चुरे दोहनमा वर्तमान र पूर्व सरकारहरू जिम्मेवार : बिजुक्छे

0
2

भक्तपुर । चुरे दोहनमा वर्तमान र पूर्व सरकारहरू जिम्मेवार रहेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन अनलाइनमार्फत शनिबार सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेले चुरे दोहनमा विदेशी स्वार्थसमेत रहेको बताउनुभयो।

उहाँले चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत भएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।  ‘चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो, यसको संरक्षण गर्नु आवश्यक छ। चुरे दोहनमा पूर्व र वर्तमान सरकारहरू जिम्मेवार रहेको र यसमा विदेशी स्वार्थ रहेको प्रष्ट छ।’

अध्यक्ष बिजुक्छेले ङातापोल्हँ (पाँचतले मन्दिर) र अन्य सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरू मानव जातिको शिल्प, कला र विश्व शान्तिको निम्ति एक महत्वपूर्ण शिक्षालयको रूपमा रहेको बताउनुभयो । कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहँले मुख्य–मुख्य स्मारकहरूबारे अध्ययनलाई निरन्तरता दिनुपर्ने र पुरातत्व सम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो।

नेमकिपाका सचिव प्रेम सुवालले दुईतिहाइ बहुमत प्राप्त सरकारले देश र जनताको सेवा गर्न नसेकेको आरोप लगाउँदै निर्वाचनको माध्यमबाट उनीहरूलाई पराजित गर्नुपर्ने बताउनुभयो। उहाँले जन्मको आधारमा नागरिकता पाएकालाई वंशजको आधारमा नागरिकता दिने अध्यादेश देशको हितमा नभएको बताउनुभयो। काठमाडौं उपत्यका वरपर आधुनिक सहर निर्माण गर्ने सरकारको योजना सन्तुलित विकासको विरोधी रहेको उहाँले धारणा थियो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार अरूको सहयोगमा भर परेर नभई आफ्नै पौरखले सम्पन्न गर्नुपर्ने भावनासहित सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका काम प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जनताकै सहयोग र सहभागितामा मौलिक शैलीमै सम्पन्न गर्न निरन्तर नगरपालिका लागिरहने प्रतिबद्धता व्यक्त गनुभयो ।