विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र भर्ना अभियान थालनी

0
31

भक्तपुर । कोरोना महामारीका कारण बैषाख देखि हुने शैक्षिक क्षेत्र असार १ अर्थात आज देखि सुरु भएको छ । विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको हो । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने सरकारको तयारी स्वरुप आज देखि भर्ना अभियान थालनी भएको छ ।

कोभिड १९ का कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी असार १ देखि भर्ना अभियान शुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको थियो । त्यही कार्यतालिका अनुसार स्थानीय सरकारले महिनाभर भर्ना अभियान संचालन गर्न लागिएको हो ।

यही भर्ना अभियानको समयावधि भित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्नुपर्ने छ । स्थानीय तहहरुले विद्यार्थीको मूल्यांकन नतिजा सार्वजनिक गर्न र भर्ना अभियान सन्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेका छन् ।

कोरोना संक्रमणका कारण अन्य क्षेत्रजस्तै विद्यालयहरु पनि प्रभावित भएपछि शिक्षा मन्त्रालयले नियमावलीलाई संशोधन गरेर शैक्षिक सत्र दुई महिना ढिला गरी सन्चालन गर्ने निर्णय गरेको थियो । अघिल्ला वर्षहरुमा विद्यालयहरुको शैक्षिक सत्र वैशाखदेखि सुरु हुने गर्दथ्यो ।

एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ । सामान्यतया सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करिब दुई सय दिन विद्यालय सञ्चालन हुन्छ ।

कोरोना महामारीको तेस्रो लहर अर्थात बालबालिकामा संक्रमण बढन सक्ने भन्ने आई रहँदा भौतिक रुपमा भने कक्षा संचालन हुन केहि समय नै लाग्ने पञ्चकन्या माविका प्रअ नारायण प्रसाद दुलालले बताउनुभयो । उहाँका अनुसार महामारीका कारण विद्यालय संचालनमा कठिनाई छ । यसलाई सहजिकरण स्वरुप सामुदायिक विद्यालयले पनि अनलाइन मार्फत कक्षा संचालनका लागि सरकारले नै केहि सहजिकण गर्न सके उत्तम हुने थियो ।