नेपाल तेक्वान्दो संघ भक्तपुरको तेस्रो अधिवेशनमा सम्पन्न, अध्यक्षमा तजले

0
20

भक्तपुर । नेपाल तेक्वान्दो संघ भक्तपुरको अध्यक्षमा श्याम तजले सर्वसम्मत भएका छन् । संघको आइतबार भएको तेस्रो जिल्ला अधिवेशनमा अध्यक्ष तजले र कोषाध्यक्ष बालकृष्ण साँद सर्वसम्मत निर्वाचित भएका हुन् ।
संघको उपाध्यक्ष, सचिव र ५ जना सदस्यको भने निर्वाचन भएको निवर्तमान अध्यक्ष इन्द्रभक्त चित्रकारले जानकारी दिए ।
जसअनुसार उपाध्यक्षमा वसन्त लामा, सचिवमा रामबहादुर क्षेत्री र सदस्यहरूमा क्रमशः रोशन श्रेष्ठ, अर्विन तामाङ, रूकु खाइजू, श्यामसुन्दर ख्याजू र रवि ध्वजू निर्वाचित भएका छन् ।
उपाध्यक्षमा वसन्तले २८ मत पाउँदा उनका प्रतिद्वन्द्वी राधेश्याम खायमलीले ९ मतमात्रै पाए । त्यस्तै सचिव उम्मेदवार रामबहादुरले २६ मत पाउँदा उनका प्रतिद्वन्द्वी विश्वराम मुस्याख्वले १२ मत ल्याए ।
कुल ४० मत रहेको निर्वाचनमा २ मत खसेन । जसअनुसार आठ जना सदस्य उम्मेदवारमध्ये निर्वाचित रोशन, अर्विन र रूकुले समान ३३–३३ मत पाए । सदस्य उम्मेदवार रविले सर्वाधिक ३४ मत पाउँदा अर्का विजेता सदस्य श्यामसुन्दरले ३१ मत ल्याए ।
पराजित सदस्य उम्मेदवारहरू रीता मुस्याख्वले ६ मत पाइन् । सुशेन गणेश र सरोज लवजूले समान ७ मत पाए ।
नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले प्रमाणपत्र वितरण गरे । तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक नवीनकुमार श्रेष्ठले फूलमाला लगाइदिँदै उनीहरूलाई सपथ खुवाए ।

उक्त अवसरमा बागमती प्रदेश अध्यक्ष पुरीले संघले नवनिर्वाचित पदाधिकारीहरूबाट भक्तपुरमा तेक्वान्दो खेलको विकास र विस्तार तथा स्तरीय खेलाडी उत्पादनद र नियमित प्रतियोगिता गरी दुइटा कुराको अपेक्षा गरेको सुनाए ।
उनले धेरै संघमा निर्वाचन भएपछि जित्नेहरूलाई हार्नेहरूले असहयोग गर्ने तीतो तथ्य सुनाउँदै तेक्वान्दो खेल र खेलाडीको विकास गर्ने जिम्मेवारी पाएकाहरू निर्वाचनमा पराजित भए पनि भाग्ने ठाउँ नभएको स्मरण गराए ।
‘निर्वाचनमा गएपछि जीतहार निश्चित हो’, अध्यक्ष पुरीले भने, ‘निर्वाचनको प्रजातान्त्रिक अभ्यास गरेपछि जितेकोले पेल्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति छोड्नुपर्छ ।’
तेक्वान्दोका मुख्य प्रशिक्षक श्रेष्ठले जिल्लामा राष्ट्रिय प्रशिक्षकहरूले नियमित प्रशिक्षण गरिरहेको छ छैन भनी जिल्ला संघले अनुगमन र निरीक्षण गर्नुपर्नेमा जोड दिए ।
नियमित प्रशिक्षणविना सक्षम खेलाडी तयार नहुने र जिल्लाले तेक्वान्दोमा विकास गर्न नसक्ने उनले स्पष्ट पारे ।
कार्यक्रममा बागमती प्रदेश उपाध्यक्ष द्वारिकानाथ खयरगोली, भक्तपुर जिल्लाका निवर्तमान अध्यक्ष इन्द्रभक्त चित्रकार, कोषाध्यक्ष बालकृष्ण साँदलगायतले तेक्वान्दो खेल र खेलाडीको विकास गर्न स्कुलमा आधारित प्रशिक्षण गर्नुपर्ने धारणा राखेका थिए ।
बागमती प्रदेश उपाध्यक्ष खयरगोलीले उक्त अधिवेशनको उद्घाटन गरेका थिए ।