फ्रेञ्च लिग वानअन्तर्गत मैदानभित्र छिरेर समर्थकले खेलाडीलाई आक्रमण गरेपछि‘

0
15

फ्रेञ्च लिग वानअन्तर्गत आइतबार राति निस र मार्सेबीचको खेलमा समर्थकले अभद्र व्यवहार देखाएका छन्। जसका कारण खेल रद्द भएको छ।

मार्सेका खेलाडी डिमित्री पयटलाई निसका समर्थकले सुरूमा बोतलले हानेका थिए।

समर्थकले हानेको उक्त बोतलले लागेपछि उनी ढलेका थिए। त्यसपछि उठेर उनले बोतल समर्थकतर्फ फ्याँकेका थिए।

निसको मैदानमा भएको खेलमा पयट कर्नर प्रहार गर्ने जाने क्रममा उक्त घटना भएको थियो।

बोतल प्यारापिटतर्फ फ्याँकेपछि  निसका समर्थकहरु पयटलाई कुट्न मैदान भित्र पसेका थिए।

एक्कासी समर्थकहरू मैदानभित्र पसेपछि सुरक्षाकर्मीलाई रोक्न हम्मेहम्मे परेको थियो।

मैदानभित्र भएको घम्साघम्सीका कारण मार्सेका खेलाडी घाइते भएका थिए। मैदानभित्र पसेका एक समर्थकले पयटलाई किक हान्न खोजेको भिडियोमा देखिएको छ।

‘हाम्रा खेलाडीमाथि आक्रमण भएको छ,’ मार्सेका अध्यक्ष पाब्लो लंगोरियाले भनेका छन्।

‘खेलाडीको सुरक्षाका लागि हामीले खेल नखेल्ने निर्णय गरेका हौं। खेलाडीलाई मैदानमा आक्रमण भएपछि सुरक्षाको ग्यारेन्टि थिएन।’

खेलका दौरान मार्सेका खेलाडीमाथि निसका समर्थकले पानीका बोतलले निरन्तर प्रहार गरेका थिए। जसमध्ये एक बोतलले पयटलाई लागेपछि घटनाले उग्ररुप लिएको थियो।

खेलमा निसले १-० को अग्रता लिएको अवस्था थियो। दोस्रो हाफमा समर्थक मैदान छिरेपछि खेल रोकिएको थियो।

पछि खेल सुचारू गर्नका लागि निसका खेलाडी मैदान छिरे पनि मार्सेका खेलाडीले खेल्न अस्वीकार गरेका थिए। जसका कारण खेल रद्द गरिएको थियो।