इटालीका गोलरक्षक डोनारुमा बने युरो-२०२० उत्कृष्ट खेलाडी

0
20

लन्डन — इटालीका गोलरक्षक जियानलुगी डोनारुमा युरो-२०२० को उत्कृष्ट खेलाडी चुनिएका छन् । उनी फ्रि ट्रान्सफरमा एसी मिलानबाट पेरिस सेन्ट जर्मेन जाँदैछन् ।

इटालीले फाइनलमा इंग्यान्डमाथि प्राप्त टाइब्रेकर जितमा उनले दुई प्रहार जोगाएका थिए । सन् १९६८ पछि इटालीले युरो जितेको यो पहिलो अवसर हो ।

२२ वर्षीय डोनारुमाले इटालीका लागि ३३ खेल खेलिसकेका छन् । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई हराउँदा डोनारुमा नायक बने । उनले इंग्ल्यान्डका बुकाया साका र जेडन सान्चोको प्रहार रोक्दै इटालीलाई ५३ वर्षपछि युरोकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा उनले तीन खेलमा कुनै गोल खाएनन् र समग्रमा चार गोलको अवसर मात्र दिए । उनले कुल ७ सय १९ मिनेट मैदानमा बिताए र यो कोही पनि खेलाडीका लागि सर्वाधिक समय हो । सन् २०१८ को विश्वकपपछि उनले जियानलुगी बुफोनको स्थानमा इटालीको पोस्ट सम्हालेका हुन् ।

बार्सिलोनाका स्पेनी खेलाडी पेड्री प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी बने । भर्खर १८ वर्षका यी खेलाडी स्पेनले प्रतियोगितामा खेलेका सबै खेलमा एकै मिनेट मात्र गुमाए । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पाँच गोलसहित प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बने । चेक गणतन्त्रका प्याट्रिक सिकले पनि उत्तिकै गोल गरेपछि रोनाल्डोले पोर्चुगलको एक गोलमा पनि भूमिका खेलेको हुनाले अगाडि रहे ।