दशैंमा भक्तपुर अस्पताल, फिभर क्लिनिक पनि सञ्चालन हुन्छ

0
19

भक्तपुर । सबैतिर दशैंको चहलपहल बढेको छ । दशैंका बेला सरकारले फूलपातीदेखि दशमीको भोलिपल्टसम्म सार्वजनिक विदा दिन्छ । दशैंका बेला प्रायः सबै अस्पतालहरुले फूलपातीदेखि एकादशीसम्म ओपीडी सेवा बन्द गरेका छन् । जसले गर्दा आकस्मिक कक्षमा बिरामीको चाप बढ्न सक्छ ।

ओपीडी सेवा बन्द भएपनि अस्पतालले आकस्मिक कक्षमा आउने बिरामी र वार्डमा उपचाररत बिरामीलाई नियमित सेवा प्रवाह गर्छन् ।
भक्तपुर अस्पतालले कोरोना महामारी कायमै रहेका कारण दशैंको समयमा पनि फिभर क्लिनिक सञ्चालन गर्ने भएको छ । अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले पीसीआर परीक्षण कार्यलाई पनि निरन्तरता दिने बताइन् । अस्पतालको आकस्मिक सेवा र वार्डमा रहेका बिरामी उपचारका लागि पनि चिकित्सकहरु नियमित खट्ने उनले बताइन् ।

‘आकस्मिक सेवा २४ सै घण्टा सञ्चालन हुन्छ नै । फिभर क्लिनिक र पीसीआर परीक्षण समेत नियमित सञ्चालन हुन्छ,’ डा गौतमले भनिन् । कसन्लटेन्ट चिकित्सकहरुलाई आवश्यक परेको अवस्थामा कल गरेर बोलाउन मिल्ने गरी विदा दिने व्यवस्था मिलाइएको उनले बताइन् । अस्पतालको उपचार प्रणालीमा प्रभाव नपर्ने गरी दुई टोली बनाएर दशैं र तिहारमा विदा दिने व्यवस्था मिलाउने डा. गौतमको भनाइ छ ।