कागेश्वरीमा हजारौंले गरे दर्शन

0
15

कागेश्वरी । कागले छोएमा र शरीरमा कागको विष्टा परेमा अशुभ भयो भनी दोष मुक्तिको उपाय खोजी गर्ने प्रचलन प्राचीनकालदेखि हाम्रो समाजमा रहेको पाइन्छ । यो दोषबाट मुक्तिको पहिलो उपायका रुपमा राजधानीको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी महादेवको दर्शन हो भन्ने मान्यता छ ।
वर्षभर कागले छोएका मानिस भाद्र शुक्ल अष्टमीका दिन पूजा आराधना एवं दर्शनका लागि यहाँ आउने गर्छन् । गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा रहेको काग गङ्गेश्वर घाटमा स्नान गरी त्यहाँको जल लिएर कागेश्वरी धाम जाने गरिन्छ । यसै मान्यताका आधारमा बिहानैदेखि हजारौँ भक्तजनको कागेश्वरी मनोहरा नगरपालिका १ स्थित कागेश्वरी धाममा भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमी अर्थात् कागेअष्टमीसमेत भनिने आजकै दिन काठमाडौँ जिल्लाको उत्तरपूर्वी कुनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल कागेश्वरी मन्दिरमा मेला लाग्ने गर्दछ ।
यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजाआराधना गरेमा कागको स्पर्शबाट हुने दोषबाटमुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् ।