नेपालकै सबैभन्दा अग्लो मन्दिर ङातापोल (पाँचतले) ३२० वर्षमा

0
52

भक्तपुर । नेपालकै सबैभन्दा अग्लो मन्दिर ङातापोल (पाँचतले) मन्दिर आजको तिथिदेखि ३१९ वर्ष पुरा भएर ३२० वर्षमा प्रवेश गरेको छ । असार शुक्ल प्रतिपदामा निर्माण सम्पन्न भएको नेपालको सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढी क्षेत्रस्थित ङातापोल (पाँचतले) मन्दिर निर्माण भएको आइतबार ३१९ वर्ष पूरा भई ३२० वर्षमा प्रवेश गरेको हो ।
तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले बनाउन लगाएको ङातापोल मन्दिर नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदामा निर्माण पूरा भएको अभिलेख छ । उक्त अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्ष बन्धन पूजा गरेकोसमेत उल्लेख भएअनुरुप उक्त दिन वषैंनी मन्दिरमा झण्डा राख्ने तथा पूजाआजा गर्ने चलन रही आएको छ ।
सोही इतिहासलाई आधार मानेर प्रत्येक वर्षको असार शुक्ल प्रतिपदाको दिन छाग (बोका) तथा हाँसको बलि दिएर वर्षबन्धन पूजा गरिँदै आएको छ । तर गत वर्षझैं यस वर्ष पनि कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण आइतबार बलिविनै मन्दिरको वर्षबन्धन पूरा सम्पन्न गरिएको छ ।
मन्दिरको सरसफाइ र मर्मतसम्भार गर्ने उद्देश्यले राजा भूपतीन्द्र मल्लले वर्सेनि वर्षबन्धन पूजाको परम्परा बसाएको भक्तपुर तलेजुका मूल नाइके जोशी बताउँछन् । वर्ष वन्धन पूजा गरिएको प्रतीकस्वरुप मन्दिरको गजुरमा झण्डोत्तोलन गर्ने प्रचलन रहेको छ । सोहीअनुसार आइतबार पनि मन्दिरको गजुरमा झण्डोत्तोलन गरिएको छ ।
भक्तपुर तलेजुका राजोपाध्याय, जोशी, कर्माचार्य र ताल्चाभँडेल पुजारीहरुले तान्त्रिक विधिअनुसार ङातापोल मन्दिरभित्र रहेकी सिद्धिलक्ष्मी देवीको पूजासँगै मन्दिरको वर्ष बन्धन पूजा गरिन्छ।
विधि विधानसहित सिद्धिलक्ष्मीको पूजा गरिएसँगै भक्तपुर नपा ६ तुछिमला निवासी अवालहरुले मन्दिरको गजुरमा झण्डोत्तोलन गर्ने गर्छन् । स्थानीय तुछिमला टोलसुधार समितिका पदाधिकारीहरुले सवा दुई मिटर सेतो कपडामा रातो कपडाको अर्धचन्द्र अंकित ध्वजा मन्दिरको गजुरमा फहराउँदै आएका छन् ।
पाँच तलामध्ये दुई तलासम्म मन्दिरभित्रबाटै माथि जाने व्यवस्था छ । तर मन्दिरको गजुरमा पुग्न तेस्रो, चौथो र पाँचौं तलाको छाना भएर जानुपर्छ। यी तीन तलामा मन्दिरको पछाडिपट्टिको छानामा ढक्कनसहितको प्वालको व्यवस्था गरिएको छ ।
मन्दिर भक्तपुर तलेजुअन्र्तगत सञ्चालन तथा व्यवस्थापन हुँदै आएको छ । मन्दिरमा हुने पूजा तथा पुजारीको पारिश्रमिक भने गुठी संस्थानबाट व्यवस्थापन भइरहेको छ । मन्दिरका पुजारी यज्ञमान कर्माचार्यले उक्त मन्दिरमा वर्षबन्धन पूजा र दसैंको महानवमीमा बाहेक अरु बेला बलि दिएर पूजा नहुने जानकारी दिए ।