गण्डकी प्रदेशमा नेपाली मुख्यमन्त्री, मनाङे फेरी मन्त्री

0
40

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जनाएका छन्।

अर्यालले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्।

नयाँ सरकार गठन गर्न बहुमत सहितको दावी पेश गर्न शनिवार दिउसो ३ बजेसम्मको समय तोकिएको थियो।

अर्यालले जारी गरेको विज्ञप्तिमा कृष्णचन्द्र नेपाली पोखरेलको मात्र दावी परेकाले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेको भनिएको छ।

नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एक स्वतन्त्र प्रदेशसभा सदस्य मिलेर मिलीजुली सरकार गठन गर्न लागिएको हो।

राष्ट्रिय जनमोर्चाले भने पूर्वघोषित नीति अनुसार नै सरकारमा सम्मिलित नभै बाहिरबाट समर्थन गर्ने स्पष्ट गरेको छ।

पृथ्वी सुब्बा गुरुङको मुख्य मन्त्रित्वमा रहेको सरकारले प्रदेश सभामा विश्वासको मत लिन विफल भएपछि नयाँ सरकार बन्ने बाटो खुलेको थियो।

वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिवारअपराह्न ३ बजेसम्मको समय दिए पनि प्रदेशसभाका बहुमत ३१ सदस्यको हस्ताक्षरसहित शुक्रवार नै प्रदेश प्रमुख समक्ष उपस्थित भएका थिए।

को हुन् नवनियुक्त मुख्यमन्त्री नेपाली

नवलपरासी पूर्व १ क बाट कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशसभामा निर्वाचित भएका हुन्।

राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्केका ७१ वर्षीय नेपालीको जन्म तनहुँ जिल्लामा भएको थियो।

उनले तनहुँ हुँदै नवलपरासी जिल्लालाई राजनीतिक कर्मथलो बनाएका थिए।

विद्यार्थी कालदेखि नै राजनीतिमा प्रवेश गरेका उनी पटक पटक जेल गएका थिए।

उनी ४ पटक नेपाली कांग्रेसको नवलपरासीको सभापति पनि भएका थिए।

२०७० सालको प्रतिनिधिसभा निर्वाचनमा थोरै मतले पराजित भएका उनी ०७४ सालमा भएको पछिल्लो प्रदेशसभा निर्वाचनमा केही सय मतले विजयी बनेर गण्डकी प्रदेशसभाको सदस्य बनेका थिए।

उनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता थिए ।

नयाँ सरकारका चुनौती

साठी सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सदस्य चाहिन्छ।

नयाँ सरकारलाई समर्थन गर्नेको सङ्ख्या टुपुक्क ३१ मत मात्र छ।

त्यसमा पनि कित्ता परिवर्तन गरेर आएका स्वतन्त्र सदस्य राजीव गुरुङ दीपक मनाङेलाई विश्वासमा लिई राख्नु पर्नेछ।

राजनीतिक रूपमा पनि भिन्न विचार भएका दलहरू मिलेर सरकारले जनताको विश्वास जित्ने गरी काम गर्नु पर्नेछ जबकि राजनीतिक दलहरू सत्तामा गएपछि सहकार्यको संस्कृतिको सर्वथा अभाव देखिँदै आएको छ ।

सरकार गठन हुनासाथ सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्नुका अतिरिक्त असार १ गते प्रदेश सरकारको बजेट पेस गर्नुपर्ने चुनौती पनि नयाँ सरकार समक्ष हुनेछ ।

 

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित चार जना मन्त्रीलाई सपथ खुवाएकी छिन्।

प्रदेश प्रमुख पौडेलले आफ्नै निवासमा शनिबार साँझ मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।

संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुख पौडेलले नेपालीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

मन्त्रीका रुपमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रका मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशहरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले सपथ खाएका छन्।

चारै जना मन्त्री बिनाा विभागीय छन्। मुख्यमन्त्री नेपालीलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ।