कागलाई बेल पाक्यो हर्ष न बिष्मात

0
37

० कृष्ण प्रजापति
भनिन्छ, काग प्राणी मध्येको पनि चलाक, चतुर र धूर्त । उनले टाढा टाढाबाटै चलाखी गरिसक्छन् । अत्यन्तै चलाक पंछिको नाम लिनु पर्दा काग सम्झने गर्दछन् । तर जंगलमा गुलियो खालको बेल कर्मको लागि अनिवार्य फल बेल पाक्दा पनि कागलाई भने कुनै मतलब नै हुँदैन । कवाले बेललाई फोरेर खान नसक्ने भएकोले उनलाई त्यसको मतलब नभएको हो । त्यसैले नेपाली उखान अत्यन्तै प्रचलनमा आएको छ, कागलाई बेल पाक्यो हर्ष न बिस्मात । आज केपी शर्मा ओली फेरि एक पल्ट देशमा प्रधानमन्त्री नियुक्त हुनु भएको छ । सारा संसार कोरोना भाइरस कोभिड १९ को महामारीका कारण आक्रान्त भएर नेपालमा दैनिक हजारौं मानिसहरु संक्रमित भइरहेको र सयौं मानिसको ज्यान गइरहेको महामारीको बखत सत्ता परिवर्तन, सत्ता प्राप्ति र सत्तामा आएको नयाँ खाले खेलले पनि त्यसैगरी कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने झैं भइरहेको छ । हेर्दै केही गर्ला जस्तो गरी दल बदल, स्वतन्त्र उम्मेदवारलाई राष्टिय सभाको सदस्यमा निर्वाचित गर्ने अमर्यादित कार्य भएर पनि सत्ता भने केपी ओलीको हातबाट फुस्कनै सकेन । त्यसैले यो बखत काग आज नेपाली जनता हो वा केपी ओली जस्ता अति चतुर, छतुर, जतुर प्राणीहरु हुन् मूल्यांकन गर्ने बेला भएको छ ।
केपी ओलीले पहिला नै मन्त्रीमडलको बैठकमा एक पल्ट भनिसकेको कुरा हो । आफूले जस्तो विचार गरिरहेको हो, आज सोही अनुरुप देश चलिरहेको छ । मिठाई खाए हुन्छ । आज देश त्यसरी नै चलिरहेको छ । संविधानका विभिन्न धारा, उपधारा प्रयोग गरी केपी ओलीको स्थानमा माधव नेपाल, प्रचण्ड वा शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि आखिर चुच्चे ढुंगो उहीं टुंगो भने झैं केपी ओली नै प्रधानमन्त्री हुन पुग्यो । यो समयमा सरकारमा गएकाले पनि राम्ररी काम गर्न सकिरहेको छैन । न त सरकारमा जान लालायित प्रतिपक्षी दलहरुले नै जनताको लागि सही, राम्रो कार्य गर्न सकेका छन् । भन्न त नेपाली कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति र कार्यकर्ता पंक्ति प्रयोग गरी कोभिड १९ कोरोना भाइरस रोकथामका लागि अभियान सञ्चालन गर्ने भनी घोषणा गरेको थियो । तर आफ्नो हातमा सत्ता प्राप्त हुने खालको सम्भावना मात्रै तेर्सिएको बखत त्यस्ता जनसेवाका सम्पूर्ण कार्यहरुलाई पन्छाएर शेरबहादुर देउवा हतार हतार दौरा सुरुवाल लाएर सितलनिवासतिर दौडन पुग्यो । सत्ता प्रतिको मोहले कहिल्यै छोडेन ।
यसरी सत्ता परिवर्तन गर्ने, बहुमतीय आधार छोडेर प्रधानमन्त्री फेर्ने गरी विभिन्न राजनीतिक दलहरुले प्रधानमन्त्री बन्नको लागि गरेको निर्लज्य खिचातानी भन्दा प्रधानमन्त्रीले पहिला नै घोषणा गरे झैं निर्वाचनमा जानु सबैभन्दा राम्रो मार्ग स्पष्ट भएको थियो । तर त्यसो हुन नसकिरहेको बखत पुनः केपी ओली अन्तरिम प्रधानमन्त्री हुन पुग्यो र पुनः एक पल्ट निर्वाचनको लागि कार्तिक २६ गते र मंसीर ३ गते मतदान गर्ने घोषणा भयो । यसरी नेपाली जनताले चाहे पनि नचाहे पनि एक दिन निर्वाचन नगरी नहुने अवस्था आएको छ । कोरोना भाइरस कोभिड १९ महामारी चालू रहेको बखत हुलकुल गरी निर्वाचनको प्रचार प्रसार गर्नु कतिको घाटक हुने हो त्यो कुरा एकातिर छँदैछ । अर्कोतिर नयाँ सरकार बनाउन, नयाँ जनादेश लिनको लागि वा ताजा जनादेशले देश सञ्चालन गर्नको लागि भने निर्वाचन भन्दा अन्य विकल्प नै रहेन । होइन भने पहिला २०५६ साल पछि माले, एमाले अलग्ग भएर थप तनाब उत्पन्न भएको बेला कहिले शेरबहादुर, कहिले लोकेन्द्रबहादुरको अल्पमत दलको प्रधानमन्त्री भए झैं अब अहिले पनि राजनीतिमा अन्यौलको स्थिति आउन सक्दछ ।
हाम्रो देशमा हाल माझीहरुको सल्लाहले दश गाउँ दुब्यो भने झैं एकातिर देश कोभिड १९ कोरोना भाइरस महामारीको कारण स्वास्थ्य संकट अवस्था लागू गर्नु परिरहेको छ । सत्ताशीन राजनीतिक दलहरु बीच भने को प्रधानमन्त्री हुने कहिले आफू प्रधानमन्त्री हुन सक्दछ भन्ने मात्रै ध्यान राखेर राजनीतिक अभ्यास गरिरहेको छ । राजनीति देश र जनताको सेवाको लागि गर्नु पर्ने थियो । तर जनताको भावना रोगसंग लडेर कहिले मुक्त हुन सकिएला भने जस्तो भइरहेको छ । राजनीतिक पार्टीहरु भने आपसमा कसलाई कुन पदमा पुर्याउने, कसलाई रिझाएर राजदूत बनाएर भएपनि मन्त्रीमण्डलमा आफूहरु मात्रै रहेर सत्तालाई लामो समयसम्म टिकाउने भन्ने कुरा हेरिरहेका छन् । जनमत संग्रह, आम निर्वाचन वा कुनै पनि खालको जनताको कुरा सुनाउने अवसर बनाउने भनेको राम्रो कुरा हो । त्यसको लागि भ्रष्टाचार गरेर कमाउने गरेको रकमको केही प्रतिशत मात्रै लगानी गरे पनि पुग्ने हुन्छ । चुनाव भएपछि भाऊ बेसा बढ्ने गर्दछ । तस्करहरुले चन्दा दिने कारण अब नेपाली जनताको काँढमा ऋणको भारी बढ्ला भनेर पनि सोचेको हुन सक्दछ । तर यी सबै कुराहरु मिथ्या हुन् ।
कोभिडबाट देशलाई निकास दिनसक्ने राजनीतिक पार्टीलाई मतदान गर्न आज नेपाली जनता लालायित हुनु पर्ने अवस्था छ । आजको सबै भन्दा ठूलो समस्या भनेको यही कोभिड १९ कोरोना भाइरस महामारी हो । यहाँ अस्पताल बनाएर, निःशुल्क उपचार कसले गर्ने हो उनलाई मतदान गर्नु पर्दछ । शिक्षा, स्वास्थ्य जस्ता जनताका आधारभूत चीजहरुलाई शुल्क नलिइकन काम सम्पन्न गरिदिनेलाई मतदान गर्नु पर्दछ भनेर चुनावमा प्रचार गर्नु आवश्यक छ । हिजो राजनीतिक सुझबुझ गर्नु भन्दा पनि बिजुली, सडक बनाइ दिने जस्ता खाली बिकासे आश्वासन दिएर सांसदहरु सदनमा जित्ने गरेका थिए । आज यस्तो अवस्था रहेन । विकास, निर्माण र अन्य क्रियाकलापहरु भन्दा पनि प्राण नै ठूलो भइरहेको छ । आफ्ना छरछिमेक आफ्ना दाजुभाइहरु र संगसंगै रहेका साथीहरु समेत लखतरान भएर बितिरहेको यो समयमा कोभिडलाई पनि निर्वाचनसंग जोड्नु पर्ने भएको छ । राष्टिय सभाको निर्वाचन जस्तै अस्वस्थ राजनीति हुनु हुन्न ।
जान्ने बुझ्ने विद्धानहरुले देशमा जति भ्रष्टाचार हुने हो, त्यसको सय भागको एक भाग मात्रै खर्च गरे पनि निर्वाचन राम्ररी सम्पन्न गर्न सकिने मत राखेका छन् । यसरी हेर्ने बखत भ्रष्टाचारमा चुर्लुम्म दुबेको देशलाई पुनः सवल र सक्षम रुपमा अगाडि लान पनि अवश्य पनि नयाँ सरकार, ताजा जनादेश र आम निर्वाचन आवश्यक रहेको छ । घुमी फेरि आएपनि पुनः एक पल्ट वर्तमान केपी शर्मा ओलीको सरकारले निर्वाचनको घोषणा गरेको छ । माघ ५ गते भएको बैशाख १७ र २७ को चुनाव घोषणा जस्तै अदालत वा कुनै निकायले बदन नगरी सारा राजनीतिक पार्टी आउँदो कार्तिक २६ र मंसीर ३ गते हुने निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन पाएको खण्डमा ताजा जनादेशको लागि त्यो भन्दा अरु राम्रो केही हुँदैन ।