सत्ता स्वार्थका लागिं फोहरी खेल

0
24
सन्दर्भ फोटोः सामाजिक संजालबाट

० कृष्ण प्रजापति
हिजोसम्म मुलुकले श्रीपेच सहितका एकजना राजा पाल्दै ठिक्क थियो । आज चार पाँच जना श्रीपेच बिनाका राजाहरुलाई पाल्नु पर्ने बाध्यता छ । त्यसैले पनि सत्तामा कहिले कस्को पालो, कहिले कस्को पाला हुँदै मल्ल कालमा पाटन शहरमा चार प्रधानहरुको पालैपालो शासन सञ्चालन गर्थे भने जस्तो स्थिति कायम हुन पुगेको छ । कहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अनेकौं खालको खेल चलिरहेको देखिन्छ । कहिले माधव नेपाल आफै प्रधानमन्त्रीको दावी गर्दै भाषण छाँटिरहेको देखिन्छ । कहिले उता प्रचण्ड जस्तो योग्य अरु कोही पनि छैन भन्ने जस्तो मनमा आभास दिलाएको पाइन्छ भने केपी शर्मा ओली विकल्प कोही नभएको भन्दै जुन मार्ग अपनाएर भएपनि सत्तामा लेसो जस्तो टाँसिरहने गरेको अवस्था छ । अदालत र राजनीतिक समर्थन पनि उनैलाई भइरहेको अवस्था पनि छ । यसरी नयाँ जनादेशको पालना नभएका कारण वा आफू सानो पार्टी वा ठूलो पार्टी नै भएपनि आखिर आफूहरु प्रधानमन्त्री बन्नकै लागि मात्रै राजनीतिमा होमेको हो भन्ने प्रमाणित गर्ने हेतूले लागेका कारण निहित स्वार्थको लागि सत्ताको दुरुपयोग भइरहेको अवस्था छ । हिजोसम्म आफूले बहुदलीय प्रणाली मान्छौं भनी हिडेका ती नेताहरुले सत्ताको लागि बहुमत, अल्पमत भन्दा पनि जुनसुकै बाटो भएर भएपनि प्रधानमन्त्री पद आफ्नो पोल्टामा पार्ने खालको निहित स्वार्थी खेल मात्रै अगाडि बढाइरहेका छन् ।
यदि सत्ताको भागबन्डामा भाग लिने हो भने वर्तमान सत्ताले गरिरहेका कतिपय गतिविधिहरुको प्रतिपक्षीले बिरोध गर्न नै पाउँदैनन् । प्रतिपक्षीको मूल धर्म भन्नु नै सत्तापक्षले गरिरहेका विभिन्न गतिविधिबारे छलफल गरी बिरोध गर्नु पर्ने स्थानमा बिरोध गर्ने र समर्थन गर्नु पर्ने स्थानमा समर्थन गर्ने नै हो । तर यहाँ त्यसो भइरहेको छैन । आफूलाई सत्तामा भाग पाएको खण्डमा सिद्धान्त छाडेर भएपनि सत्तापक्षले गर्ने गतिविधिलाई समर्थन गर्ने, अनि आफूहरुलाई कुनै खालको आर्थिक लाभ हुने नदेखिएमा राम्रो कामको पनि बिरोध हुने गरिएको छ । शेरबहादुर देउवाको पालामै अनुमोदन भइसकेको सहश्राब्दी चुनौती परियोजना मिनिलियम च्यालेन्ज कर्पोरेशनलाई पारित गर्ने कार्यमा सत्तापक्षी र प्रतिपक्षी पनि एक स्थानमा रहेर त्यसलाई सजिलै पारित गराउन खोज्दैछ । देशलाई भने त्यसबाट कतिको घाटा वा नोक्सान हुन्छ भन्ने कुरा विभिन्न देशमा हाल भोग्न बाध्य भएका मारले थाहा पाउन सकिरहेका छैनन् ।
सत्ताको लागि हानाथाप गर्ने गरेका प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्षको एमाले, जनता समााजवादी पार्टी उपेन्द्र यादव पक्ष, राष्टिय जनमोर्चालाई त्यस्तो बिरोध ब्यक्त गर्ने अधिकार हुँदैन । किनभने उनीहरु सत्तासंग साझेदारी गरेर भएपनि आफू सत्तामा पुगी त्यस्तै खाले काम गर्न उनीहरु पनि लालायित भइरहेकाहरु नै हुन् । यसो हेर्ने बखत चुनाव गरी जनताको ताजा जनादेश लिने प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट धारणालाई बाधा दिने नियतले अंकगणितीय हिसाबले मात्रै बहुमत सांसदहरुको हस्ताक्षर जुराएर यहाँ प्रतिपक्षबाट सत्ताशीन हुने फोहरी खेल चलिरहेको छ । यसबाट राजनीतिक अस्थिरता त कायम नै रहन्छ । साथै राज्यको तर्फबाट जुन दरिलो, बलियो र दृद्ध निश्चित भएर बिरोध गर्नुपर्ने अन्तर्राष्टिय परियोजना जो छ, त्यसलाई पनि अनुमोदन गर्न सहयोग पुर्याउने देखिन्छ । यसो हेर्ने बखत हाम्रो देश भोलिसम्म हाम्रो देश नै भएर रहला भन्ने कुरामा समेत शंका उपशंका उत्पन्न हुने गरेको छ ।
एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज पार्टीको संस्थापन पक्षसंग रुष्ट भएर अलग्ग धार अपनाएर अगाडि बढिरहेका छन् । त्यसबाट देशका थुप्रै प्रदेशहरुमा सत्ता र मूख्यमन्त्रीको हेरफेर हुन पुगेको छ । खेल यतिमै सीमित रहेन । केन्द्र सरकारलाई समेत जरा काटिदिएको हो कि जस्तो भान हुने गरी गतिविधि सञ्चालन हुने गरेका छन् । त्यसैले पनि दोहोरो केपी शर्मा ओलीले सदन भंग गरी पुनः कार्तिक २६ र मंसीर ३ गते निर्वाचनको घोषणा गरिदिएको हो । हुन पनि वास्तवमा यसरी अस्थिर राजनीति सञ्चालन भइरहनु भन्दा त निर्वाचन सबै भन्दा उत्तम उपाय थियो । निर्वाचनमा जसले बहुमत प्राप्त गर्न सक्छ, उसले सत्ता सञ्चालन गर्ने गर्दछ । बहुमत ल्याउन नसक्ने राजनीतिक पार्टी प्रतिपक्षीमा रहेर भएपनि सरकारको आलोचना र बिरोध गरेर भएपनि देशको राजनीतिक मैदानमा आफ्नो हैसियत कायम गरिरहेका हुन्छन् । तर आज प्रतिपक्षीको भूमिका निभाउन कोही पनि तयार भएका छैनन् । चुनाव नजिक आएर पनि हुनु पर्दछ सबै जसो राजनीतिक पार्टीहरु सत्तामा अडिन तम्तयार भइरहेका छन् । त्यसैले पनि माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवा समेत आ आफ्नो बहुमत कसरी बनाउने भन्ने खेलमा मात्रै अल्झेर देशलाई भने बरबाद बनाउने देखिएका छन् । यसै बीच केपी ओलीले जनता समाजवादी पार्टीको एक घटकबाट दश जना मन्त्री बनाएर पनि आफ्नो सत्ता बचाउने प्रयासलाई अदालतले खारेज गरेको अवस्था छ ।
सदा झगडा गरिरहनु भन्दा फुट पनि कल्याणकारी नै हुने गर्दछ । माधव नेपाल यदि केपी शर्मा ओलीसंग मिल्न नसक्ने नै अवस्था छ भने नयाँ पार्टी दर्ता गराउन उनलाई कसैले बाधा सिर्जना गरेको छैन । त्यसो गरेर चुनावमा गएको खण्डमा राजनीतिक स्थिरता कायम राख्ने काममा मदत पुग्ने थियो । आफ्नो हैसियत के हो भन्ने कुरा चुनावमा लडेर देखाउनु पर्दछ । उनलाई सत्ताको लागि भागबन्डा पनि खोज्ने अनि सत्ताको बिरोध पनि गर्ने दुबै काम गर्ने नैतिक अधिकार छैन । सरकारको बिरोध गरी अस्थिरता कायम गरी राख्नु भन्दा स्पष्ट रुपमा आफ्ना मान्छेहरु बटुलेर अलग्ग पार्टी बनाउने कार्य गर्यो भने माधव नेपाललाई कसैले पनि रोक्न आउने छैनन् । देशलाई सदा अस्थिर राजनीतिमा जकडिरहनु भन्दा त चुनावमा जानु सबै भन्दा राम्रो उपाय पनि हो । प्रतिपक्षीले फाइदा लिने भनेको पनि सरकार असफल हुने बखत वा निर्वाचनमा मात्रै हो । त्यसैले निर्वाचन देखेर प्रतिपक्षीहरु डराउनु पर्ने कुनै कारण नै छैन । प्रतिपक्षीलाई मौका वा सत्तारोहणको अवसर प्राप्त हुने भनेकै आम निर्वाचनले नै हो ।
निर्वाचन आयोग तयार भएको खण्डमा आउँदो कार्तिक २६ र मंसीर ३ गते निर्वाचन हुने थुप्रै सम्भावना छ । नेपालमा अन्तर्राष्टिय पात्रो अनुसार पनि नोभेम्बर महिना आकास खुल्ला हुने, पानी पनि नपर्ने, घाम पनि चर्को नहुने राम्रो मौसमको महिना हो । सो बखत केही भयो भने हुन्छ । हिजो आज जस्तो दैनिक रुपमा पानी परिरहेको बखत, नदीमा बाढी आएर पहिरो खसिरहेको बखत निर्वाचन सम्भव हुन्न । न त कृषक बर्गले बाली भित्रयाउने समय आश्विन महिना नै निर्वाचनको लागि उपयुक्त हुने गर्दछ । अहिले पनि संसारका थुप्रै मुलुकहरुमा कोभिड १९ का बाबजुद पनि निर्वाचन सफल भइरहेका छन् । मानिसहरु सुरक्षित भएर निर्वाचनमा भाग लिइरहेका छन् । त्यसैले हामीकहा पनि कोभिड १९ को प्रभाव केही मात्रामा भएपनि कमी आइरहेको यो समयमा निर्वाचन नै उचित बिकल्प देखिन्छ ।