कुवेत र यूएईमा नेपालीलाई प्रवेश गर्न रोक

0
6

काठमाडौं । नेपाली कामदारका लागि खाडी क्षेत्रका आकर्षक श्रम गन्तव्यमूलक युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । हाल नेपालमा बढ्दो कोरोना महामारीलाई मध्यनजर गर्दै यूूएई र कुवेतले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यसैगरी, यी मुलुकले नेपालबाट उड्ने अन्तर्राष्ट्रिय विमानलाई पनि ट्रान्जिटमा प्रतिबन्ध लगाइएको छ । कार्गो उडान भने सुचारु रहनेछन् । यूएईको ‘नेसनल इमर्जेन्सी क्राइसेस एन्ड डिजास्टर मेनेजमेन्ट अथोरिटी’ले गत सोमबार यस्तो निणर्यको घोषणा गरेका थिए । यूएईले नेपालबाट प्रवेश गर्ने आफ्ना नागरिकलाई भने प्रवेशमा प्रतिबन्ध लगाएको छैन ।

यसैगरी, कूटनीतिक मिसन, सरकारी पदाधिकारी, गोल्डेन भिसा तथा व्यक्तिगत विमान भएका व्यक्तिलाई पनि आफ्नो मुलुक पस्न रोक लगाएको छैन । नेपालबाहेक यो नियम श्रीलंका, पाकिस्तानी तथा बंगलादेशीलाई पनि लागू हुने यूएई सरकारले जनाएको छ । नेपालसँगैको भारतीय नागरिकलाई भने यूएई सरकारले यसअघि आफ्नो देश प्रवेशमा नै प्रतिबन्ध लगाइसकेको छ ।

नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्य मुलक कुवेतले पनि नेपालमा पछिल्लो समय बढिरहेको ‘नयाँ भेरियन्ट’को कोरोना महामारीलाई मध्यनजर गर्दै अनिश्चितकालका लागि प्रतिबन्ध लगाउने निणर्य गरेको बताएको छ ।

कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले अर्काे सूचना जारी नभएसम्मका लागि नेपालसहित पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट हुने सिधा हवाइ उडान स्थगित गरी आफ्नो मुलुक पस्न नदिने निर्णय गरेको हो ।

अत्यावश्यक तथा कूटनीतिक भिसा भएकालाई र कम्तीमा १४ दिन बाहिर बसेर कुवेत प्रवेश गर्न चाहनेलाई भने रोक नलगाइएको कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले जनाएको छ । यसैगरी, कुवेतले नेपाललगायत प्रतिबन्ध लगाइएका देशबाट हुने कार्गाे उडान भने नरोकिने बताएको छ ।