्षमा पुगेका बेला भारतीय चलचित्रकर्मी मुस्ताङ आएपछि स्थानीयबासीमा कोरोनाको त्रास बढेको पाइएको छ ।

सूचना तथा संञ्चार मन्त्रालयको अनुमति लिएर मुस्ताङमा छायांकन गर्न आएको बताउने उनीहरुले खुलेआम मुस्ताङमा छायांकन गरिरहेका छन् । मुस्ताङमा भारतीय चलचित्र छायांकनका लागि आएको उक्त टोलीमा करिव ५०, ६० जना छन् ।

जसमा ४, ५ जना नेपाली कलाकार पनि छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जम्बो भारतीय चलचित्रकर्मीको टोलीले संञ्चार मन्त्रालयको अनुमति लिएको र चलचित्र छायांकनलाई सरकारले रोक लगाइनसकेकाले जिल्ला प्रवेशको अनुमति दिएको बताएको छ ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले भारतीय चलचित्रकर्मी टोलीलाई गाउँबस्तीमा नभइ बस्ती भन्दा पर छायांकन गर्नुपर्ने सुझाएको बताए ।

निकै महंगो लागतको सिनेमास्कोप उक्त भारतीय चलचित्रको छायांकन टोलीले मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, स्याङ, मार्फा, टुकुचे, ढुम्बाताल र नाउरिकोट लगायत गाउँमा सुटिङ गर्ने जनाए पनि कोरोना जोमिखका कारण स्थानीयले सुटिङ गर्न दिएनन् ।

स्थानीय प्रशासनले बस्तीदेखि टाढा भने पनि उनीहरु बस्ती नजिकनै सुटिङ गर्न चाहन्थे । तर प्रत्येक गाउँहरुमा गाउँलेको अवरोधपछि उनीहरुले निर्धक्क सुटिङ गर्न नसकेको बताउँछन् । मुस्ताङको घरपझोङ—३ पुथाङ एयरपोर्टको दुई वटा होटलमा बसेका उनीहरुले सुटिङमा एक बस र ५ वटा स्कर्पियो गाडी भाडामा लिएका छन् ।

आफूहरु पीसीआर रिपोर्ट समेत लिएर आएको बताउने उनीहरुले सुटिङ स्थलमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड समेत पालना नगरी बेवास्ता गरेको स्थानीय बताउँछन् । स्थानीयले पर्यटन प्रर्वद्धनमा चलचित्र छायांकनले महत्वपूर्ण टेवा पुर्‍याउने भनिए पनि कोरोना माहामारीको यो समयमा सबै खाले पर्यटकीय गतिविधि रोकिनु पर्ने तर्क गरेका छन् ।

कोरोनाकै कारण बिहीबार मुस्ताङमा एक महिलाले ज्यान गुमाइन् भने जिल्लामा अझै १२ जना सक्रिय संक्रमित छन् ।

केही साताअघि ग्रीन जोन कायम रहेको मुस्ताङमा पर्यटकीय गतिविधि बढेसँगै कोरोनाको जोखिम बढेको थियो । चैते दशैँ, औँशी, नयाँ वर्ष र रामनवमी पर्व लगायतमा सयौं धार्मिक पर्यटक मुस्ताङ भित्रिएका थिए । जसका कारण पनि मुस्ताङमा कोरोना जोखिम बढेको अनुमान छ ।