माधवकुमार समूहले भक्तपुरबाट गर्यो पिपल्स भोलन्टियर घोषणा

0
60

भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पिपल्स भोलेन्टियर घोषणा गरेको छ । भक्तपुरमा आयोजित भव्य भेलाबाट नेपाल समूहले युवा संघ नेपाल अन्तर्गत एक हजार एक सदस्यीय पिपल्स भोलेन्टियर घोषणा गरेको हो ।
हजारौं युवाहरुको भेला मार्फत ३४ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता नेपालले युवाहरुको एक जुटताका लागि पिपल्स भोलेन्टियर घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा नेता नेपालले युवाहरुलाई देश र जनताको लागि युवाहरुलाई समर्पित हुन आह्वान समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै उनले पार्टी अध्यक्ष आफू नै पार्टी भएको र सर्वपरी ठान्दा पार्टी आजको अवस्थामा पुगेको आरोप लगाएका थिए । नेता नेपालले अहंकारको घोडाबाट खस्दा पनि बादशाहलाई वास्तविकताको ज्ञान नभएको भन्दै अध्यक्ष ओलीलाई व्यंग्य गरे । अहंकारको घोडा चढ्ने मान्छेलाई कसैले मन नपराउने उनको भनाइ थियो । ‘अहंकारको घोडा चढ्ने मान्छेलाई कसैले मन पराउँदैन’, नेता नेपालले भने, ‘जब अहंकारको घोडा चढेको बादशाहलाई घोडाबाट ओर्लनुपर्ने अवस्था आउँछ तबमात्रै उसलाई वास्तविकताको ज्ञान हुन्छ ।’
अहिलो आफ्नो पार्टी अध्यक्षलाई यस्तै अनुभुती भएको उनको भनाई थियो ।
कार्यक्रममा युवा इन्चार्ज एवं एमाले स्थायी समिति सदस्य रघुजी पन्तले अहिले माधवकुमार नेपालको पुतला जलाउने एमालेकै नेता कार्यकर्ताहरु भोलि उनै माधवकुमार नेपाललाई नेता मान्नुपर्ने दिन आउने बताउँदै पार्टीको मर्म वाहिर जानेहरु पुन पार्टीमा आउनुको विकल्प नहुने बताए ।
‘हामी सबैको सल्लाहमा शेरबहादुर देउवालाई समर्थन गरिएको हो’, उनले भने, ‘त्यसैले यसमा माधवकुमार नेपालमात्रै एक्लै दोषी हुनुहुन्न । हामी कार्यदलमा बसेकाहरु उम्किन पाउँदैनौं ।’उनले भने ।

कार्यक्रममा एमालेका वरिष्ठ नेता नेपालले शिव श्रेष्ठको संयोजकत्वमा एकहजार एक सदस्यीय युथ भोलेन्टियर गठन भएको घोषणा गरे । नेता नेपालद्वारा घोषित पिपल्स भोलेन्टियरको सचिवमा मनोज खत्री रहेका छन् । त्यस्तै यसलाई युवा संघ नेपालको तर्फबाट नेतृत्व गर्न सन्दीप राईलाई इन्चार्ज तोकिएको छ ।

केपी ओली समूहको युवा संघले युथ फोर्स ब्युँताएपछि माधवकुमार नेपाल समूहले पनि पिपल्स भोलेन्टियर व्यँताएको हो ।