मालबाहक ट्रकबाट २ क्विन्टल ४७ के.जी गाँजा बरामद

0
26

वीरगन्ज । पर्सा प्रहरीले मालवाहक खाली कन्टेनरबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले खाली मालवाहक कन्टेनर सहितको ट्रकमा लुकाएर वीरगन्ज भन्सारको नाका हुँदै भारत लैजाँदै गरेको अवस्थामा २ क्विन्टल ४७ केजी लागु औषध गाँजा बरामद गरेको हो ।

हेटौँडाबाट मालसामान अनलोड गरेर भारत फर्कँदै गरेको एचआर ५५ एम २२०९ भारतीय नम्बरको (लहरी) कन्टेनर बोक्ने ट्रकमा लोड रहेको खाली कन्टेनरमा २३ वटा पोकामा रहेको २ सय ४७ केजी गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो करिब २ बजेको समयमा वीरगन्ज सिर्सिया स्थित ड्राइपोर्ट चोकमा उक्त गाडीलाई रोकेर चेकजाँच गर्दा खाली कन्टेनर भित्र फल्सबटम बनाएर लुकाइएको अवस्थामा उक्त गाँजा बरामद भएको थियो ।

कन्टेनर चेकजाँच गरिरहेकै बेला लहरीका चालक फरार भएकाले चालक पक्राउ पर्न नसकेको प्रहरी नायब उपरीक्षक खनालको भनाई छ । बरामद गरिएको लागु औषध गाँजा सहितको ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए ।