विभिन्न रोगबाट छुटकारा दिने अकबरे खुर्सानी खेती गर्ने तरिका

0
28

खुर्सानीको उत्पत्ति मध्य अमेरीकाबाट भएको भन्ने अनुमान छ । नेपालमा २०–२५ खालका पिरो,भेडेखुर्सानी र अकबरे खुर्सानी पाईन्छन्। त्यस मध्ये पूर्वी नेपालमा अकबरे खुर्सानी पाईन्छन्।भने कही कही नेपालको पश्चिमी क्षेत्रमा पनि यसको खेती गरेको पाइन्छ । नेपाल अधिराज्यभर यसको खेती गर्न सकिन्छ ।

विशेषगरी अकबरे खुर्सानी पूर्वी पहाडमध्ये पनि इलाम र धनकुटामा बढी खेती गरेको पाइन्छ । पूर्वी नेपालमा पाइने ६–७ जातका अकबरे खुर्सानी मध्ये आकार रङ्गमा हेर्दा ठूलो देखिने, सानो डल्लो, सानोगोलो, लाम्चो, ठूलोगोलो, लाम्चो (बास्नादार) तथा चिप्लो डल्लो (पिरो नहुने) र उल्जे पोटिलो रङ्गका आधारमा पनि गाढा रातो, कलेजी रातो तथा

रातो रङ्गहरुमा पाईन्छ । तर ठूलो गोलो लाम्चो (बास्नादार) जातको अकबरे निकै पिरो र प्रख्यात सबैले मनपराउने जात हो । सुदुर पश्चिम क्षेत्रमा डडेल्धुरा जिल्लाको रुपाल क्षेत्रमा अकबरे खुर्सानीको खेती गरेको पाइन्छ । हाल तरकारी जर्मप्लाजम सम्बर्धन तथा तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरामा यसको जातीय अध्ययन सम्बर्धन गरी कृषकहरुमा प्रचार प्रसार गर्ने कार्य भईरहेको छ ।

उपयोग

अकबरे वा राङ्गे खुर्सानी पहिले मङ्गोल जातीका मानिसहरुले मात्र खाने गरेका थिए भने हाल आएर अन्य जातिका मानिसहरुले पनि खाने गरेका छन्। अकबरे खुर्सानी ग्याष्ट्रिक र अल्सरका रोगीहरुले समेत औषधीको रुपमा प्रयोग गरेको पाईन्छ ।

अकबरे खुर्सानी खासगरी मसला अचार बनाउन उपयोग गरेको पाइन्छ ।अकबरे नियमित खाँदा भोक लाग्ने, खाना रुची हुने र थकाइ समेत मेट्ने गरेको पनि उपयोग गर्नेहरुबाट व्यक्त गरेको पाईन्छ ।

पाकेको अकबरे खुर्सानीलाई हल्का हल्का सुकाई सुल तोरीको तेल वा पकाएको खाने नुन वा भिनेगरमा डुबाएर टाइट विर्को लगाई राखेमा दुई वर्षसम्म खान सकिन्छ । साथै विभिन्न अचार उद्योगहरुले समेतअकबरेको पेष्ट बनाई प्रयोग गर्ने क्रम शुरु भएको छ ।

हावापानी

साधरणतया गोडमेल खेती जस्तै हावापानी यसका लागि उपयुक्त हुन्छ । त्यसमा पनि यसको खेती उच्च पहाडदेखि गर्मी हावापानी भएको तराईमा समेत सजिलै खेती गर्न सकिन्छ ।

यसका लागि साधारणतया दिनको तापक्रम २२–२५ डिग्री से. र रातीको तापक्रम १५–२० डि.से. उपयुक्त हुन्छ । तथापी त्यसभन्दा घटी वा बढीमा पनि उतपादन गर्न सकिन्छ । तर सेपिलो तथा पानी जम्ने स्थान र बढी आद्रता भएको ठाउँमा भने उत्पादन गर्न धेरै कठिन हुन्छ ।

माटो

साधरणतया सबै खाले माटो उपयुक्त भएपनि पानी नजम्ने राम्रो निकास भएको मलिलो हल्का दोमट तथा केही चिम्टाईलो माटो समेत उपयुक्त हुन्छ । माटोमा प्रशस्त प्राङ्गारीक मल मिसिनुका साथै माटोको पि.एच.६–७ सम्म हुनुपर्छ । भिरालो तथा नयाँ पाखो माटो अकबरे खेतीका लागि उपयुक्त हुन्छ ।

नर्सरी व्यवस्थापन

वर्षमा २ पटक नर्सरी राख्न सकिन्छ अगैटे( आश्विन, कार्तिक) र पछौटे ( माघ, फाल्गुण)। अकबरे खुर्सानीको ब्याड राख्दा राम्रो र नयाँ बोटबाट राम्रा खाले फलहरु छनौट गर्ने र राम्ररी सुकाई दल निकाली आश्विनदेखि मंसिरसम्ममा प्लाष्टिक टनेल बनाई दल राख्नुपर्छ ।

जमिनको तयारी जमिनको छनौट गर्दा पानी नजम्ने ठाउँको माटोलाई ३–४ पटक खनजोत गरी माटो बुरबुराउँदो बनाउनु पर्दछ । त्यसपछि एकभाग जङ्गलको माटो, एकभाग पाकेको गोबरमल र एकभाग बालुवा चिम्टाईलो माटोमा मिसाई १ मिटर चौडाई र लम्बाई आवश्यकता अनुसार हुनेगरी (वर्षादमा १० ईन्च र हिउँदमा ६ इन्चको उचाई हुने गरी डयाङ्ग बनाउने ।

नर्सरीमा बीउ रोप्नुअघि निम्न अनुसार मल तथा औषधी प्रयोग गर्नु पर्छ । ‘ क रोपनी जमिनको लागि जम्मा ६ वर्गमिटरको नर्सरीको आवश्यक पर्छ । माटो उपचार गर्न फ्युराडन वा डर्सवान २५ ग्राम, डी.ए.पी. २०० ग्राम, पोटास १०० ग्राम, कृषि चुन १०० ग्राम उक्त मलहरु तयारीमाटोमा राम्ररी मिसाई १–२ दिन जति सुकेको परालले छोपी सिंचाई गर्ने ।

बीउको मात्रा

एक रोपनी जग्गाको लागि १० ग्राम बीउ चाहिन्छ । उक्त बीउबाट १५०० जति विरुवा उम्रे पनि १२०० बिरुवा जति मात्र आवश्यक पर्दछ । जाडोको मौसम भए प्लाष्टिक टनेलको व्यवस्था गर्नुपर्छ ।

बीउ छर्ने र बेर्ना उमार्ने तरिका

बीउ छर्ने र बेर्ना उमार्ने तरिकाको तयारी जमिनमा चौडाइ पट्टिबाट ४ ईन्चको फरकमा लाईन कोरी आधा ईन्च गहिरो कुलेसो बगाई १ ईन्च फरकमा १/१ दाग बीउ खसाल्ने ।उक्त बीउ हल्का बालुवा, खरानी वा जङ्गलको माटोले छोपी सुकेको पराल÷झारले छोप्ने माटोको अवस्था हेरी सिँचाई गर्ने ।

तर बढी चिसोपन भएमा बीउहरु कुहीनेहुँदा पानी जम्न दिनु हुँदैन । बिरुवा उम्रिएपछि छापो झिकिदिने र हरेक सात दिनको फरकमा आवश्यकता अनुसार ढुसीनासक किटनासक विषादी छर्ने ।

यसरी बिरुवा अगौटे हो भने ३/४ महिना र पछौटे हो भने १/२ महिनामा बेर्ना तयार हुन्छ । यदि बेर्ना कमजोर पहेंलो भएमा बेर्नामा नै भिटामीन, मल्टिप्लेक्स, भेजिमेक्स आदि लगायत युरिया २ ग्राम प्रति लि. पानीमा स्प्रे गर्ने ।

बिरुवा लगाउने तरिका

राम्ररी खेत तयार गरीसकेपछि बहुवर्षिय रूपमा लाइनदेखि लाइनको दुरी ९० से.मी. र बिरुवादेखि बिरुवाको दुरी ६० से.मी., वर्षेवाली ६०÷६० र वषन्ते ६०÷४५ से.मी. कायम गरी प्रति बोटमा २ के.जी. सम्म कम्पोष्ट मल, ५ ग्राम डि.ए.पी., पोटास, कृषि चुन र कीराको प्रकोप हुने भएमा केही किटनासक विषादी राखी लगाउँदा राम्रो हुन्छ ।

अकबरे खुर्सानी लगाउँदा अरु खुर्सानीभन्दा पृथक दुरीमा लगाउनु पर्छ । नत्र भने परागसेचन भई गुणस्तरमा कमी आउँछ ।

यदि सिधै खेतमा मलखाद राखि खेती गर्ने हो भने प्रति रोपनी डि.ए.पी. १६ के.जी., पोटास १० के.जी., कृषि चुन १० के.जी., गोबरमल ३० डोको, मल्टिप्लेक्ज २ के.जी., युरिया ८ के.जी. र फ्युराडन÷डर्सवान १ के.जी. चाहिन्छ जसमध्ये डि.ए.पी., पोटास र कृषि चुनलाई २ भाग गरी सबै गोठमेल फ्युराडन÷डर्सवान आदि एकमुष्ठ माटोमा राख्ने बाँकी आधा भाग दानमल, पोटास, कृषिचुनसँग ८ के.जी. युरिया २ के.जी., मल्टिप्लेक्सलाई ४ भाग गरीरोपेको १५ दिनको फरकमा ४ पटक प्रयोग गर्ने ।

जर्खरायको बिरुवा वेलुकीपख केहि वइलाएपछि मात्र तयारी खाल्डोमा रोपेमा राम्रो हुन्छ । साथै जराहरु नखल्बलिने गरी राम्ररी थिचेर हिउँदमा वरीपरि सानो खाल्डोको आकार बनाइदिने यदि सुख्खा हुन्छ भने फेदमा सोतर परालको छापो दिनु राम्रो हुन्छ ।

सिँचाई र गोडमेल

आवश्यकता अनुसार माटोको अवस्था हेरी पानी दिनुपर्छ । रोप्ने वित्तिकै सिँचाई दिँदा राम्रो हुन्छ । त्यसपछि १०–१५ दिनको फरकमा आवश्यकता अनुसार पानी दिनुपर्छ । अकबरे खुर्सानीलाई पानीको ज्यादै आवश्यकता पर्छ तर थोरै भए पुग्छ । फेदमा पानी जम्न दिनुहुँदैन किनभने ढुसी रोग लाग्ने हुँदा होसीयारीपूर्वक पानी तर्काउने व्यवस्था मिलाउनु पर्छ ।

निकासको राम्रो व्यवस्था मिलाई वर्षादमा ६–१२ इन्चसम्म ड्याङ्गको उचाई राख्नु पर्छ । बिरुवा सारेको १०–१५ देखि २०–२५ दिनसम्म माटोको अवस्था हेरी खुकुलो पार्ने झारपात हटाउने गोडाई हरेक टिपाई पछि गर्नै पर्छ ।

रैटुनवाली (बहुवर्षिय) लिने हो भने प्रशस्त गोडमेल प्रयोग गर्ने काँटछाँट गर्ने (बोटको तल्लो भागका बाक्ला, पहेंला, नचाहिने मुना हटाइ दिने) र पहिलो वर्षको फल टिपेपछि बोटलाई गोडमेल गर्ने र हिउँदमा तुषारोबाट जोगाउन पराल आदिको छाप्रो दिने यसरी काँटछाट गोडमेल गरी अर्काे सालको फल चाँडै लिन सकिन्छ । यस्तो बाली लिन उच्च र मध्य पहाडमा सम्भव छ ।

 

अकबरे खुर्सानी भने मानिसका लागि अति नै उपयोगी हो । जुन तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधि समेत हुन्छ । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरू पनि छन् । मोटोपन घटाउछ ।

रगतमा चिनीको मात्रा घटाउछ । पिसावको बिरामीलाई लाभदायक हुन्छ । हाडजोर्नी लगायतका दुखाइ घटाउछ । विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । थकाइ पनि मेटाउछ ।