आज अरुण थापा स्मृति दिवस, भक्तपुरमा उहाँको सम्झनामा सांगीतीक कार्यक्रम हुँदै

0
0

भक्तपुर । सदावहार गायक अरुण थापाको आज २२ औं स्मृति दिवस हो ।
‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ‘।।’ हो, यो गीत जस्तै गायक अरुण थापा पनि हरियाली बसन्त नै हुन् । उनको भौतिक शरिर हामी माझ नभए पनि गीत संगीतको माध्यमबाट उनी बाचिरहेका छन् । हामी धेरैलाई यो कुरा थाहाँ नहुन सक्छ, उनले गाएको ऋतुहरूमा तिमी‘ बोलको गीत एकचोटी विश्वका उत्कृष्ट गीतहरूको नोमिनेसनमा समेत परेको थियो ।

उनले जीवनमा बसन्त मात्र गाएका छैनन् ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो’ उनकै वास्तविक कहानी बनेर हामी माझ हरेक साउन ५ मा बिझाइरहन्छ र हामी सम्झिरहन्छौँ जादूमय स्वरका धनी अरुणलाई ।अरुण थापाको जन्म विक्रम सम्बत २००८ सालमा भारतको कलकत्तामा भएको थियो भने उनको मृत्यु २०५६ साउन ५ गते भएको थियो । अरुण थापा ३ वर्षको हुँदा उनको परिवार नेपाल बसाईं सरेर बस्न थालेको हो । उनी नेपालमै हुर्किए । स्वर सम्राट नारायण गोपाल र गोपाल योन्जन उनका पारिवारिक मित्र थिए । प्रेम र विवाह दुबैमा असफल गायक थापाका अनेकौं किस्सा सुन्नमा पाइन्छ । उनको व्यक्तिगत जीवन छोटो भएपनि सांगीतिक जीवन भने अमर अजर रहेको छ ।

उनको गीत ‘चोट के हो, ब्यथा के हो’ ले व्यथालाई नै बिर्साइदिन्छ र दुखः भित्र सुख खोज्न थाल्छ मान्छे अनि उनले जति ‘भुलु भुलु लाग्यो मलाई’ भने पनि उनको याद झन् झन् ताजा बनेर आइदिन्छ ।

जति माया लाए पनि,साझको जुन सँग, बितेका मेरा तिता मिठा, दोष कसैलाई दिन चाहन्न, अरु सँग नजोख मलाई, जिन्दगी के छ र आखिर, तिमी हेर्छौ भने, न पोखिने न जोखिने, आँखाको निद खोशी लाने, यो मनको के भर हुन्छ, भुलेका कथा, जिन्दगीका का यात्राहरु, नपोखिने नजोखिने, यो मन को के भर हुन्छ जस्ता सदावहार गीत पस्केर गायक अरुण थापा नेपाली सांगीतिक दुनियामा सधै अमर अजर बनेका छन् ।

नेपाली गीतसंगीतको संरक्षण र सम्वर्द्धनमा समर्पित भक्तपुर सांगीतिक समाजले सदावहार गायक अरुण थापाको सम्झनामा आज सांगीतिक कार्यक्रम गर्दै छ । भक्तपुरको दुधपाटीमा स्थित दि टिसा ईनमा गायक थापाको २२औं स्मृती दिवसको अवसर पारेर भक्तपुर सांगीतिक समाजले स्व.अरुण थापा स्मृति दिवस(सांगीतिक श्रद्धाञ्जली कार्यक्रमलाई निरन्तरता दिदै उक्त कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष प्रविन शाहीले जानकारी दिनुभयो ।

भक्तपुरमा विगत ३ वर्षदेखि निरन्तररुपमा अरुण थापाको स्मृतीमा श्रद्धाञ्जली कार्यक्रम गर्दै आएको समाजले यो वर्ष पनि यसलाई निरन्तरता दिएको कार्यक्रम संयोजक एवं संस्थाका सचिव अल्वर्ट बज्राचार्यले जानकारी दिनुभयो ।
कार्यक्रम आज दिउसो १ बजे देखि हुने संस्थाले जानकारी दिएको छ ।