भक्तपुरमा कोरोनाबाट मर्नेको संख्या १३५ , ११ हजार ७ सय ४५ संक्रमित

0
0

भक्तपुर ।

भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा पछिल्लो २४ घण्टामा तीन पुरुष र एक महिला गरी ४ जनाको मृत्यु भएको हो ।

यससँगै भक्तपुरमा संक्रमणको कारण मर्नेको संख्या एकसय ३५ पुगेको छ । जसमा ८८ पुरुष र ४७ जना महिला रहेका छन् ।
कार्यालय प्रमुख कृष्ण मिजारले संक्रमित थप एक पुरुषको मृत्युसँगै भक्तपुर नपाका ४८ जना संक्रमितको मृत्यु जानकारी दिए । यहाँका ३१ पुरुष र १७ महिलाले कोरोनाको कारण ज्यान गुमाएका हुन् ।

भक्तपुरका चार नपामध्ये कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी भक्तपुर नपाकाले ज्यान गुमाएका छन् ।
भक्तपुर नपापछि मध्यपुर थिमि नपाका ४६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । मध्यपुर थिमि नपाका ३१ पुरुष र १५ महिलाले ज्यान गुमाएका छन् ।

सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ जनाले संक्रमणको कारण ज्यान गुमाउँदा चाँगुनारायण नपाका ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमित एकहजार ८ सय ३१
भक्तपुरमा सक्रिय संक्रमितको संख्या एकहजार ८ सय ३१ जना पुगेका छन् । नयाँ २ सय ३० जना थपिएसँगै यहाँ सक्रिय संक्रमितहरुको संख्या एकहजार ८ सय ३१ पुगेको हो । जसमा ९ सय ९८ पुरुष छँदा ८ सय ३३ महिला रहेका छन् ।
भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा ६ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।
मध्यपुर थिमिपछि सूर्यविनायक नपमा ५ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य कार्यालय प्रमुख मिजारका अनुसार भक्तपुर नपामा ३ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । चाँगुनारायण नपामा भने दुईसय ८ जना सक्रिय संक्रमित रहेको उनले बताए ।
उनका अनुसार सक्रिय संक्रमितमध्ये ४८ पुरुष र ५० महिला गरी ९८ जना अस्पतालको आइसोलेसनमा रहेका छन् । त्यस्तै ९ सय ५० पुरुष र ७ सय ८३ महिला गरी एक हजार ७ सय ३३ जना होम आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरमा संक्रमितको संख्या ११ हजार ७ सय ४५ पुगेको छ । जसमध्ये ५ हजार ४ सय ९९ पुरुष र ४ हजार २ सय ८० महिला गरी ९ हजार ७ सय ७९ जना डिस्चार्ज भएका छन् ।