भारतीय लिजेन्ड धावक मिल्खा सिंहको निधन

0
26

काठमाडौं । भारतीय लिजेन्ड धावक मिल्खा सिंहको निधन भएको छ । ९१ वर्षीय सिंहको कोरोनाका कारण निधन भएको हो । कोरोनाले थला पारेपछि उनको भारतको चण्डीगढस्थित एक अस्पतालमा उपचार भइरहेको थियो ।

तर पछिल्ला केही दिन कोरोना नेगेटिभ आए पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई अस्पतालमा उपचार गराइराखिएको थियो ।

तर शुक्रबार राति उनले दम तोडे । उनकी पत्नी निर्मल कौरको कोरोनाकै कारण निधन भएको थियो । कौर भारतीय भलिबल टिमकी पूर्व कप्तानसमेत थिइन् । निर्मलको निधन भएको पाँच दिनपछि मिल्खाले पनि दम तोडेका हुन् । उनी गत मे २० देखि पीजीआईएमईआर अस्पतालमा भर्ना भएका थिए ।

मिल्खा एसियायाली खेलकुद र कमनवेल्थ खेलकुदका एकमात्र दक्षिण एसियाली स्वर्णपदक विजेता हुन् । उनले   सन् १९५८ मा जापानको टोकियोमा भएको एसियाली खेलकुदमा २ सय मिटर र ४ सय मिटरको दौडमा स्वर्ण जितेका थिए ।

त्यस्तै उनले सन् १९६२ को इन्डोनेसियाको जकार्तामा भएको एसियाली खेलकुदमा ४ सय मिटर र चार गुणा ४ सय मिटर रिलेमा स्वर्णपदक जितेका थिए । उनको निधनले सिंगो भारत स्तब्ध भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनको शनिबार अन्तिम संस्कार गरिएको छ । उनलाई भारतको सर्वश्रेष्ठ सम्मान पद्मश्रीबाट विभूषित गरिएको थियो ।