तालिबानले पञ्चशीरमा आफ्नो झण्डा फहरायो

0
17

काबुल: तालिबानले अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा अवस्थित पञ्जशीर उपत्यकामा आफूले विजय प्राप्त गरेको घोषणा गर्दै सोमबार उक्त क्षेत्रमा आफ्नो झण्डा फहराएको भिडियो सार्वजनिक गरेको छ ।

यद्यपि तालिबान विरोधी समूहले भने आफूहरु ‘सबै रणनीतिक स्थानमा रहेको’ र ‘युद्ध जारी राख्ने’ जनाएको छ । तालिबान विरोधी नेताले भने तालिबान विरुद्ध राष्ट्रव्यापी रुपमा लड्न आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक अडियो रेकर्डिङमा नेसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ)का नेता अहमद मसौदले तालिबानलाई सैन्य गतिविधि र राजनीतिमा विश्वास दिलाउनुमा अन्तर्राष्ट्रिय समुदायहरु दोषी रहेको बताएका छन् ।

‘तपाईँहरु बाहिर या भित्र जो जहाँ भए पनि हाम्रो देशको स्वतन्त्रता र समृद्धिका निम्ति तालिबान विरुद्ध लड्न म देशव्यापी विद्रोह सुरु गर्न स सबैलाई आग्रह गर्छु’ उनले भनेका छन् ।

तालिबानले अगष्ट १५ मा अफगानिस्तानको राजधानी काबुलमाथि आफ्नो कब्जा जमाएको थियो । काबुल कब्जापछि तालिबानले पञ्जशीर उपत्यका कब्जा गर्न खोजिरहेको छ । सोमबार तालिबानले आफूहरुले सो उपत्यका पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको थियो । यसअघि सन् १९८० को दशकमा सोभियत संघको मातहतमा चलेको अफगानिस्तानको पञ्जशीर उपत्यका तालिबान र सोभियत संघले आफ्नो नियन्त्रणमा लिन सकेको थिएन ।