पार्टीको जुन सुकै जिम्मेवारी वहन गर्न म तयार छु किरण न्यौपाने

0
751

भक्तपुरलाई कार्यक्षेत्र बनाएर नेपाली काँग्रेसलाई भक्तपुरको पहिलो पाटी बनाउने अभियानमा जुट्नु भएका एक सक्रिय नेता मध्येमा पर्नु हुन्छ किरण न्यौपाने । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ साविक झौखेल गाविस वडा नम्वर ४ मा २०३१ सालमा जन्मनु भएका नेता न्यौपाने २०४७ साल देखि नेविसंघको यात्रा तय गर्दै हाल पार्टी जिल्ला सह सचिव हुनुहुन्छ । वडा नेबिसंघको वडा सदस्य बाट राजनीतिक यात्रा तय गर्नु भएको न्यौपाने ,गाँउ समिति,क्षेत्रिय समिति र जिल्ला नेविसंघको अध्यक्ष र नेविसंघ केन्द्रिय सदस्य र पार्टीको गाँउ वडा समिति,गाँउ समिति सचिव, भक्तपुर क्षेत्र नम्वर एकको कार्यवहाक सभापति हुँदै ,सचिव तथा उपसभापति हुँदै हाल जिल्ला सहसचिव रहनु भएको छ । पेशाले अधिवक्ता रहनु भएका उहाँ जिल्ला बारको निर्वतमान सचिव समेत हुनुहुन्छ ।
पार्टीमा निकै नै सक्रिय रहँदै आउनुभएका उहाँ सँग नेपाली काँग्रेसका आसन्न १४ औं महाधिवेशनको सेरोफेरोमा रहेर संवाहक डटकमकालागि सन्जिब दुलालसँग गरिएको कुराकानी यस्तो रहेको छ ।

आराम हुनुहुन्छ ?
आराम छु ।

अहिले के मा बेस्त हुनुहुन्छ ?
नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै गएको छ उक्त महाधिवेशनमा नै हाल धेरै समय ब्यक्तित हुँदै छ ।

१४ औं महाधिबेशनको भक्तपुरमा तयारी कस्तो छ ?
.. नेपाली कांग्रेसको आगामि १४ महाधिबेशनका क्रममा भक्तपुरमा हामी पुर्णा रूपमा तयारीमा छौं । केन्द्रिय समितिले तोकेको मापदण्ड तथा केन्द्रिय बिधान, नियमावली बमोजिम तोकिएको समयावधि अर्थात गत बैशाख १५ गते राती १२बजे सम्ममा भक्तपुर जिल्लाका ३८वटै वडा समिति,४ वटै नगर समिति,४ वटै प्रदेश समिति ,२ वटै क्षेत्रिय समितिबाट बिधिसम्मत रुपमा सिफारिस भएका नया तथा पुरानो गरि १०२९० जना क्रियाशिल सदस्यहरुको नामावली केन्द्रले तोकेको सफ्टवेयरमा इन्ट्री गरि केन्द्रिय कार्यालयमा जानकारीका साथ पठाएका थियौ । साथै केन्द्रिय कार्यालयबाट समेत नामावलीमा भएका त्रुटी सच्याउन दिएको समायावधिमा सम्वन्धित वडा समितिको समन्वयमा केही त्रुटी सच्चाएर पठाउने कार्य सम्पन्न भएको छ । बिगतमा जस्तो तथा अन्य जिल्लामा देखिए जस्तो क्रियाशिल सदस्यता सम्बन्धमा भक्तपुरमा कुनै बिबाद देखिएको छैन । यो नेपाली काँग्रेस भक्तपुरको गौरवको बिषय हो ।

त्यसो भए तोकिएको समयमा अधिबेशन गर्न सकिन्छ त ?
… निश्चित रुपमा हामी तयार छौं । केन्द्रिय कार्यालयले जिल्लामा पठाउने केन्द्रिय निर्वाचन प्रतिनिधिसग समन्वय गरेर तोकिएका समयमा अर्थात आगमि श्रावण १२ गते हामी भक्तपुरका ३८ वटै वडामा अधिबेशन गर्न तयार छौं । अधिबेशनलाई ब्यबस्थित,मर्यादित बनाउन सवै तहका सवै सदस्यहरुलाई आग्रह गर्दै भक्तपुरको अधिबेशन भब्य,सब्य र एतिहासिक बनाउन हामी जिल्ला कार्यसमितिका सभापति लगायत पदाधिकारी तथा सदस्य साथीहरु र सवै तहका जिम्मेवार पदाधिकारी सदस्यहरु तयार छौं ।

जहिले पनि क्रियाशिल सदस्यका बिषयमा बिबाद हुने गरेको थियो,यो कसरी समाधान गर्नु भयो ?
.. मैले माथि भनिहाले,क्रियाशिल सदस्यताका सम्बन्धमा यो पटक कसरी निर्विबाद बनाउन सकिन्छ भनेर जिल्ला कार्यसमितिका सभापति श्री दुर्लभ थापा लगायत हामी पदाधिकारी एवं सदस्यहरु तथा जिम्मवेवार नेताहरु चिन्तित थियौ । शुरु देखि नै बिबाद नआओस, नेपाली कांग्रेसका साथीहरुले क्रियाशिल सदस्यताका सम्बन्धमा गुनासो गर्ने अवस्था नहोस भनेर जिल्ला कार्यसमितिको बैठकले ३८ वटै वडामा प्रतिनिधि पठाएर वडामा नै बैठक भेला गर्न लगाई वडा तथा तत् समितिको बैठकबस्न लगाएर क्रियाशिल सदस्यताका सम्बन्धमा सिफारिस भएको अवस्था छ । यसपटक क्रियाशिल सदस्यताका बिषयमा जिल्ला कार्य समितिमा कुनै निवेदन या उजुरी नै पर्न नआएबाट क्रियाशिल सदस्यता बितरणका सम्बन्धमा कोही कसैले बिबाद गर्नु पर्ने अवस्था छैन ।

भक्तपुर जिल्लाबाट पार्टीको केन्द्रिय तहमा प्रतिनिधित्विका सम्बन्धमा तपाईको भनाई के छ ? किन भक्तपुर यस कुरामा पछि परेको छ ?
…अत्यन्तै राम्रो प्रश्न गर्नु भयो । उपत्यकाको जिल्ला, राजनैतिक,सामाजिक,तथा सवै खाले परिवर्तनमा महत्वपुर्ण भूमिका निभाएको भक्तपुर जिल्ला केन्द्रिय राजनैतिक प्रतिनिधित्वमा भने पछि परेको छ नै । भक्तपुरको इतिहासमा आदरणीय नेता जगन्नाथ आचार्य केन्द्रिय सदस्य तथा मन्त्रि समेत हुनु भएको छ । नेपाली काँग्रेस भक्तपुरका संस्थापक सभापति ऐश्वर्यलाल प्रधानाङ्ग राज्य मन्त्रि हुनु भएको छ । सो बाहेक पार्टीको केन्द्रिय नेतृत्वमा भक्तपुर पछि परेको छ । भातृ एवं शुभेच्छुक संस्थाहरुमा भने पछिल्लो समयमा भत्तपुरको प्रतिनिधित्व थोरै मात्रामा हुन थालेको छ । २०४२ सालमा नेपाल बिद्यार्थी संघको नेतृत्वमा भक्तपुरका पुर्व सभापति सहिद राधेश्याम जोन्छे महामन्त्रि हुनु भएको थियो भने बिक्रम बहादुर कायस्थ २०४२।४३ सालमा केन्द्रिय सदस्य हुनु भए पछि लामो अवधि पश्चात २०५७ सालमा पार्टी सभापति श्री दुर्लभ थापा नेबिसंघको केन्द्रिय सदस्य हुनु भएको,२०६२ सालमा म किरण न्यौपाने केन्द्रिय सदस्य भए भने त्यस पश्चात बिष्णुराज कार्की,अनिल भुजु,जीवन खत्री हुनु भएको छ । नेपाल तरुण दलमा केन्द्रिय अध्यक्षको रुपमा बिनोदप्रकाश कायस्थ हुनु भएको छ केन्द्रिय सदस्यमा उद्दव सिलवाल जी हुनु भएको थियो । अन्य भातृ तथा शुभेच्छुक संस्थामा पनि प्रतिनिधित्व थोरै भएनि भएको छ । भक्तपुर जिल्ला सदैव राजनैतिक केन्द्रबिन्दु रहदा रहदै पनि पार्टीको केन्द्रिय समितिमा भने प्रतिनिधित्व हुन छुटेको छ नै । आशा छ यो महाधिबेशनमा भक्तपुरका आदरणीय नेताहरुले त्यो अवसर पाउनु हुन्छहोला । तर यस्को लागि हामीले भक्तपुरको अधिबेशन सवै जना एक भएर भब्य र सब्य अनि ब्यवस्थित रुपमा सम्पन्न गरेर एतिहासिक बनाउन सक्नु पर्छ । अनि मात्रै हामीले केन्द्रिय नेतृत्वसग हाम्रो प्रतिनिधित्वका बारेमा माग गर्न सक्छौ । हाम्रो मागलाई नेतृत्वले नकार्न सक्दैन नै ।
पार्टीलाई सैद्धान्तिक रुपमा अगाडि बढाउने भन्नु भयो ,

भक्तपुरमा नेमकिपा र एमालेले जितेको अवस्था छ ,कसरी काँग्रेसलाई बिजयी बनाउनु हुन्छ र ?
…. हेर्दा तपाई भन्नु भएको कुरा देखिन्छ । तर वास्तविकता त्यस्तो होईन । हामी नेपाली काँग्रेसका कार्यकर्ता सदैव आवधिक निर्वाचन,लोकतान्त्रिक बिधि,पद्दतिमा मा बिश्वास मात्रै राख्दैनौ परिणाम जस्तो सुकै आएपनि सहर्ष स्वीकाछौं पनि । २०३६ सालको जनमत संग्रहको परिणाम होस या २०६४ को संबिधान सभाको निर्वाचनको परिणाम होस हामीले सहर्ष स्वीकार्यौ । गत निर्वाचनमा १ नं क्षेत्रमा भक्तपुरको स्थानिय पार्टी नेमकिपाले जितेको छ भने २ नं मा अन्य राजनैतिक दल र कार्यकताको अस्तित्व लाई अस्वीकार गर्दै आफूलाई देवत्वकरण नै गदै हिडेको नेकपा एमालेले जितेको छ । तर हिजोको अवस्था अव रहेन । एमालेको राष्ट्रवाद,संबिधान प्रतिको निष्ठा,कानूनी राज्यको मान्यता के रहेछ,२ तिहाईको हाराहारीमा पुगेको दल आफ्नाे आन्तरिक द्धन्द्धले कस्तो अवस्थामा पुग्यो त्यो देखियो । २ तिहाईको घमण्डले राज्यका संवैधानिक निकाय, पदाधिकारीहरुलाई कसरी सत्ताको तावेदारी गर्न लगाईदो रहेछ, कम्यूनिष्ट नेतृत्वले सत्ता प्राप्त गर्दा राज्यलाई कसरी कब्जा गरिदो रहेछ भन्ने कुरा केहि दिनका घटनाबाट थाहा भयो नि । भरिएको बेलुनको हावा खुस्केको जस्तो भएको हामीले देखि सक्यौ । प्रदेशको गत उपनिर्वाचनमा हामीले जितेका छौ ।  अव राजनितिको आडमा अराजकता, गुण्डागर्दी, अपहरण, आपारधिक संरक्षणले प्रश्रय पाउनु हुन्न भन्ने हाम्रो मान्यता हो । नेमकिपालाई मनोहरा भन्दा उता पनि नेपाल छ भन्ने कुरा नै थाहा छैन,उहाँहरुबाट राष्ट्रिय मुद्दामा के नै हुन सक्छ र ? तर्सथ उम्मेदवारी चयन देखि निर्वाचन सम्म हामी वीचमा कुनै मनोमालिन्य,बैमनश्यता नराखि निर्वाचनमा सहभागि हुदा पराजय भन्ने हामीले भोग्नु पदैन ।

तपाईं हाल नेपाली काँग्रेस भक्तपुरको जिल्ला सहसचिव हुनुहुन्छ ,अव के मा दावा हो ?
… म जहिले पनि पार्टीलाई ब्यवस्थित,संगठित प्रशिक्षित रुपमा संचालन गर्नु पर्छ भन्ने मान्यता राख्दै आएको छु । हिजो नेबिसंघको बिभिन्न तहमा रहदा होस या जिल्ला नेतृत्वमा रहदा, पार्टीको गाँउ क्षेत्रका बिभिन्न पदमा रहदा तथा जिल्लाको हाल सहसचिव हुदा पनि सकेसम्म पार्टीलाई ब्यबस्थित र एकत्रित बनाई हामी प्रति आशा र बिश्वास गर्ने हजारौ क्रियाशिल शुभचिन्तकहरुको भरोषा वन्नु पर्छ भन्ने मान्यता राख्दै आएको छु । अहिले नै म यो पदमा उठ्छु भनि भनेर दावा गर्नु हतार हुन्छ होला । स्वभावि कै रुपमा हाल म जिल्ला सहसचिव भएकोले सो भन्दा माथिल्लो पदमा दावा हुन्छ नै तर पार्टीका आदरणीय सभापति दुर्लभ थापा ज्यू तथा पुर्व सभापति ज्यूहरु,अग्रज नेताहरु, पार्टीकै जिम्मेवार तहमा रही सक्नु भएका आदरणीय नेताहरू तथा मलाई माया गर्ने अन्य साथीहरुको सल्लाह र सहमतीमा मेरो उम्मेदवारी रहन्छ । मेरो कारणबाट अधिबेशनको सफलतामा कतै असर पुग्छ भन्ने नेतृत्वलाई लाग्छ भने म जुन सुकै जिम्मेवारीबाट अलग बस्न पनि तयार छु । अधिबेशन भब्य सब्य अनि सवै तहका साथिहरू को अपनत्व हुने सुनिश्चतताको लागि हरदम लाग्ने छु ।

तपाईंर्को भनाइ केही बाकी छ कि ?
अवको काँग्रेस २१ औं सताब्दीका लाखाैं युवाहरुको ढुकढुकी बन्न सक्नु पर्छ,लोकतान्त्रिक समाजवाद हामीहरुको लक्ष्य हुँदा हुँदै पनि हाम्रा क्रियाकलाप त्यता पट्टि लक्षित नहुदा अलमल भएको छ । लाखांै युवाहरु स्वदेशमा अवसर नहुदा बिदेशमा पसिना बगाएका छन,लाखौ युवाहरु बेरोजगारीका कारण भौतारिरहेका छन,कोभिडका कारण मुलुक आंक्रान्त छ,भ्रष्टाचारले जरा गाडेको छ,पछिल्लो प्रतिनिधि सभाको निर्वाचनबाट कम्युनिष्ट पार्टीको नेतृत्वलाई करिव २ तिहाईको मत दिदा उनीहरुको दम्भ र घमण्डले राज्य सत्ता कब्जा गर्दै भष्मासुरले वरदान पाएको भान भए जस्तो देखिएकाले अव हामी हाम्रा मुद्दामा केन्द्रित हुदै बिगतका हाम्रा कमी कमजोरी अव हुन दिदैनौ भन्ने आभाष आम मतदाता, शुभचिन्तकलाई दिन सक्नु पर्छ । शिक्षा,स्वास्थ्य,समाजमा सदियौं बर्ष देखि जकडिएको कुरिती कुसंस्कार,बिकासको मामिलामा बिभेद आदि बिषयमा हाम्रा सवै तहका नेतृत्व लोकतान्त्रिक समाजवादी अवधारणाका साथ अविचलित हिड्न सक्यौ भने हाम्रो सुनौलो भविष्य छदै छ । नेबिसंघ र काँग्रेसको वडा देखिका सवै निकायमा बिगतमा बिभिन्न तहमा रहेर गरेको कामको मुल्यांकन गर्दै सवै तहका अधिबेशन प्रतिनिधि साथीहरुले मलाई माया गर्नु हुने नै छ भन्ने म त पुर्ण बिश्वस्त छु । मलाई मेरा बिचार राख्ने अवसर दिनु भएकोमा तपाई मार्फत संवाहक डट कम लाई धन्यबाद जयनेपाल ।

चुस्त,दुरुस्त अनि प्रशिक्षित सांगठनिक संरचना सहितको सक्षम,सवल नेतृत्व निर्माणमा लागौं,१४ औं महाधिबेशन सफल बनाउँ ।

किरण न्यौपानको छोटो परिचय

किरण न्यौपाने जन्मः २०३१।०५।१६
ठेगाना झौखेल वडा नं. हाल चा.न.पा. ३
२०४७।०५।२ मा नेपाल बिद्यार्थी संघको साधारण सदस्यता लिएर झौखेल गाउ वडा समिति सह सचिव,गाउ समिति सचिव, गाउ समिति अध्यक्ष ,भक्तपुर क्षेत्र न.१कार्य समिति सचिव,जिल्ला कार्यसमिति सहसचिव, उपाध्यक्ष,अध्यक्ष हुदै २०६२।९।३ मा केन्द्रिय सदस्य हुनु भएको ,मिति २०५२।०६।३१ मा नेपाली काँग्रेसको साधारण सदस्यता लिइ मिति २०५३।०५।२४ मा झौखेल गाउसमिति का.वा.अध्यक्ष,सह सचिव,झौखेल गाउ समिति ,सचिव,सदस्य १ नं क्षेत्रिय समिति ,भक्तपुर,सचिव १ नं क्षेत्रिय समिति,१२औ अधिबेशनबाट १ नं क्षेत्रिय समिति,भक्तपुरको सदस्य निर्वाचित पछि उपसभापति मनोनित । २०७०को संबिधान सभा निर्वाचनको क्रममा का. वा.क्षेत्रिय सभापति ।१३औ अधिबेशनबाट जिल्ला समिति,भक्तपुरको सदस्य निर्वाचित र मिति २०७५। ५।५ गते सहसचिमा मनोनित भै हाल कार्यरत ।(राजाको प्रतिगमन बिरुद्दको आन्दोलनको क्रममा मिति २०६२।१०।६ गते पक्राउ परि नजरबन्दमा रही मिति २०६२।११।४ गते स.अ को आदेशानुसार रिहाई ।