सूर्यविनायक नगरपालिकाले निर्माण गर्यो परिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि

0
50

भक्तपुर। सूर्यविनायक नगरपालिकाले परिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरी कार्यान्वयन गर्न लागेको छ । कोरोनाको दोस्रो लहरको सङ्क्रमण फैलिरहेकाले विद्यालय तथा नगरस्तरिय परिक्षा तोकिएको मितिमा सञ्चालन हुन नसक्ने भएपछि नगरपालिकाले परिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरी कार्यान्वयन गर्न लागेको हो ।
कोरोनाको सङ्क्रमण अनिश्चित भएकाले विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गरी नगरपालिकाको शिक्षा ऐनको दफा ५२ मा भएको व्यवस्था अनुसार नगरपालिकाले कार्यविधि बनाइ कार्यान्वयन गर्न लागेको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।
उक्त कार्यविधि अनुसार सम्बन्धित विद्यालयको प्रधानाध्यापकको अध्यक्षतामा तीन सदस्यीय मूल्याकंकन समितिको व्यवस्था गरिएको छ । उक्त समितिमा सम्बन्धित कक्षा शिक्षक र विषय शिक्षक सदस्य रहने व्यवस्था छ ।
कक्षा १ देखि ७ सम्म विद्यालयले विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्दा २५ प्रतिशत प्रथमः परिक्षा, २५ प्रतिशत अर्धवार्षिक, २५ प्रतिशत प्रयोगात्मक र २५ प्रतिशत निरन्तर विद्यार्थी मूल्याङ्कनबाट नतिजा तयार गरी परिक्षालाई सम्पन्न गर्ने व्यवस्था मिलाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । निरन्तर विद्यार्थी मूल्याङ्कन अन्तर्गत सम्बन्धित कक्षा शिक्षकले प्रत्यक्ष वा भर्चुल माध्यमबाट हाजिर वा उपस्थिति भएको विद्यार्थीलाई ५ नंम्बर गृहकार्य र परियोजना कार्य, कक्षा कार्य र कक्षामा सहभागिता, व्यवहार परिवर्तन र अतिरिक्त वा सक्रिय क्रियाकलापलाई ५÷५ नम्बर प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।
नगरपालिका प्रमुख एवं शिक्षा समितिको संयोजक वासुदेव थापाले कोरोनाको सङ्क्रमणमा तत्काल कमी हुने स्थिति नदेखिएको र विद्यार्थीको परिक्षाको अन्यौतालाई हटाउनका लागि नगरपालिकाले परिक्षा सञ्चालन एवं व्यवस्थापन कार्यविधि निर्माण गरी कार्यान्वयन गर्न लागेको बताउनुभयो ।
कक्षा ८ र ९ को हकमा भने विद्यार्थीहरुको यसअघि लिइएका प्रथम ः त्रैमासिक परिक्षालाई ३०, अर्धवार्षिकलाई ४० परियोजना र गृहकार्य १०, हाजिर १० र कक्षमा सहभागिता ५ र अतिरिक्त क्रियाकलाप ५ गरी १०० पूर्णाङ्कलाई आधार मानिनेछ । प्रयोगात्मक मूल्याङ्कन सम्बन्धित विषय शिक्षकले तयार गरी पेश गरिएका विद्यार्थीको प्राप्ताङक रूजु गरी प्रमाणिकरण गरी अभिलेख सुुरक्षित राख्नुपर्नेछ ।
कक्षा ८ का विद्यार्थीको सम्बन्धित विद्यालयले यस अगाडि नै प्रयोगात्मक परिक्षा सञ्चालन गरी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा पठाएको विवरण फरक नपर्ने गरी सोही अङ्क चडाउनुपर्नेछ । नगरपालिकाले प्रकाशन गरेको सूचन बमोजिकको समयावधिभित्रै मूल्याङ्कन समिति र शिक्षा युवा तथा खेलकुद शाखाले तोकिएको कार्य सम्पन्न गर्नुपर्नेछ ।
नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगर शिक्षा समितिका सदस्य रबिन्द्र सापकोटाले नगरपालिकाले निर्माण गरेको कार्यविधिले नगरपालिका भित्रका सबै विद्यार्थीको शैक्षिक मूल्याङ्कन गरी विद्यार्थीको कक्षा अपग्रेड हुने वातावरण बन्ने बताउनुभयो ।
नगरपालिकाले बनाएको कार्यविधि बमोजिमको कार्य सम्पादन गर्न विद्यालय तथा शिक्षा, युवा तथा खेलकुद शाखाले आवश्यकता अनुसार सम्पर्क एवं समन्वय गर्न सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिकाले स्थानीय तहको निर्वाचनपछि नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने कार्यमा उल्लेख्य सफलता हासिल गर्दै आएको छ ।