महात्मा गान्धीकी पनातिनीलाई अदालतले ७ वर्षको जेल सजाय

0
0

काठमाडौं। महात्मा गान्धीकी पनातिनीलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ । महात्मा गान्धीकी पनातिनी आशिष लता रामगोबिनलाई दक्षिण अफ्रिकाको एक अदालतले ६० लाख रेन्ड जालसाजी गरेको अभियोगमा यो सजाय सुनाएको हो । रेन्ड दक्षिण अफ्रिकाको मुद्रा हो र नेपाली रुपैयाँमा यसको मूल्य करिब ५ करोड १५ लाख रुपैयाँ हुन्छ । सोमबार दर्बनको एक अदालतले ५६ वर्षकी रामगोबिनलाई यो सजाय सुनाएको हो ।

आशिष लतामाथि उद्योगपति एसआर महाराजलाई जालसाजी गरेर पैसा ठगेको आरोप थियो । एसआर महाराजले उनलाई कथित रुपमा भारतबाट एक यस्तो खेप आयातको लागि सीमा शुल्क करको क्लियरिङ वा समाशोधनको लागि ६२ लाख रेन्ड दिएका थिए जसको कुनै अस्तित्व नै थिएन । यसमा उनलाई लाभको एक अंश दिइने पनि भनिएको थियो । आशिष लता नाम चलेकी मानवअधिकारकर्मी इला गान्धी र दिवंगत मेवा रामगोविन्दकी छोरी हुन् ।

समाचार एजेन्सी पीटिआइका अनुसार यो मामिला २०१५ को हो जब आशिष लताविरुद्ध सुनुवाइ सुरु भएको थियो । त्यतिबेला दक्षिण अफ्रिकाको राष्ट्रिय अभियोजन प्राधिकरणका ब्रिगेडियर हंगवानी मुलौदजीले भनेका थिए कि उनले सम्भावित निवेशकहरुलाई विश्वास दिलाउनको लागि कथित रुपमा फर्जी चालान र दस्तावेज दिएकी थिइन् कि भारतबाट लिनेनका ३ कन्टेनर आइरहेका छन् । त्यतिबेला आशिष लतालाई ५० हजार रेन्ड धरौटीमा रिहा गरिएको थियो ।

सोमबार सुनुवाइको क्रममा अदालतलाई बताइयो कि आशिष लताले ‘न्यू अफ्रिका अलायन्स फुटवेयर डिस्ट्रिब्युटर्स’का निर्देशक एसआर महाराजसँग अगस्ट २०१५ मा भेटेकी थिइन् । महाराजको कम्पनीले कपडा, लिनेन र जुत्ता चप्पलको आयात, निर्माण र बिक्री गर्छ । महाराजको कम्पनीले लाभांशको आधारमा अन्य कम्पनीलाई वित्तिय सहयोग पनि उपलब्ध गराउँछ । आशिष लताले महाराजसँग भनेकी थिइन् कि उनले साउथ अफ्रिकन हस्पिटल ग्रुप नेट केयरको लागि लिनेनका तीन कन्टेनर मगाएकी छिन् ।

स्थानीय मिडियामा प्रकाशित समाचार अनुसार आशिष लताको पृष्ठभूमि र नेटकेयरका दस्तावेजलाई मध्यनजर गर्दै महाराजले ऋणको लागि उनीसँग लिखित सम्झौता गरेका थिए । तर पनि उनले जालसाजीबारे थाहा पाएपछि उनले आशिष लताविरुद्ध आपराधिक मुद्दा दर्ता गराएका थिए । आशिष लता इन्टरनेशनल सेन्टर फर नन भ्वाइलेन्स नामक एक गैर सरकारी संस्थाको एक कार्यक्रमकी संस्थापक र कार्यकारी निर्देशक थिइन् जसले आफूलाई पर्यावरण, सामाजिक र राजनीतिक हितको ध्यान राख्ने एक कार्यकर्ताको रुपमा वर्णन गरेकी थिइन् ।

महात्मा गान्धीका कैयौं अन्य वंशजहरु मानव अधिकार कार्यकर्ता छन् । उनीहरुमध्ये आशिष लताका काकापट्टिका दाजुभाइ किर्ति मेनन, स्वर्गीय सतीष धुपेलिया र उमा धुपेलिया मिस्त्री लगायत छन् । आशिष लताकी आमा इला गान्धीलाई पनि विशेष रुपले उनका प्रयासको लागि अन्तराष्ट्रिय स्तरमा पहिचान प्राप्त भएको थियो । भारतका साथै दक्षिण अफ्रिकामा पनि उनलाई राष्ट्रिय सम्मानले पुरस्कृत गरिएको थियो । इला गान्धी महात्मा गान्धीका ४ छोरामध्ये माइला छोरा मणिलाल गान्धीकी छोरी हुन् ।