जीवनभर निःसन्तान किन रहे दिलिप कुमार ? १९७२ मा त्यो कालो दिन के भएको थियो ?

0
54

काठमाडौं। बलिउडका दिग्गज अभिनेता दिलिप कुमारले ७ जुलाइमा मुम्बइको हिन्दुजा अस्पतालमा अन्तिम सास लिए । अभिनेताका नजिकका मित्र फैजल फारुखीले ट्वीटरबाट यसको जानकारी दिए ।

अहिले भारत मात्र नभइ भारत बाहिरबाट पनि दिलिप कुमारलाई लगातार श्रद्धाञ्जली दिइँदैछ । तर, दिलिप कुमारकी पत्नी सायरा बानोलाई यो दुःखबाट बाहिर निस्कनु सहज हुने छैन ।

दिग्गज गायिका लता मंगेशकरले एक अन्तरवार्तामा भनेकी थिइन् ‘सायराजीको हरेक सास युसुफ साहब (दिलिप कुमारको वास्तविक नाम युसुफ हो) को लागि हुन्छ ।

मैले आफ्नो पूरै जीवनमा यहाँजस्ती समर्पित पत्नी देखेकी छैन ।’ यस्तोमा दिलिप कुमार नरहेपछि दिग्गज अभिनेत्री सायरा बानोको अवस्था कस्तो होला भन्ने कल्पना पनि गर्न सकिन्न ।

सायरा बानोले दिलिप कुमारसँग विवाह गर्दा उनको उमेर मात्रै २२ वर्ष थियो जबकि दिलिप कुमारको उमेर दोब्बर अर्थात ४४ वर्ष थियो । सायरा जन्मिने वर्ष त दिलिप कुमारले बलिउड डेब्यू गरिसकेका थिए ।

सायरा १९४४ मा जन्मिएकी थिइन् र त्यही वर्ष दिलिप कुमारको पहिलो फिल्म ज्वारभाटा आएको थियो । विवाह गर्ने बेला २२ वर्षकी सायरा करिअरको उत्कर्षमा थिइन् । त्यो समयका सबैभन्दा सफल अभिनेत्रीमध्येकी सायराले विवाह गरेसँगै आफ्नो पूरै फिल्मी करिअर छोडिदिइन् ।

सायरालाई मात्रै २२ वर्षको उमेरमा फिल्मी करिअर छोड्दा कुनै दुःख लागेको थिएन । उनले एक अन्तरवार्तामा यो निर्णय कसैको दबाबमा नभइ आफ्नै इच्छाले गरेको बताएकी थिइन् ।

आफ्नो पूरै ध्यान दिलिप कुमारमा लगाउन र उनको ख्याल राख्न आफूले फिल्मी करिअर छोडेको उनले बताएकी थिइन् ।

दिलिप कुमार र सायरा बानो निसन्तान रहे । यस विषयमा धेरै किसिमका कुराहरु पनि गरिए । केहीले त सायरा बानोमा आमा बन्ने क्षमता नभएकोले यो जोडीले जीवनभर सन्तान सुख नपाएको पनि दावी गरे । तर पछि दिलिप कुमारको जीवनी ‘दिलिप कुमारः द सब्स्टान्स एण्ड द स्याडो’मा यस विषयमा खुलासा भयो ।

यसमा दिलिप कुमार स्वयंले बताएअनुसार १९७२ मा सायरा बानो गर्भवती थिइन् तर ८ औं महिनामा उच्च रक्तचापका कारण उनको बच्चा खेर गयो, डाक्टरले बच्चालाई बचाउन सकेनन् ।

यो घटनालाई उनीहरुले भगवानको इच्छा माने र त्यसपछि सन्तानको बारेमा सोचेनन् ।

संसारमा सन्तान सुख नपाएकै कारण सम्बन्ध बिग्रिएका कैयौं जोडीहरु छन् तर दिलिप कुमार र सायरा

बानो जीवनभर एक अर्काप्रति समर्पित रहे । सन्तान गुमाएपछि दिलिप कुमार र सायरा बानो दुखी भए तर यसले उनीहरुको प्रेमलाई तोड्न सकेन ।

हिन्दूस्तान टाइम्सको लागि दिएको एक अन्तरवार्तामा सायरा बानोसँग परिवारमा सन्तान नभएकोमा दुःख लाग्छ कि लाग्दैन भनेर सोधिएको थियो ।

जवाफमा सायराले भनेकी थिइन् ‘हाम्रो बिहेले मेरोजीवनमा मेरो लागि सबैभन्दा धेरै महत्व राख्छ ।

मलाई बच्चाको कमी महसुस हुँदैन किनकि दिलिप साहब आफैं मनले बच्चाजस्तै हुनुहुन्छ ।’

यो जोडीको जीवनमा आफैंले जन्माएका सन्तान छैनन् तर उनीहरुले आफ्नो प्रेम परिवारका अन्य बच्चाहरुमा बाँडे ।

बाम्बे टाइम्सलाई दिएको एक अन्तरवार्तामा दिलिप कुमारले भनेका थिए ‘मलाई बच्चाहरु निकै मन पर्छन् तर यसबारे सोच्ने समय कहाँ छ ?

मेरो र सायराको परिवारमा करिब ३० जना बच्चाहरु छन् । उनीहरुले चकचक गरेर मलाई पूरै समय व्यस्त राख्छन् । उनहिरु यति ऊर्जाले भरिएका छन् कि उनीहरुलाई सम्हाल्दा म थाक्छु ।’